+
+
Shares

अशोक राईले दिए नयाँ पार्टी दर्ताका लागि निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते ११:५४

९ असार, काठमाडौं । अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

राई नेतृत्वको समूहले सोमबार निर्वाचन आयोगमा ‘समाजवादी पार्टी’ दल दर्ताका लागि निवेदन दिएको हो ।

अशोक राई अध्यक्ष रहेको पार्टीको उपाध्यक्षहरुमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दान बहादुर विश्वकर्मा रहेका छन् ।

त्यस्तै, शरण कुमार राई उपमहासविच तथा सचिव पदमा हेमन्तराज मान्डव्य, मनिकर कार्की र भिम बहादुर तामाङ रहेका छन् ।

अध्यक्ष राईले ८ जना पदाधिकारी सहित २८ जनाको केन्द्रीय समिति सदस्यहरुको नामावली सहित दल दर्ताका लागि निवेदन दिएका हुन् ।

यसअघि अशोक राईको समूहले उपेन्द्र यावदको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी, नेपाल फुटाएर जनता समाजवादी पार्टी गठन गरेको थियो । सो पार्टी फुट विरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा पार्टीफुट गैरकानूनी भएको भन्दै सोविरुद्ध मुद्दा दिएका थिए ।

सोही मुद्दाको फैसला बमोजिम सर्वोच्चले अशोक राई नेतृत्वको जसपालाई कानूनी मान्यता नदिएपछि अशोक राईको समूह पार्टी बिहीन बन्न पुगेको थियो ।

त्यसपछि राई पक्षले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो । पार्टी दर्ताबारे अध्यक्ष अशोककुमार राईले संक्षिप्त मन्तव्य दिँदै भने, ‘हामी सांगठनिक एवम् राजनीतिक रुपमा प्रतिवद्ध र संगठित नै छौं, केवल सर्वोच्च अदालतको फैसलासँगै पार्टीको कानूनी अस्तित्वमा समस्या देखिएपछि तत्काल नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका हौैं ।’

नेपाली विशेषता अनुरुपको समाजवादलाई आफ्नो राजनीतिक ध्येय बनाएको समाजवादी पार्टीले समावेशी लोकतन्त्र, सामाजिक न्यायसहितको संघीयता, समृद्धि र सुशासनलाई राजनीतिक कार्यदिशाको रुपमा अघि बढाउने नवगठित पार्टीका सचिव मनिकर कार्कीले बताए ।

साथै उनले निर्वाचन अयोगबाट औपचारिक मान्यता पाएपछि संगठन निर्माण र पार्टी विस्तारलाई अभियानात्मक रुपमा देशव्यापी लैजाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?