+

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि तामाङले जिते

२०८३ असार  ५ गते २०:४४ २०८३ असार ५ गते २०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि सुबाश तामाङले प्ले–अफमा भुवन नगरकोटी र सदभाव आचार्यलाई हराउँदै जितेका छन् ।
  • उपाधिसँगै सुबाशले ३ लाख २० हजार रुपैयाँ पुरस्कार पाए भने तीनै खेलाडीले ७२ होलको खेल १८–अन्डर २७० स्कोरमा पूरा गरे ।
  • यस सिजन कुल १० लाख ३३ हजार ५ सय रुपैयाँ जित्दै भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुरका नम्बर एक खेलाडी बनेका छन् ।

५ असार, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि सुबाश तामाङले प्ले–अफमा जितेका छन् ।

प्ले–अफको पहिलो होलमा भुवन नगरकोटी र एमेच्योर सदभाव आचार्यलाई हराउँदै उनी च्याम्पियन भएका हुन् । उनले उपाधिसँगै ३ लाख २० हजार नगद पुरस्कार जिते ।

सुबाश, भुवन र सदभाव तीनै जनाले ७२ होलको खेल समग्रमा १८–अन्डर २ सय ७० मा सकाए । यो सँगै खेलको निर्णय प्ले–अफबाट भयो । प्ले–अफमा सुबाशले पार खेले । भुवन र सदभाव दुवैले पार पट मिस गरे । योसँगै सुबाश च्याम्पियन बने । भुवन दोस्रो भए । उनले नगद २ लाख ६ हजार पाए ।

सुबाशले आज ३–अन्डर ६९ खेले । तेस्रो होलको बोगीका विरूद्ध सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन इभन–पार ३६ खेले।यसपछि ११ औं देखि १३ औं होलसम्म तीन बर्डी सहित ३–अन्डर ३३ मा सकाए ।

भुवनले ४–अन्डर ६८ मा खेल पूरा गरे । दोस्रो होलमा बोगी खेलेका उनले तेस्रो, चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गरे । फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए। यसपछि ११ औं र १७ औं होलमा बर्डी प्रहार गर्दा डबल बोगी खेल्दै इभन–पार ३६ खेले ।

सदभावले आज दिनकै उत्कृष्ट ६–अन्डर ६६ को स्कोर कार्ड तयार पारे। उनले फ्रन्ट र ब्याक नाइन दुवै ३–अन्डर ३३ खेले । उनले तेस्रो, छैटौं, नवौं, १२ औं, १६ औं र १८ औं होलमा बर्डी प्रहार गरे। यो उत्कृष्ट स्कोरमा प्ले अफमा पुगेका सदभाव एमेच्योरतर्फ विजेता बने। उनले राहुल विश्वकर्मालाई ८ स्ट्रोकले हराए ।

आज फाइनल ग्रुपमा खेलेका शुक्र बहादुर राई समग्रमा १५–अन्डर २ सय ७३ सहित चौथो भए। आज ३–अन्डर ७९ मा खेल पुरा गरे। प्रोतर्फ तेस्रो भएका उनले १ लाख ६२ हजार हात पारे ।

साबिक विजेता राहुल समग्रमा १०–अन्डर २ सय ७८ को स्कोरमा पाँचौं भए । उनले अन्तिम दिनको खेल इभन–पार ७२ खेले। एमेच्योरतर्फ उनी दोस्रो भए। एमेच्योर तेन्जिङ छिरिङ्ग समग्रमा ७–अन्डर २ सय ८१ सहित सातौं स्थानमा खेल सकाए। एमेच्योरतर्फ उनी तेस्रो भए ।

समग्रमा ३–अन्डर २ सय ८५ सहित दिनेश प्रजापति सातौं भए। प्रोतर्फ चौथो भएका उनले १ लाख ४५ हजार हात पारे। समग्रमा १–अन्डर २ सय ८७ सहित एमेच्योर वाङचेन ढोन्डुप आठौं भए। नेपाल नम्बर एक प्रो निरज तामाङ नवौं भए। उनले इभन–पार २ सय ८८ मा यो प्रतियोगिता पुरा गरे । प्रोतर्फ पाँचौं भएका उनले १ लाख २८ हजार नगद पुरस्कार पाए ।

समग्रमा १–ओभर २ सय ८९ सहित प्रोहरू भुवन कुमार रोक्का, तोरण विक्रम शाही, सञ्जय लामा तथा एमेच्योरहरू नोर्बु छिरिङ्ग शेर्पा र रितेश तामाङले समग्रमा दशौं स्थान बाँडे ।

प्रोतर्फ भुवन, तोरण र सञ्जय प्रोतर्फ छैटौं भए। उनीहरूले जनही ९६ हजार ३ सय ३३ नगद पुरस्कार हात पारे ।

विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डिरेक्टर गौरव तयाल र एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार प्रदान गरे। कुल १८ लाख नगद पुरस्कार राशी रहेको प्रतियोगितामा शीर्ष १८ जना प्रोले नगद पुरस्कार प्राप्त गरे ।

सूर्य नेपाल गल्फ टुर २०२५–२६ को आठवटा प्रतियोगिता सकिएसँगै आगामी सिजन भुवन नगरकोटी नम्बर एक खेलाडी हुने भएका छन्। उनले यो सिजन कुल १० लाख ३३ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। यो क्रममा उनले ४ प्रतियोगिताको उपाधि जिते।

कुल ७ लाख २७ हजार ३ सय ३३ नगद पुरस्कार जित्दै नम्बर अर्डर अफ मेरिटमा दोस्रो स्थानमा रहे। दिनेश प्रजापति तेस्रो, जयराम श्रेष्ठ चौथो र सञ्जय लामा क्रमश तेस्रो, चौथो र पाँचौं स्थान रहे ।

दिनेशले ६ लाख २९ हजार ८ सय ३३, जयरामले ५ लाख ११ हजार ५ सय र सञ्जयले ४ लाख ७८ हजार ३ सय ३३ नगद पुरस्कार पाए ।

सिजनको कुल ८० लाख नगद पुरस्कार राशी रहेको यो सिजन कुल ३६ प्रोफेसनल खेलाडीहरूले नगद पुरस्कार प्राप्त गरे ।

तस्वीरहरू : विकास श्रेष्ठ

सूर्य नेपाल प्रिमियर गल्फ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय