News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा सहआयोजक मेक्सिको र दक्षिण कोरिया शुक्रबार बिहान पौने ७ बजे भिड्दैछन् ।
- आफ्नो पहिलो खेल जितेका दुवै टोली यस खेलमा जित दर्ता गर्दै समूहको शीर्ष स्थानमा उक्लने लक्ष्यमा छन् ।
- प्रतिबन्धित कप्तान सेसार मोन्टेसविना मैदान उत्रने मेक्सिकोविरुद्ध दक्षिण कोरिया विश्वकपमा पहिलो जित निकाल्ने दाउमा छ ।
४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘ए’ अन्तर्गत शुक्रबार सह आयोजक मेक्सिको र दक्षिण कोरिया आमने सामने हुँदैछन् ।
मेक्सिकोको ग्वाडलाजारा स्टेडियममा हुने उक्त खेल शुक्रबार बिहान पौने ७ बजे सुरु हुनेछ ।
यस खेलले समूहको शीर्ष स्थान र नकआउट चरणको यात्रा तय गर्न दुवै टोलीका लागि निकै महत्ववपूर्ण भूमिका खेल्नेछ । याे खेलकाे विजेता टोली समूह ‘ए’को शीर्ष स्थानमा पुग्ने बलियो स्थितिमा रहनेछ ।
आफ्ना सुरुवाती खेलहरूमा जित दर्ता गरिसकेका दुवै टोली उच्च मनोबलका साथ मैदान उत्रने तयारीमा छन् । मेक्सिकोले आफ्नो पहिलो खेलमा ९ खेलाडीमा सीमित दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको थियो । यस्तै दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध १–० ले पछि परेको स्थिति उल्टाउँदै २–१ को रोमाञ्चक पुनरागमन जित निकालेको हो ।
मेक्सिकोले यस खेलमा जित निकाल्दै विश्वकप इतिहासमा पहिलोपटक लगातार तीन खेल जित्ने कीर्तिमान बनाउने दाउमा छ । तर, उद्घाटन खेलको अन्तिम समयमा रातो कार्ड पाएका कप्तान तथा मुख्य डिफेन्डर सेसार मोन्टेस दक्षिण कोरियाविरुद्ध उपलब्ध नहुँदा उनको महशुस मेक्सिकोलाई हुन सक्छ ।
उनको अनुपस्थितिमा कोरियाको आक्रमण रोक्ने जिम्मा एड्सन अल्भारेजको काँधमा आउने देखिन्छ । आक्रमण पंक्तिमा भने ३५ वर्षीय अनुभवी स्ट्राइकर राउल जिमेनेज र जुलियान क्विनोनेस मुख्य हतियार हुनेछन् । जिमेनेजले दक्षिण कोरियाविरुद्धका आफ्ना पछिल्ला दुई भेटमै गोल गरेका छन् ।
दक्षिण कोरिया विश्वकप इतिहासमै पहिलोपटक आफ्ना सुरुवाती दुवै खेल जित्दै नयाँ रेकर्ड कायम गर्न चाहन्छ । टोलीका लागि पेरिस सेन्ट–जर्मेनका युवा स्टार ली काङ–इन र अघिल्लो खेलका गोलकर्ता ह्वाङ इन–बियोम उत्कृष्ट लयमा छन् । यस्तै, कप्तान सन ह्युङ–मिन मेक्सिकोविरुद्धको आफ्नो पुरानो लयलाई निरन्तरता दिँदै देशका लागि सर्वकालीन उच्च गोलकर्ताको कीर्तिमान नजिक पुग्ने लक्ष्यमा हुनेछन् ।
विश्वकप इतिहासमा यी दुई टोलीबीच भएका दुवै भेटमा मेक्सिको विजयी भएको छ । सन् १९९८ मा ३–१ र सन् २०१८ मा २–१ ले विजयी भएको थियो । समग्रमा यी दुई टोली १४ पटक खेलिसकेका छन् । जसमा मेक्सिको ८ पटक र दक्षिण कोरिया ४ पटक विजयी हुँदा २ पटक बराबरीमा सकिएको छ ।

प्रतिक्रिया 4