१० असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक व्यक्तित्वहरुलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्द्व तर्फ जाने खतरा हुने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले विभिन्न राजनीतिक व्यक्तित्वहरु माथि धरपकड भइरहेको भन्दै एउटा अपराधी जस्तो व्यवहार गर्न थाले देश समझदारी तर्फ नभइ अन्तरद्वन्द्वतर्फ जाने खतरा हुने बताएका हुन । उनले सरकारले कानुनसम्मत प्रक्रियाहरुलाई अपनाएर र अनुसरण गरेर मात्रै कुनैपनि कदम चाल्नु उचित हुने धारणा राखे ।
त्यस्तै खनालले अपरिपक्क ढंगले संविधान संशोधनको प्रक्रिया अघि बढाए देश दुर्घटनातर्फ जानसक्ने जिकिर गरे ।
‘संविधान बनेको १० बर्ष भएको अवस्थामा संविधान कार्यान्वयनको समिक्षा गरेर मात्रै संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने छ । हचुवाका भरमा संविधान संशोधन गर्ने र बिभिन्न संरचना खारेज गर्ने कार्य उचित हुँदैन,’ खनालले भने ।
अहिले पनि संविधानको भाग ४ लगायत धेरै कुराहरू लागू नै हुन नसकेको भन्दै रास्वपा नेतृत्वको सरकारले यसमा गम्भीर ध्यान पुराउन सुझाव दिए ।
त्यसैगरी पूर्वप्रधानमन्त्री खनालले सीमाका बिषयमा प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्ति आश्चर्यजनक रहेको टिप्पणी पनि गरे ।
खनालले चितवनमा गएर प्रधानमन्त्रीले ‘मेरो राष्ट्रियता माथि शंका गर्नु पर्दैन’ भनेको अवस्थामा संसदमा आएर रेकर्डबाट हटाउन स्वयं प्रधानमन्त्रीले आग्रह गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4