+
+
Shares

सरदरभन्दा ६ दिन ढिलो नेपाल भित्रियो मनसुन

महाशाखाले नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ भए पनि यस वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी प्रवेश गरेको जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा यस वर्षको मनसुन प्रणाली सरदर मितिभन्दा ६ दिन ढिलो गरी कोशी प्रदेशको केही भूभागबाट प्रवेश गरेको छ ।
  • यस वर्षको मनसुनमा देशभरि सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
  • नेपालमा यस वर्षको प्रि–मनसुन सिजनमा विगत ४५ वर्षयताकै सबैभन्दा धेरै ३३९.७७ मिलिमिटर वर्षा भएको रेकर्ड छ ।

५ असार, काठमाडौं । नेपालमा यस वर्षको मनसुन प्रणाली प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार (असार ५ गते) कोशी प्रदेशको केही भू–भागबाट मनसुन नेपाल भित्रिएको हो।

महाशाखाले नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ भए पनि यस वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी प्रवेश गरेको जनाएको छ।

अघिल्लो वर्ष सरदर भन्दा १५ दिन अघि नै मनसुन नेपाल भित्रिएको थियो ।

महाशाखाका अनुसार हाल मनसुन प्रणाली कमजोर अवस्थामा रहेकाले देशका अन्य क्षेत्रमा यसको विस्तार हुन अझै केही दिन लाग्ने सम्भावना छ। हाल कोशी प्रदेशका पूर्वी तटीय तथा हिमाली क्षेत्रका सीमित भू–भागमा मात्र मनसुनको प्रभाव देखिएको छ।

मौसमविद्हरूका अनुसार मनसुनको गतिविधि क्रमशः सक्रिय बन्दै गएपछि देशका अन्य भागमा पनि यसको प्रभाव विस्तार हुनेछ।

यस वर्षको मनसुनमा देशभरि सरदर भन्दा कम वर्षा र बढी गर्मी हुने पूर्वानुमान छ । यस वर्षको मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम भने कम नहुने विज्ञहरूले बताएका छन् ।

उनीहरूका अनुसार छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र पानीको अभावले यो वर्षको मनसुन अझ खतरनाक बन्न सक्ने आशंका छ ।

महाशाखाले मनसुनी प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाउँदै आवश्यकताअनुसार मौसमसम्बन्धी सूचना र पूर्वानुमान अद्यावधिक गर्दै जाने जनाएको छ।

साथै सर्वसाधारण तथा सरोकारवाला निकायलाई महाशाखाले जारी गर्ने ‘तीन दिने मौसम बुलेटिन’ नियमित रूपमा हेर्न र मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन आग्रह गरेको छ।

यस वर्षको प्रि-मनसुनमा ४५ वर्ष यताकै धेरै वर्षा

नेपालमा यस वर्षको प्रि-मनसुन (मार्च-मे) सिजनमा विगत ४५ वर्ष यताकै सबैभन्दा धेरै पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको वर्षाले विगतका सबै कीर्तिमानहरूलाई भंग गरेको हो ।

नेपालमा प्रि-मनसुन सिजनमा औसत २२६.३ मिलिमिटर पानी पर्ने गर्दछ। तर, यस वर्ष (सन् २०२६) औसतको १४५.५ प्रतिशत अर्थात् ३३९.७७ मिलिमिटर वर्षा भएको छ। यो औसत भन्दा झन्डै डेढ गुणा बढी हो।

जल तथा मौसम विज्ञान विभागले सन् १९८१ देखि देशका १२६ वटा वर्षा मापन केन्द्रको तथ्यांकलाई आधार मानी प्रि-मनसुनको विश्लेषण गर्दै आएको छ।

विभागको तथ्यांक अनुसार यसअघि सन् १९९० मा सबैभन्दा धेरै ३३१.४० मिलिमिटर पानी परेको रेकर्ड थियो।

यस वर्षको वर्षाले उक्त पुरानो रेकर्डलाई समेत पछि पार्दै नयाँ इतिहास कायम गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?