+
+
Shares

संसद्‌मा कांग्रेसको प्रश्न : देशमा विधिको शासन चलाउँदै छौं कि सिंहदरबारभित्र हुकुमी जंगलराज ?

जाजरकोट र आम नेपाली नागरिकको तर्फबाट भन्दै सरकारलाई प्रश्न गरे, ‘हामी यो देशमा विधिको शासन चलाउँदै छौं कि सिंहदरबारभित्र अदृश्य कुनै अदृश्य हुकुमी जंगलराज जन्माउँदै छौं ?’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १२:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा ९ घण्टा राखिएको विषयमा प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • सांसद बुढाले सरकारलाई ‘हामी यो देशमा विधिको शासन चलाउँदै छौं कि सिंहदरबारभित्र अदृश्य कुनै अदृश्य हुकुमी जंगलराज जन्माउँदै छौं ?’ भनी प्रश्न गरे ।
  • यसअघि कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले सोही विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका थिए ।

५ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले शासन सञ्चालनका सन्दर्भमा गम्भीर प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलहरू उठे । सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि बोल्दै कांग्रेसका सांसद बुढाले आफू जाजरकोटका जनताको प्रतिनिधित्व गर्दै संसद्‌मा रहेको स्मरण गरे ।

अनि जाजरकोट र आम नेपाली नागरिकको तर्फबाट भन्दै सरकारलाई प्रश्न गरे, ‘हामी यो देशमा विधिको शासन चलाउँदै छौं कि सिंहदरबारभित्र अदृश्य कुनै अदृश्य हुकुमी जंगलराज जन्माउँदै छौं ?’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई ९ घण्टासम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको विषय उनले उठाए । यो विषय बिहीबार पनि संसद्मा उठेको थियो ।

कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनिएको विषय उठाएका थिए ।

उनले भनेका थिए, ‘संवैधानिक निकायका प्रमुख अख्तियार दुरुपयोग आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइने । नत्रभने प्रधानमन्त्री कार्यालयभित्रै निज पदाधिकारीहरूलाई थुन्ने धम्कीका साथमा पक्राउ पुर्जी जारी भएको कुरा बाहिर आएको छ ।’

यो विषय साचो हो भने संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनको माग थियो । यो विषयमा प्रधानमन्त्री बालेन स्वयमले संसद्लाई जानकारी गराउनुपर्ने र यस निम्ति सभामुखले रुलिङ गर्नुपर्ने उनको आग्रह थियो ।

शुक्रबार पनि कांग्रेसले यो विषय संसद्‌मा उठाएको हो । कांग्रेसका सांसद बुढाले एक जना विदेशी राजदूतमाथि समेत उचित व्यवहार नभएको सुनिएको भनेर सरकारको ध्यानाकर्षण गरे ।

पञ्चायतकालमा भूमिगत गिरोहको विषय सुनिए जस्तै अहिले पनि सुन्न थालिएको भन्दै उनले अदृश्य शक्ति नभएर दृश्य शक्तिले लोकतन्त्रमा शासन गर्ने आफूहरूको बुझाइ रहेको बताए ।

यो विषयलाई ओझेलमा पर्न दिन नहुने पनि उनले आग्रह गरे ।

‘प्रधानमन्त्रीले बुझ्नु भएको छ कि छैन अख्तियार दुरूपयोग अनुसन्धान आयोग कुनै सतर्कता केन्द्र होइन, संवैधानिक अंग हो’ उनले भनेका छन्, ‘अख्तियार कसैको गोजीको संस्था होइन । आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नो इसारामा निर्णय गराउँछ भने सोही प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्ने हो ?’

आवश्यक परेका बेला सरकार माथि निगरानी राख्ने र राज्य शक्तिमा चेक एण्ड ब्यालेन्स गर्ने संस्था अख्तियार भएको उनले बताए ।

तर यसअनुसारको व्यवहार नभएको उनले उनले प्रश्न गरेका हुन् ।

‘प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउने को हुन् र तिनीहरू नेपालको संविधान र कानुन नचिनेका केबल कालो चस्मा लगाएर राज्यका संयन्त्रहरू कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य हुन ?’ उनले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा निर्णय गर्ने ठाउँमा मन्त्री छन् कि पर्दा पछाडि बसेका कोही ? भनेर उनले प्रश्न गरेका छन्, ‘मन्त्रीहरू देखाउने अनुहार मात्रै हुन् ? र वास्तविक निर्णय अरू कसैले गरीरहेको छन् ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?