+
फिफा विश्वकप २०२६ :

केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे

२०८३ असार  ८ गते ५:५१ २०८३ असार ८ गते ५:५१

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २–२ को बराबरीमा सकिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकाको फ्लोरिडामा भएको खेलमा दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग २–२ को बराबरीमा रोकिएको छ।

८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ ।

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २–२ को बराबरीमा सकिएको हो । केप भर्डेले यसअघि स्पेनसँग बराबरी खेलेको थियो ।

दुवै टोलीले आफुले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगे । केप भर्डेले उरुग्वेविरुद्ध सुरुवाती अग्रता लिएको थियो ।

२१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत गोल गर्दै केप भर्डेलाई ऐतिहासिक अग्रता दिलाएका थिए । त्यसपछि ४४औं मिनेटमा म्याक्सी अराजोले उरुग्वेका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा अगस्टिनले गोल गर्दै उरुग्वेलाई अग्रतामा पुर्‍याएका थिए । ६१औं मिनेटमा उरुग्वेका डिफेन्डर र गोलकिपरको तालमेल नमिल्दा केप भर्डेका हेलियो भारेला गोल गर्दै बराबरी गोल फर्काए ।

त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन ।

बल पोजिसनमा केप भर्डेभन्दा करिब दोब्बर समय रहेपनि उरुग्वेले गोल भने गर्न सकेन । उरुग्वेले सर्ट पनि केप भर्डेभन्दा धेरै प्रहार गर्‍याे ।

खेलपछि केप भर्डेका प्रशिक्षक बुबिस्टाले टोलीले सुरुदेखि नै साहस देखाएको बताए । ‘हाम्रो टोलीले सुरुदेखि नै साहस देखायो र सधैं खेल जित्ने उद्देश्यका साथ अघि बढ्यो । यसले हामीलाई निकै खुसी तुल्याएको छ । हामी आफ्ना सबै खेलाडीहरूलाई विश्वास गर्छाैं,’ उनले भने ।

उरुग्वेका प्रशिक्षक मार्सेलो बिएल्साले खेलको इन्टेन्सिटीलाई घट्दा नतिजा आफ्नो नसकेको बताए । ‘जब हामीले राम्रो डिफेन्स गर्‍याै‌ । तब खेलले हामीलाई अग्रता दिलायो । तर जब हामीले खेलमाथिको नियन्त्रण गुमायौँ, प्रतिद्वन्द्वीको तुलनामा हाम्रो त्यो अग्रता साँघुरिँदै गयो,’ उनले भने, ‘यो नतिजा आउनुको मुख्य कारण हामीले आफ्नो खेलको इन्टेन्सिटीलाई घट्न दियौँ, जुन हुनु हुँदैनथ्यो ।’

यो नतिजासँगै समूह ‘एच’ मा उरुग्वे र केप भर्डेले २ खेलबाट समान २ अंक जोडेका छन् । उक्त समूहमा २ खेलबाट ४ अंक जोड्दै स्पेन शीर्ष स्थानमा छ । साउदी अरेबियाले एक अंक जोडेको छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय