९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यमा खस आर्यकै वर्चस्व रहेको पाइएको छ ।
चितवनमा जारी प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । उक्त प्रतिवेदनअनुसार रास्वपाको सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ छ ।
यसमध्ये पुरुष सदस्यको संख्या ३ लाख ९६ हजार ७८९ छ भने महिलाको संख्या ८९ हजार ८९६ छ । अन्य ५८८ जना रहेका छन् । लैंगिकता थाहा नभएको वा नखुलाउनेको संख्या ३६ हजार १९२ छ ।
समावेशी क्लस्टर अन्तर्गत खस आर्य २ लाख ३८९ जना छन् । यो ४१ प्रतिशत हो । दोस्रोमा मधेशी छन् । ९४ हजार २१ जना मधेशी क्लस अन्तर्गतका छन् । यो १८ प्रतिशत हो । तेस्रोमा आदिवासी जनजाति ९० हजार ३८५ जना रहेका छन् । यो १७.३ प्रतिशत हो ।
दलित ५० हजार ८१४ जना छन् । यो ९.७ प्रतिशत हो । मुस्लिम १३ हजार २९ जना छन् । यो २.५ प्रतिशत हो भने १० हजार ७१८ थारु छन् । यो २ प्रतिशत हो ।
जातजाति नखुलाउनेको संख्या ५० हजार १०९ छ । यो ९.६ प्रतिशत हो ।
रास्वपाको प्रथम महाधिवेशन चितवनमा जारी छ । प्रतिवेदनहरू पेस भइसकेपछि सभापति र केन्द्रीय सदस्यको लागि निर्वाचन प्रकृया सुरु हुनेछ ।
९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । निर्वाचित हुने ९९ जनामा ७ प्रदेशबाट ५/५ जना अनिवार्य हुने छन् भने प्रदेशमा ५ जना चयन हुँदा २ महिला हुनेछन् । अन्य ६४ पदमा खुला प्रतिस्पर्धा हुनेछ ।
पार्टीको केन्द्रीय सभापति र ९९ केन्द्रीय सदस्य चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको लागि निर्वाचन हुनेछ ।

प्रतिक्रिया 4