९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ रहेको छ ।
चितवनमा जारी प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । जसअनुसार पुरुष सदस्यको संख्या ३ लाख ९६ हजार ७८९ रहेको छ भने महिलाको संख्या ८९ हजार ८९६ रहेको छ । अन्य ५८८ जना रहेका छन् । लैंगिकता थाहा नभएको वा लैंगिकता नखुलाउनेको संख्या ३६ हजार १९२ छ ।
समावेशी क्लस्टर अन्तर्गत खस आर्य २ लाख ३८९ जना छन् । यो ४१ प्रतिशत हो । दोस्रोमा मधेशी छन् । ९४ हजार २१ जना मधेशी क्लस अन्तर्गतका छन् । यो १८ प्रतिशत हो । तेस्रोमा आदिवासी जनजाति ९० हजार ३८५ जना रहेका छन् । यो १७.३ प्रतिशत हो ।
दलित ५० हजार ८१४ जना छन् । यो ९.७ प्रतिशत हो । मुस्लिम १३ हजार २९ जना छन् । यो २.५ प्रतिशत हो भने १० हजार ७१८ थारु छन् । यो २ प्रतिशत हो ।
जातजाति नखुलाउनेको संख्या ५० हजार १०९ छ । यो ९.६ प्रतिशत हो ।
उमेरका दृष्टिमा युवाहरू धेरै छन् ।
१८ वर्ष मुनिका सदस्यको संख्या ३५ हजार २५७ छ । यो रास्वपाको कूल सदस्य संख्याको ६.७ प्रतिशत हो । १८ वर्षदेखि ४५ वर्ष उमेर समूहको सदस्य संख्या ३ लाख ३५ हजार ४७८ रहेको छ । यो ६४.१ प्रतिशत हो ।
४६ देखि ६५ वर्ष उमेर समूहको संख्या ९८ हजार ८५७ छ । यो १८.९ प्रतिशत हो । ६५ वर्ष माथिका सदस्यको संख्या १३ हजार ६८२ अर्थात् २.६ प्रतिशत छ । उमेर नखुलाउने संख्या ४० हजार १९१ छ । यो ७.७ प्रतिशत हो ।
रास्वपाको प्रथम महाधिवेशन चितवनमा जारी छ । प्रतिवेदनहरू पेस भइसकेपछि सभापति र केन्द्रीय सदस्यको लागि निर्वाचन प्रकृया सुरु हुनेछ ।
९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । निर्वाचित हुने ९९ जनामा ७ प्रदेशबाट ५/५ जना अनिवार्य हुने छन् भने प्रदेशमा ५ जना चयन हुँदा २ महिला हुनेछन् । अन्य ६४ पदमा खुला प्रतिस्पर्धा हुनेछ ।
पार्टीको केन्द्रीय सभापति र ९९ केन्द्रीय सदस्य चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीका लागि निर्वाचन हुनेछ ।

प्रतिक्रिया 4