+
फिफा विश्वकप २०२६ :

पहिलो जितको खोजीमा चेक रिपब्लिक र दक्षिण अफ्रिका

२०८३ असार  ४ गते १७:०२ २०८३ असार ४ गते १७:०२

बिहीबार राति एट्लान्टास्थित मर्सिडिज बेन्ज रंगशालामा नेपाली समयअनुसार ९:४५ बजे यी दुईले एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समूह ‘ए’ को पहिलो खेलमा पराजित भएका चेक रिपब्लिक र दक्षिण अफ्रिका नेपाली समयअनुसार बिहीबार राति ९:४५ बजे प्रतिस्पर्धा गर्दै छन् ।
  • दक्षिण कोरियासँग २–१ ले पराजित भएको चेक रिपब्लिक दक्षिण अफ्रिकालाई हराएर नकआउट चरणमा पुग्ने लक्ष्यमा छ ।
  • पहिलो खेलमा दुई रातो कार्ड बेहोरेको दक्षिण अफ्रिका चेक रिपब्लिकविरुद्ध पाँच खेलको जितविहीन यात्रा अन्त्य गर्न चाहन्छ ।

४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ए मा रहेको चेक रिपलब्लिक र दक्षिण अफ्रिका आफ्नो पहिलो खेलमा पराजित भएको थियो ।

बिहीबार राति एट्लान्टास्थित मर्सिडिज बेन्ज रंगशालामा मैदान उत्रँदा दुवै टोलीको लक्ष्य हुने पहिलो जित निकाल्ने र नकआउट राउण्डको सम्भावना बलियो बनाउने । यो खेल  नेपाली समयअनुसार बुधबार राती ९:४५ बजे सुरु हुनेछ ।

दक्षिण अफ्रिका विश्वकपको उद्घाटन खेलमै सह आयोजक मेक्सिकोसँग २–० ले पराजित भएको थियो । त्यसको सात घण्टापछि दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध २–१ को पुनरागमन जित हासिल गर्‍यो । युइएफए छनोटको प्लेअफमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउँदै चेक रिपब्लिकले २० वर्षपछि विश्वकपमा पुनरागमन गरेको थियो । २००६ जर्मनी विश्वकपमा समूह चरणबाट बाहिरिएको चेक रिपब्लिक स्वतन्त्र राष्ट्र भएयता दोस्रोपटक विश्व फुटबलको महाकुम्भमा सहभागिता जनाइरहेको छ ।

यसपटक चेकको लक्ष्य  नकआउट चरण पुग्ने छ । पहिलो खेलमा लक्ष्यअनुरुप सुरुआत गरेको थियो । मिरोस्लाभ कौबेकको नेतृत्वमा रहेको टोलीले कप्तान लाडिस्लाभ क्रेज्कीको गोलमार्फत दक्षिण कोरियाविरुद्ध ५९औं मिनेटमा अग्रता लिएको थियो । तर, अन्त्यमा जित कोरियाको भयो । यसबीच मिडफिल्डर थोमस सौसेकको गोलले अफसाइडका कारण मान्यता पाउन सकेन ।

हारसँगै चेक रिपब्लिकको अपराजित यात्रा सातौं खेलमा आएर टुंगियो ।

यो खेलअघि टोलीले निर्धारित ९० मिनेटमा चार खेल जितेको थियो । बाँकी दुई खेलमा चेक रिपब्लिक पेनाल्टी सुटआउटमा भाग्यशाली रह्यो । पछिल्ला चार खेलमा टोली क्लिनसिट राख्न असफल भएको थियो । कोरियाविरुद्ध पनि त्यही कथा दोहोरियो ।

बिहीबार दक्षिण अफ्रिकालाई हराए चेक रिपब्लिकको आशा जीवितै रहनेछ । टोलीले बढीमा समूहको शीर्ष दुई स्थानका लागि आफ्नो दाबेदारी बनाइरहनेछ । कम्तिमा उत्कृष्ट तेस्रो टोली बन्ने बाटो खुल्नेछ । यी दुई टोली अहिलेसम्म एकैपटक अन्तर्राष्ट्रिय मञ्चमा आमने सामने भएका छन् । सन् १९९७ को फिफा कन्फेडेरेसन कपमा भएको खेल २–२ को बराबरीमा टुंगिएको थियो ।

दक्षिण अफ्रिकाको यो चौथो विश्वकप हो । सन् २०१० मा प्रतियोगितालाई होस्ट गरेको टोली त्यसयता पहिलोपटक सहभागिता जनाइरहेको छ । १६ वर्षअघि पनि टोलीले उद्घाटन खेलमा मेक्सिकोसँग खेलेको थियो र खेल १–१ को बराबरीमा सकिएको थियो ।

यस पटक कथा फरक रह्यो । तीन रातो कार्ड देखाइएको खेलमा दक्षिण अफ्रिका सह आयोजकसामू निरीह बन्यो । मिडफिल्डरद्धय स्फेफेलो सिथोले र थेम्बा ज्वाने रातो कार्ड खाँदै मैदानबाट बाहिरिन बाध्य भएका थिए । इन्जुरी समयमा मेक्सिकोका सेजार मोन्टेसलाई पनि रातो कार्ड देखाइएको थियो ।

मुख्य प्रशिक्षक ह्युगो ब्रुजका लागि चिन्ताको विषय यी खेलाडीको विकल्प खोज्नु होइन । जितविहीन यात्रालाई ब्रेक गर्नु हो । टोलीले जित निकाल्न नसकेको पाँच खेल भइसकेको छ । टोली जब जब हारेको छ, सबैमा दुई गोल खाएको छ ।

चेक रिपब्लिकविरुद्ध दक्षिण अफ्रिकालाई एउटै कुराले ‘मोटिभेट’ गरेको छ । त्यो हो विश्वकपमा दक्षिण अफ्रिकाले युरोपियन टोलीसँग भएको पछिल्लो भेटमा जित निकालेको छ । २०२० मा टोलीले फ्रान्सलाई २–१ ले हराएको थियो ।

समूह ‘ए’को अर्को खेलमा शुक्रबार बिहान मेक्सिकोले दक्षिण कोरियासँग खेल्नेछ । खेल नेपाली समयअनुसार ६:४५ बजे हुनेछ । दुवै टोली लगातार दोस्रो खेल जित्दै नकआउट चरणमा पुग्ने पहिलो टोली बन्ने दाउमा हुनेछन् ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय