+
+
Shares

‘गलत संस्कार दोहोरिए यात्रा दुर्घटनातर्फ जान्छ’

हामीलाई विश्वास गरेर मत दिने ५२ लाखभन्दा बढी नागरिकहरूले हामीलाई हेरिरहेका छन् । उनीहरूको विश्वासका लागि भए पनि कुनै गुट नहोस्, कुनै उपगुट नहोस्, कुनै प्यानल नबनोस् ।

रवि लामिछाने रवि लामिछाने
२०८३ असार ९ गते १७:३७

राजनीतिक रूपमा यो यात्रा छोटो भए पनि सफल भने पक्कै थिएन। यो यात्राका दौरान आएका घुम्ती र मोडहरूमा यहाँहरू जसरी सहभागी हुनुभयो, यहाँहरू सबै त्यसका साक्षी हुनुहुन्छ।

विभिन्न मञ्च र विभिन्न दस्तावेजमार्फत यस यात्राका घुम्ती, मोड, उकाली–ओरालीका बारेमा मैले बताउँदै आइरहेको छु।

ती कुराहरूलाई फेरि दोहोर्‍याउनु समयको बर्बादी मात्र हुनेछ। तर यति भने अवश्य भन्न चाहन्छु—आज हामी जुन मोडमा आइपुगेका छौं, साँच्चै नै हामीले देखेको एउटा सपनालाई आधिकारिकता र वैधानिकता प्रदान गर्ने यो महाकुम्भ तपाईं–हाम्रो पार्टीको, हाम्रो राजनीतिक जीवनको, र समग्रमा यस देशको भविष्यको दिशा निर्देश गर्ने एउटा महान् र ऐतिहासिक अवसर हो।

हामी सबैले इमान्दारिताका साथ यस अवसरको सदुपयोग गर्नुपर्छ भन्ने कुरामा म दृढ हुन अनुरोध गर्न चाहन्छु।

विभिन्न अभियानबाट, जीवनमा कहिल्यै राजनीति नगरेका मानिसहरू पनि राजनीति गर्ने अभिप्रायका साथ विभिन्न स्थापित राजनीतिक दलहरूबाट जम्मा भएर हामी विशाल रास्वपा बनेका हौं।

आज यस हलभित्र प्रतिनिधिका रूपमा जम्मा हुनुभएका तपाईं साथीहरू मूलतः देशभक्तिको प्रतिनिधित्व गर्नुहुन्छ भन्ने कुरामा म निर्धक्क हुन सक्छु।

यो दल विषम परिस्थितिमा स्थापना भएको हो, र त्यही विषम परिस्थितिलाई हेरेर नेपाली नागरिकहरूले आफ्नो अथाह विश्वास हामीमाथि खन्याएका हुन्।

संसारको राजनीतिक इतिहासमै बिरलै हुने घटनाका रूपमा पहिलो महाधिवेशनभन्दा अगाडि नै हामीले दलको झन्डै दुई तिहाइको सरकार प्राप्त गरेका छौं।

अब हाम्रा सामु दुईवटा बाटो छन्—यो उपलब्धिलाई लिएर यसको महिमागान गर्दै हिँड्ने, वा यस उपलब्धिलाई परिणाममा बदल्ने । वास्तवमा, हाम्रा सामु यही दुई चुनौती छन्।

मैले जोकोहीलाई सोधेँ भने पनि—हामी यसको सफलताको गीत गाउने, नाच्ने कि यसलाई परिणाममा बदल्ने ? भनेर प्रश्न गर्दा तपाईंहरू सोच्दै नसोची भन्नुहुन्छ होला, ‘परिणाममा बदल्ने।’

तर साँच्चै परिणाममा बदल्ने हो भने केही प्रतिबद्धता गर्नैपर्छ, केही न केही योगदान दिनैपर्छ। साथीहरू, केवल चाहना राख्दैमा, सपना देख्दैमा, हाम्रो चाहना र सपना आफैं अटो–पाइलटमा गएर पूरा हुँदैनन्। त्यसका लागि हामीले काम गर्नैपर्छ, कदम चाल्नैपर्छ।

हिजोको जस्तो आजको राजनीतिक यात्रा कठिन छैन। अघिल्लो पुस्ताको राजनीतिक यात्रा अत्यन्त कठिन थियो। ज्यानलाई जोखिममा राख्नुपर्थ्यो, निर्वाचनमा जानुपर्थ्यो, जेल–नेल भोग्नुपर्थ्यो, शहीद हुनुपर्थ्यो, र शरीरभरि गोलीका छर्राहरू बोकेर बाँच्नुपर्थ्यो।

आज परिस्थिति फरक छ। समयले चुनौतीहरू घटाएको त छैन, तर संघर्ष तुलनात्मक रूपमा सहज भएको छ भन्नु अत्युक्ति नहोला ।

म तपाईंहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु—यो महाधिवेशनमा गलत पात्र र गलत प्रवृत्तिको एउटा बीउ पनि नरोपियोस्। किनकि त्यसले दिने परिणाम हामीले देखिसकेका छौं।

यद्यपि, यही यात्रामा पनि सबैको संघर्ष सहज भने भएको छैन। कैयौँ साथीहरू पछिल्लो जनयुद्ध र विद्रोहको पृष्ठभूमिबाट आउनुभएको छ। त्यहाँ पनि ज्यानको जोखिम थियो। कतिपय साथीहरू विगतको राजनीतिक जीवनमा संघर्ष गर्दै गर्दा आफ्नो पुरानो राजनीतिक दलबाट राष्ट्रिय आकांक्षा पूरा नहुने देखेर रास्वपालाई विश्वास गर्दै यहाँ आउनुभएको छ।

कतिपय साथीहरू सशस्त्र संघर्षको त्यो समयको प्रतिनिधित्व गर्दै यहाँसम्म आइपुग्नुभएको छ। आज पनि यही हलमा यस्ता धेरै साथीहरू उपस्थित हुनुहुन्छ, जसले परिवर्तनका लागि लड्दा शरीरमा लागेका गोलीका छर्राहरू अझै बोकेर यहाँसम्म यात्रा गर्नुभएको छ।

म तपाईंहरू सबैप्रति सम्मान व्यक्त गर्न चाहन्छु। तपाईंहरू जहाँबाट र जसरी आउनुभएको भए पनि हाम्रो उद्देश्य साझा छ। केवल हामीले बनाउने बाटो र लक्ष्य प्राप्त गर्ने तरिका एउटै हुनुपर्छ—त्यो राजनीतिक हुनुपर्छ र परिवर्तनको भावनासँग आत्मसात् भएको हुनुपर्छ।

यदि राजनीतिक चरित्र उस्तै रह्यो, राजनीतिक खिचातानी उस्तै रह्यो, शक्ति प्राप्त गर्ने दौड उस्तै रह्यो, चरित्र उस्तै रह्यो, र अझ शक्तिशाली बन्नका लागि गुट–उपगुटको संघर्ष पनि उस्तै रह्यो भने हामीबाट आउने परिणाम पनि उस्तै हुन्छ, दुरुस्तै हुन्छ। त्यसमा कुनै फरक पर्दैन।

यदि फरक परिणाम निकाल्ने हो भने केही फरक सोच्नैपर्छ। हामी जहाँबाट, जसरी आएको भए पनि यो नीलो रङभित्र राष्ट्रका लागि गर्नुपर्ने प्रतिबद्धतासँग मिसिएर आएका हौं । त्यसैले हिजोकै शैली र उही पुरानै तरिकाले फरक परिणाम निकाल्ने दिवास्वप्न कसैले देखेको छ भने त्यो असफलतातर्फ जाने बाटो हो।

पार्टीको महाधिवेशन प्रतिनिधि हुनु भनेको कसैले सदस्य बनाइदिएका भरमा उसैलाई भोट हाल्ने, लालमोहर वा औंठाछाप लगाएर आफ्नो इमान बन्धकी राख्ने व्यक्ति हुनु होइन।

यदि तपाईंलाई सदस्य बनाउन, वा तपाईंलाई यस हलभित्र ल्याउनका निम्ति कसैले गलत तरिका अपनाएको छ, र त्यसकै कारण तपाईं आफूलाई यहाँसम्म ल्याइदिने व्यक्तिप्रति मात्र उत्तरदायी हुनुपर्छ भन्ने ठान्नुहुन्छ भने, तपाईं गलत बाटोमा हुनुहुन्छ।

तपाईं यो देशप्रति उत्तरदायी हुनुपर्छ। सिंगो पार्टीप्रति उत्तरदायी हुनुपर्छ। हामी त्यही प्रवृत्तिको विद्रोह गरेर यहाँ आएका हौं। फेरि त्यसैलाई दोहोर्‍याउने काम हामीले गर्‍यौं भने कुनै न कुनै मोडमा यो यात्रा दुर्घटनातर्फ जान्छ। दुर्घटनाले हामीलाई कहाँ पुर्‍याउँछ भन्ने कुरा यहाँहरूले देख्नुभएको छँदैछ।

त्यसैले, यो अवसरलाई दुर्घटनाबाट जोगाउने जिम्मा म तपाईंहरूको विवेकमा छोड्न चाहन्छु।

म यहाँसम्म आइपुग्दा सभा, अधिवेशन र महाधिवेशनको यो सम्पूर्ण प्रक्रियामा आफूलाई सबै साथीहरूभन्दा अलग राख्ने प्रयास गरें ।

एक प्रकारले म आइसोलेसनमै बसेँ। किनकि मलाई थाहा छ—जसले जिते पनि घण्टीवाहक साथीले जित्नुहुनेछ, र जो जित्नुहुन्छ, उहाँ मेरो परिवारको सदस्य हुनुहुन्छ। यसमा मेरो पूर्ण विश्वास छ।

तर त्यसबीचमा पनि अब्बल मानिस छान्ने जिम्मेवारी तपाईंहरूको हो। तपाईंको कुनै मित्रले तपाईंलाई यो हलसम्म ल्याइपुर्‍याउनुभयो, महाधिवेशन प्रतिनिधि बनाउनुभयो भने उहाँलाई धन्यवाद दिनुहोस्। यदि उहाँको छनोट गलत रहेछ भने धन्यवादमै चित्त बुझाउनुहोस्, तर भोट भने सक्षम साथीलाई दिनुहोस्।

म यसलाई वा उसलाई भोट दिनुस् भनेर भन्न चाहन्नँ।

कतिपय साथीहरूलाई लाग्न सक्छ, ‘हामी पार्टीको स्थापनाकालदेखि लागेका हौं, त्यसकारण अगाडि बढ्ने अधिकार हाम्रो हो।’

त्यस्तै, नयाँ आएका कतिपय साथीहरूलाई पनि लाग्न सक्छ—’पुराना साथीहरू मात्र पर्याप्त छैनन्। हामी पनि आफ्नो सक्षम घर, आफ्नो स्थापित पुरानो पार्टी र ठूलो संगठन छोडेर आशा र भरोसा लिएर यहाँ आएका हौं, त्यसैले अगाडि बढ्ने अवसर हाम्रो पनि हो ।’

यी दुवै भावना स्वाभाविक हुन्। तर निर्णयको आधार न पुरानो हुनु हो, न नयाँ हुनु हो। निर्णयको आधार क्षमता, प्रतिबद्धता, इमान्दारिता र पार्टी तथा राष्ट्रप्रतिको उत्तरदायित्व हुनुपर्छ।

तर म सबैलाई एउटै कुरा भन्न चाहन्छु—जसलाई जे लागे पनि राजनीतिक चरित्र सही हुनु आवश्यक छ। महाधिवेशनबाट छानिने, पार्टीको सबैभन्दा अग्लो, सबैभन्दा महत्वपूर्ण र पार्टीको सिर तथा मस्तिष्क मानिने केन्द्रीय समितिमा जाने व्यक्तिलाई तपाईंहरूले विवेकपूर्ण ढंगले छान्नुपर्नेछ।

मलाई तपाईंहरूको विवेकमाथि शंका लागेको होइन। तपाईंहरूको विवेकप्रति कतै पनि अविश्वास गरेर म यहाँ उपस्थित भएको होइन। तर साथीहरू, कहीँकतै गलत परम्परा र गलत प्रवृत्तिको एउटा सानो बीउ पनि रोपिन्छ कि भन्ने चिन्ता मलाई अवश्य छ।

त्यसैले, म तपाईंहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु—यो महाधिवेशनमा गलत पात्र र गलत प्रवृत्तिको एउटा बीउ पनि नरोपियोस्। किनकि त्यसले दिने परिणाम हामीले देखिसकेका छौं।

महाधिवेशनका सन्दर्भमा चलेका केही अफवाहहरू मैले पनि सुनेको छु। कसैलाई सांसद भएकाले नदिने कि दिने, मन्त्री भएकाले नदिने कि दिने, पुराना साथीलाई दिने कि नदिने, नयाँ आएका साथीलाई दिने कि नदिने—यस्ता व्यापक चर्चाहरू र केही नामहरू समेत उल्लेख भएका सूचनाहरू मैले प्राप्त गरेको छु।

म तपाईंहरूलाई निर्धक्कका साथ भन्न चाहन्छु—सांसदलाई नदिने, मन्त्रीलाई नदिने वा दिने भन्ने कुनै पनि औपचारिक निर्णय पार्टीले गरेको छैन। त्यसैले यस्ता भ्रम र गुटबन्दीमा नलाग्न म आग्रह गर्दछु।

निर्बाध रूपमा उम्मेदवारी दिनुहोस्। उठेका व्यक्तिहरू सांसद हुन् वा मन्त्री, पार्टीको स्थापनाकालदेखि लागेका हुन् वा हिजो–अस्ति मात्र रास्वपामा जोडिएका हुन्—कसलाई भोट दिने भन्ने जिम्मेवारी तपाईंहरूको हो।

तर यसलाई भोट दिनु, उसलाई भोट नदिनु भनेर उर्दी जारी गर्ने प्रवृत्ति रास्वपाको चरित्र होइन। चरित्रका हिसाबले त्यो रास्वपाको बाटो होइन।

त्यसैले आफ्नो विवेक प्रयोग गर्नुहोस् । आफ्नो निर्णय आफैं गर्नुहोस्। र पार्टीलाई सही दिशा दिने नेतृत्व छान्ने जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुहोस्।

हामीले नागरिकहरूलाई के भन्यौं ? ‘यसपटक तपाईंहरूले विवेक प्रयोग गर्नुहोस्, विवेक प्रयोग गरेर मतदान गर्नुहोस्’ भन्यौं।

देशका ५२ लाखभन्दा बढी नागरिकहरूले आफ्नो विवेक प्रयोग गर्नुभयो र रास्वपालाई आज देशकै सबैभन्दा शक्तिशाली राजनीतिक दलका रूपमा उभ्याउनुभएको छ।

अब त्यही विवेक हामीले पनि प्रयोग गर्नुपर्नेछ ।

त्यसकारण म यहाँहरूलाई यति मात्र अनुरोध गर्न चाहन्छु—हाम्रो यो पहिलो महाधिवेशनमा अत्यन्तै चुस्तता, विवेकपूर्ण ढंग र बुद्धिमत्तापूर्वक प्रतिनिधिहरूको चयन तथा निर्वाचन गर्नुपर्नेछ।

यो नयाँ अनुभव भएको हुनाले हामीसामु केही चुनौतीहरू आए। त्यस क्रममा केही साथीहरूले दुःख पाउनुभयो। सभापतिको हैसियतले तपाईंहरूले भोग्नुभएको असुविधाप्रति म क्षमायाचना गर्न चाहन्छु।

यो गर्मीमा यहाँ आएर तपाईंहरूले धेरै दुःख गर्नुभयो। तर सम्झनुहोस्, राजनीतिक यात्रामा आफ्नो दल निर्माण गर्न कैयौं पुराना साथीहरूले आफ्नो रगत, पसिना, उमेर, जवानी, भविष्य—सबै कुरा समर्पण गरेका छन्।

हामीले दुई दिन अतिरिक्त दिनुपर्‍यो। यसलाई दुःख नमान्नुहोस्, । यो हाम्रै घर निर्माणका लागि हो। यो हाम्रो घर हो, हामीले नबनाए कसले बनाउँछ र?

र म तपाईंहरूलाई सभापतिको नाताले एउटा विशेषाधिकार प्रयोग गर्दै भन्न चाहन्छु—प्रतिनिधिका रूपमा पार्टीले तोकेको ५ हजार रुपैयाँ शुल्कलाई म ऐच्छिक बनाउन चाहन्छु। तिर्न नचाहने साथीहरूले नतिर्दा पनि फरक पर्दैन। त्यसको आवश्यक व्यवस्था पार्टीले गर्नेछ।

किनभने यति धेरै दिन यहाँ बस्दा तपाईंहरूको खर्च धेरै भएको छ। खर्चको जोहो गर्न नसकेर, आर्थिक कठिनाइका कारण मतदान नै नगरी आफ्नो ठाउँ फर्किनुपर्ने अवस्था कसैलाई नआओस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको हो।

जुन साथीहरूले ५ हजार रुपैयाँ बुझाइसक्नुभएको छ, उहाँहरूले चाहनुभयो भने आफूले बुझाएको रकम फिर्ता लिन सक्नुहुनेछ।

म सबै साथीहरूलाई एउटा आग्रह गर्न चाहन्छु—बरु सक्ने साथीहरूले आफ्नो तर्फबाट एक–दुई जना साथीहरूको शुल्क म तिरिदिन्छु भनेर सहयोग गरिदिनुहोस्। हुनेले नहुनेको हात समाउँदै अघि बढौं।

यसबाट एउटा महत्वपूर्ण सन्देश पनि जान्छ। राजनीतिमा प्रायः खुट्टा तान्ने प्रवृत्ति देखिन्छ, तर यस पटक हामी एकअर्काको हात समातेर साथीलाई माथि उठाउने संस्कार निर्माण गरौं। साथीको खुट्टा नतानौं, हात समातौं र भनौं—’साथी, तिम्रो लागि म सहयोग गर्छु।’

र यदि कसैले पनि सहयोग गर्न सक्ने अवस्था छैन भने पार्टीले वैकल्पिक स्रोतको व्यवस्था गर्नेछ। तर तपाईंहरूलाई आर्थिक भार नपरोस् भन्ने उद्देश्यले यो ५ हजार रुपैयाँलाई ऐच्छिक बनाइएको हो।

जसले दिन चाहनुहुन्छ, उहाँहरूले दिन सक्नुहुनेछ। जसले पहिले नै तिरिसक्नुभएको छ र फिर्ता लिन चाहनुहुन्छ भने त्यसको पनि व्यवस्था हुनेछ।

यसका लागि पार्टीको सम्बन्धित जिम्मेवार निकायलाई आवश्यक व्यवस्था गर्न म निर्देशन दिन चाहन्छु।

मलाई लाग्छ, यसले यो पार्टीभित्र कहीँ न कहीँ केही शीतलता ल्याएको होला ।

पार्टीमा यस्ता मात्र होइन, धेरै प्रकारका परिस्थिति सिर्जना हुन सक्छन्। ती सबै परिस्थितिमा पनि हामी एकअर्कासँगै उभिनुपर्नेछ।

अहिले पनि तपाईंहरूलाई कुनै कठिनाइ छ भने भन्नुहोस्। तर यो महाकुम्भ, इतिहासको यो महत्वपूर्ण घडीमा, तपाईंहरू केवल इतिहासको साक्षी मात्र होइन, इतिहास लेख्ने यो महान् कार्यका सहभागी पनि हुनुहुन्छ। त्यसैले तपाईंहरूको मत नछुटोस्, तपाईंहरूको सहभागिता नछुटोस्।

तपाईंहरूलाई यो गर्मीले पनि नरोकियोस् र आर्थिक अवस्थाले पनि रोक्न नसकोस्। त्यसको सुनिश्चितता गर्नका लागि आवश्यक व्यवस्था गर्न म आयोजक साथीहरूलाई निर्देशन दिन चाहन्छु।

यति ठूलो र भव्य आयोजना गर्दा कहीँ न कहीँ, कतै न कतै केही कमजोरीहरू अवश्य पनि हुन सक्छन्। यो प्रक्रियामा पनि हामीलाई कहीँ न कहीँ चित्त नबुझ्ने कुराहरू देखिन सक्छन्। यस्ता घटना र परिस्थिति आउन सक्छन्।

स्वस्थ प्रतिस्पर्धा गर्ने जिम्मेवारी म यहाँहरूलाई दिन चाहन्छु। नामको आधारमा चुम्बकीय रूपमा समूह बनाउने, गुट निर्माण गर्ने वा अस्वस्थ ढंगले मत माग्ने कुनै पनि गतिविधि नगर्नुहोस्। यस विषयलाई अनुशासन आयोग र निर्वाचन आयोगले पनि नजिकबाट हेरिरहेका छन्।

समस्या जहिले पनि आउँछन्। फरक यति मात्र हो—समस्या समाधान गर्ने हाम्रो क्षमता कति छ। समस्या समाधान गर्ने क्षमताले नै एउटा राजनीतिक दललाई परिपक्व राजनीतिक दल बनाउँछ।

हामी परिपक्वतातर्फ अगाडि बढिरहेको राजनीतिक दल हौं । त्यसैले हामीबीच भएका कुनै पनि मनमुटाव, जिज्ञासा वा प्रश्नहरू छन् भने तिनलाई कोठाभित्र बसेर छलफल गरेर समाधान गर्नुपर्छ, सडकको तमासा बनाएर होइन।

मलाई विश्वास छ, यहाँहरूले हाम्रा बीचका छलफलहरूलाई स्वस्थ र स्वच्छ बनाउनुहुनेछ। ती छलफललाई कुनै तमासाको रूपमा सडक वा मैदानमा लैजाने काम गर्नुहुने छैन भन्ने अपेक्षा मैले गरेको छु।

मतभेदहरू छन् भने तिनलाई समाधान गर्ने हाम्रो आफ्नै विशिष्ट शैली छ। रास्वपा आफ्ना सबै मतभेदहरूलाई समाधान गर्न सक्ने पार्टी हो। यसको उदाहरण पनि हामी आफैंले प्रस्तुत गर्नुपर्नेछ।

अन्त्यमा, विभिन्न राजनीतिक लगायतका प्रतिवेदनहरू प्रस्तुत हुनेछन्। आर्थिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदनलगायत अन्य प्रतिवेदनहरूमा यहाँहरूले ध्यानपूर्वक अध्ययन गर्नुहुनेछ। आवश्यक सल्लाह, सुझाव र रचनात्मक आलोचना यहाँहरूबाट अपेक्षित नै छ।

त्यससँगै, पार्टी सभापतिको हैसियतले राजनीतिक प्रतिवेदनको तयारीमा म जुटिरहेको छु। आज राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछु। यसैसँगै मनोनयनको प्रक्रिया पनि अघि बढ्नेछ।

हुन त हाम्रो पहिलो महाधिवेशनलाई राष्ट्रिय सहमतिको महाधिवेशन बनाएर सबैलाई सहमतिका साथ अगाडि बढाउने प्रयास गर्न सकिन्थ्यो होला। त्यस दिशामा प्रयास पनि भइरहेकै छ।

तर त्यो सम्पूर्ण जिम्मेवारी केवल सभापतिको काँधमा मात्र आइपर्दा मेरा लागि त्यो निकै ठूलो भारी हुनेछ।

किनभने आफ्ना प्रिय मित्रहरूमध्ये सबैभन्दा प्रिय को हो भनेर छनोट गर्नु मेरा लागि अत्यन्त चुनौतीपूर्ण विषय हो। म तपाईंहरूबीच कुनै फरक देख्न चाहन्नँ। मेरा लागि यहाँ उपस्थित सबै प्रतिनिधि साथीहरू बराबर हुनुहुन्छ, सँगै हुनुहुन्छ, र मेरो हृदयको नजिक हुनुहुन्छ।

त्यसैले म तपाईंहरूबीच ‘यसलाई छान्ने कि उसलाई छान्ने’ भन्ने छनोटको भूमिकामा रहन चाहन्नँ। त्यसका लागि नै प्रतिस्पर्धा हो, अन्य कुनै उद्देश्यका लागि होइन।

किनकि मलाई थाहा छ,जसले जिते पनि घण्टीवाहकले नै जित्ने हो, नीलो क्रान्तिका योद्धाले नै जित्ने हो। त्यसैले यस प्रक्रियाप्रति म पूर्ण रूपमा निर्धक्क छु।

स्वस्थ प्रतिस्पर्धा गर्ने जिम्मेवारी म यहाँहरूलाई दिन चाहन्छु। नामको आधारमा चुम्बकीय रूपमा समूह बनाउने, गुट निर्माण गर्ने वा अस्वस्थ ढंगले मत माग्ने कुनै पनि गतिविधि नगर्नुहोस्। यस विषयलाई अनुशासन आयोग र निर्वाचन आयोगले पनि नजिकबाट हेरिरहेका छन्।

तर त्योभन्दा पनि ठूलो कुरा—हामीलाई विश्वास गरेर मत दिने ५२ लाखभन्दा बढी नागरिकहरूले हामीलाई हेरिरहेका छन् । उनीहरूको विश्वासका लागि भए पनि कुनै गुट नहोस्, कुनै उपगुट नहोस्, कुनै प्यानल नबनोस् । भित्रभित्रै नाम पठाउने काम नहोस्, फोन–फोनमा नामको सन्देश फैलाउने काम नहोस्।

हामी एक रास्वपा हौं, एक ढिक्का रास्वपा हौं। हामी कुनै गुट होइनौं, कुनै उपगुट होइनौं—हामी केवल रास्वपा हौं, केवल घण्टीवाहक हौं।

यो बसाइ सुखद र सहज रहोस्। यो सम्पूर्ण प्रक्रिया इतिहास निर्माण गर्ने अवसर भएकाले यसमा पूर्ण रूपमा सहभागी हुनुहोस्। एक जना पनि प्रतिनिधिको मत खेर नजाओस्, एक जना पनि मतदान गर्नबाट छुट्नु नपरोस् भन्ने वातावरण बनोस्।

जसले जिते पनि हामी गर्वका साथ अगाडि बढ्नेछौं र सिंगो संसारलाई भन्नेछौं—हेर्नुहोस्, बिना विवाद, स्वस्थ र स्वच्छ प्रतिस्पर्धामार्फत रास्वपाले इतिहास रच्यो।

पहिलो महाधिवेशन हुनु मात्र इतिहास होइन। पहिलो महाधिवेशन स्वस्थ, स्वच्छ र मर्यादित तरिकाले सम्पन्न हुनु, सबैप्रति सद्भाव राख्दै, सबैलाई सम्मानका साथ अगाडि बढेर सम्पन्न गर्नु नै वास्तविक इतिहास हो।

त्यसकारण इतिहास रच्ने यो अवसरलाई यहाँहरूले गुमाउनुहुने छैन भन्ने विश्वास मैले लिएको छु।

फेरि पनि, विषम परिस्थितिमा हिमालका टाकुरादेखि पहाडका चुचुरासम्म, मधेसका फाँटदेखि देशका दुर्गम र सुगम क्षेत्रहरूबाट यहाँ पाल्नु भएका सम्पूर्ण प्रतिनिधि साथीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।

यहाँहरूको यो बसाइ सुखद र सहज रहोस्। यो सम्पूर्ण प्रक्रिया इतिहास निर्माण गर्ने अवसर भएकाले यसमा पूर्ण रूपमा सहभागी हुनुहोस्। एक जना पनि प्रतिनिधिको मत खेर नजाओस्, एक जना पनि मतदान गर्नबाट छुट्नु नपरोस् भन्ने वातावरण बनोस्।

सबै साथीहरू यहाँ बस्नुहोला। कसैलाई कुनै किसिमको असहजता छ भने—आर्थिक कारणले होस्, बसाइको समस्या होस् वा अन्य कुनै कारणले होस्—आयोजकको तर्फबाट र पार्टी सभापतिको तर्फबाट तपाईंहरूलाई सहज बनाउने जिम्मेवारी हाम्रो हो।

तर यदि कुनै साथीलाई यहाँ बस्नै नसक्ने अवस्था आयो, आर्थिक वा अन्य कारणले फर्किनुपर्ने बाध्यता भयो भने कृपया जानकारी गराउनुहोस्। तपाईंलाई त्यो अवस्थाबाट मुक्त गर्न हामी आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछौं। सबैसँग सहकार्य गर्नेछौं, सबैसँग सरसल्लाह गर्नेछौं।

(रास्वपा महाधिवेशनको बन्दसत्रमा रवि लामिछानेले गरेको सम्बोधनको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?