८, असार, चितवन । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८३०८४ का लागि ५ अर्ब ५१ करोड ७० लाख २३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले आज समोबार महानगरको १९ औं नगरसभामा पेश गरेको बजेटमा आगामी आ.व. २०८३/०८४ को प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको सो बजेट पेश गरेका हुन् ।
महानगरपालिकाको चालु आर्थिक वर्षको बजेट ५ अर्ब २२ करोड रुपैयाँको बजेट छ ।
महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि आयतर्फ आन्तरिक आय २ अर्ब ४ करोड (घरजग्गा रजिष्ट्रेशन एवम् खानी तथा खनिजजन्य पदार्थको बाँडफाँडबाट प्राप्त समेत), अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट (संघ र प्रदेशतर्फ) २ अर्ब १७ करोड ७३ लाख ९८ हजार, संघ राजस्व बाँडफाँडबाट ३३ करोड १२ लाख ६४ हजार तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट १३ करोड ४० लाख ६१ हजार, नगर विकास कोषबाट ४ करोड, जनसहभागिताबाट ३ करोड, बैंक मौज्दात ७४ करोड ५० लाख, सडक बोर्ड नेपालबाट १ करोड ९३ लाख रहने प्रक्षेपण गरेको छ ।
सामाजिक सुरक्षा लगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्व २५ करोड खर्च हुने महानगरको प्रक्षेपण छ ।
गत आर्थिक बर्ष तथा चालु आ.व. मा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका योजनाहरू समय मै सम्पन्न गर्नको लागि ६० करोड विनियोजन गरेको छ । महानगरपालिका भित्रका सडकलाई नियमित रूपमा मर्मत तथा संभार गर्न, खाल्टाखुल्टीरहित बनाउन, सार्वजनिक भवन मर्मत तथा सुधार गर्नको लागि नियमित मर्मत सम्भार गर्नका लागि ६ करोड, गौतमबुद्ध क्रिकेट रंगशालाका लागि १४ करोड, महानगरको निर्माणाधीन भनेको ईन्टेरियरसमेतको कामका लागि ९ करोड रकम विनियोजन गरिएको महानगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए । महानगरले वडालाई न्यूनतम बजेट सिलिङ ३ करोड १९ लाख ६० हजार र अधिकतम ३ करोड ३८ लाख ५८ हजार बनाएर बजेट विनियोजन गरिएको कार्यवाहक नगरप्रमुख अधिकारीले जानकारी दिए । महानगरका २९ वटा वडामा वडास्तरीय आयोजनाहरूमा ९४ करोड ९० लाख बजेट छुट्टाइएको छ ।
सामुदायिक विद्यालयलाई खानेपानी तथा विद्युत् महसुलमा अनुदानको सुरूवात, बालविकास शिक्षामा पहुँच विस्तार, शैक्षिक प्रोत्साहन कार्यक्रमलाई निरन्तरता, श्रोत कक्षा र विशेष विद्यालयहरूको व्यवस्थापनमा गरिएको लगानीको निरन्तरताका साथै शिक्षामा पहुँच एवम् गुणस्तर कायम गर्ने, विद्यालयको कक्षा घटाउने तथा विद्यालय समायोजन गर्दै दरबन्दी मिलान लगायतका शैक्षिक कार्यक्रम कार्यान्वयन गर्नको लागि महानगरपालिकाले ११ करोड ७५ लाख बजेट विनियोजन गरेको छ ।
महानगरपालिकाभित्र मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको खानेपानी महसुल छुट भुक्तानीमा निरन्तरताको लागि २ करोड विनियोजन गरेको महानगरले आपतकालीन विपद तथा प्रकोप व्यवस्थापन कोषमा १ करोड २५ लाख, भरतपुर महानगरले एम्बुलेन्स, उद्धार वाहन तथा शववाहन सवारी साधनका लागि १ करोड बजेट विनियोजन गरेको छ ।
महानगरपालिकाले नीति तथा कार्यक्रममा शहरी पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य युवा तथा खेलकुद, कृषि, पशुपालन तथा स्थानीय आर्थिक विकास, वन, वातावरण, विपद तथा फोहोरमैला व्यवस्थापन, पीपीपी मोडलमा आधुनिक फोहोर प्रशोधन केन्द्र जस्ता विषयलाई प्राथमिकतामा राखेको छ ।
प्रतिक्रिया 4