१० असार, काठमाडौं । रास्वपाका केन्द्रीय सदस्य चयनका लागि आज मतदान हुँदैछ । मतदान ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’मार्फत् हुने रास्वपाले जनाएको छ ।
मतदान आज बिहान नौ बजेबाट सुरु गर्ने तयारी छ । तर राति अबेरसम्म मनोनयन दर्ता भएकाले निर्धारित समयमा मतदान सुरु हुने सम्भावना कम रहेको स्रोतले बतायो ।
रास्वपाको सभापति पदमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए ।
केन्द्रीय सदस्यहरु चयन भइसकेपछि पदाधिकारीको निर्वाचन गराउने तयारी छ । रास्वपाको विधानमा सभापति र केन्द्रीय सदस्यहरु टुंगो लागिसकेपछि बल्ल महाधिवेशन प्रतिनिधिहरुले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।
रास्वपाका अनुसार केन्द्रीय सदस्य र पदाधिकारीको मतदान आजै सकाएर आजै नतिजा सार्वजनिक गर्ने तयारी छ ।
रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ । ९ गते नै महाधिवेशन सक्ने भनिए पनि प्राविधिक समस्याका कारण प्रतिनिधि टुंगो लगाउन ढिलाइ हुँदा महाधिवेशन लम्बिएको छ ।
रास्वपा महाधिवेशनमा करिब ४ हजार प्रतिनिधिहरु छन् ।
रास्वपा विधानमा १९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । ९९ जना केन्द्रीय सदस्य निर्वाचनबाट चुनिन्छन् भने ५१ जना केन्द्रीय सदस्यलाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।
प्रतिक्रिया 4