+
+
Shares

एमाले उपाध्यक्ष पौडेलमाथि के हो आरोप ?

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्बद्ध स्रोतका अनुसार, पौडेलमाथि राज्यसंयन्त्रमा रहँदा विभिन्न व्यापारिक र स्वार्थ समूहको हित हुनेगरी काम गरेको र त्यसवापत् आर्थिक लाभ लिएको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते २०:२१

८ असार, काठमाडौं । आठ पटक मन्त्री र पाँचपटक सांसद भएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा पक्राउ परेका छन् । सोमबार दिउँसो सम्पत्ति शुद्धीकरण विभागको टोलीले सुर्खेतबाट पक्राउ गरेको हो । विभागले उनलाई नियन्त्रणमा लिनुअघि ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा छापा मारेको थियो ।

प्रहरीले छापा मारेर केही कागजात समेत नियन्त्रणमा लिएको विभाग सम्बद्ध स्रोतले बतायो । पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग सम्बद्ध स्रोतका अनुसार, पौडेलमाथि राज्यसंयन्त्रमा रहँदा विभिन्न व्यापारिक र स्वार्थ समूहको हित हुनेगरी काम गरेको र त्यसपछि विभिन्न ढंगलबाट लाभ लिएको आरोप छ ।

‘हामीले कतिपय व्यक्तिहरूमाथि अनुसन्धान गरी प्रमाण संकलन गर्दा उहाँको बारेमा पनि सूचनाहरू भेटेका थियौं, ती व्यक्तिहरुविरुद्ध मुद्दा चल्दा नै थप अनुसन्धान हुँदैछ भनेर अदालतमा जानकारी गराइएको हो,’ विभागसम्वद्ध स्रोतले भन्यो, ‘त्यसैको सिलसिलामा थप अनुसन्धानका लागि पक्राउ गरिएको हो ।’

उनलाई काठमाडौं ल्याएर हिरासतमा राखिने र मंगलबार म्याद थपका लागि विशेष अदालतमा पेश गरिने विभागका अनुसन्धान अधिकारीहरुको तयारी छ । अहिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गर्ने अनुसन्धानका मुद्दाहरु विशेष अदालतमा दायर हुन्छन् ।

पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । एमालेले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठन सुझाव संकलन गरिरहेको छ । सुर्खेत जिल्ला प्रहरी कार्यालयका अनुसार सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि उनलाई स्थानीय शुभ होटलबाट पक्राउ गरिएको हो ।

उनलाई होटलबाट पक्राउ गरेर प्रहरीले जिल्ला प्रहरी कार्यालय पुर्‍याएको थियो । त्यहाँबाट उनलाई गाडीमा राखेर नेपालगञ्ज लगिएको छ । उनलाई भोलि बिहान हवाइमार्गबाट काठमाडौं ल्याउने तयारी छ ।

पौडेल नेपालमा आठ पटक मन्त्री भएका व्यक्ति हुन् । पाँचपटक अर्थमन्त्री भएर अर्थतन्त्रको बागडोर नै सम्हालेका थिए । उनी तीनपटक उपप्रधानसहितको मन्त्री बनेका थिए ।

संघीय संसद् सचिवालयको विवरण अनुसार पौडेल २०५३ साल चैतमा युवा, खेलकुद तथा संस्कृतिमन्त्री भएका थिए । २०६५ साल भदौमा जलस्रोत मन्त्री बनेका थिए । २०६७ साल चैतमा रक्षामन्त्री भएका उनी २०७२ कात्तिकमा पहिलो पटक अर्थमन्त्री बने । २०७७ असोजमा दोस्रो पटक अर्थमन्त्री भए ।

त्यसपछि २०७८ जेठ, २०७९ पुस र २०८१ असारमा उपप्रधानसहित अर्थमन्त्री भए । २०८१ साल भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा पौडेल अर्थमन्त्री थिए । जेनजी आन्दोलनले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो ।

जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको गत २१ फागुन २०८२ को चुनावमा पौडेल रुपन्देही-२ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भए । योसँगै उनको संसदबाट बाहिर छन् । २०५१ को मध्यावधि चुनावमा पाल्पाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । २०५६ मा रूपन्देहीबाट चुनाव लडे । त्यतिबेला उनी नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भए ।

२०६४ को संविधानसभा निर्वाचनयता निरन्तर संसदीय यात्रामा रहे । देशभरि माओवादीको पक्षमा चुनावी लहर आएको पहिलो संविधानसभा निर्वाचनमा माओवादीका भक्तिप्रसाद पाण्डेलाई साढे दुई हजार मतले पराजित गरेका थिए ।

२०७० मा भएको दोस्रो संविधानसभामा रूपन्देही–४ बाट चुनाव जिते । २०७४ र २०७९ मा रूपन्देही–२ बाट चुनाव जिते । २०८२ को चुनावमा पौडेल रुपन्देही २ बाटै पराजित भएका हुन् ।

२०३४ सालदेखि कम्युनिस्ट राजनीतिमा संलग्न भएका उनी पार्टीको दोस्रोपटक उपाध्यक्ष बनेका हुन् । उनी २०७५ साल जेठ ३ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको महासचिव पनि भएका थिए । उनी अहिले गत चुनावपछि एमालेको अवस्था कमजोर बनेको भन्दै पार्टी पुनर्गठनको अभियानमा थिए । उनी अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी छोडेर पार्टीलाई पुनर्गठन गर्नुपर्ने धारण राख्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?