१० असार, काठमाडौं । नेपाल र चीनबीच विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा आपसी सहकार्यलाई अघि बढाउन एक संयुक्त समिति गठन गरिने भएको छ ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा सो सहमति भएको हो ।
भेटमा सन् २०२३ मा दुई देशबीच विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने गरी भएको तर हालसम्म अगाडि बढ्न नसकेको सम्झौतालाई ब्युँताउँदै मूर्त रूप दिन समिति गठन गर्ने विषयमा महत्त्वपूर्ण छलफल भएको मन्त्री महावीर पुनले जनाएका छन् ।
पुनका अनुसार, भेटवार्ताका क्रममा दुई पक्षबीच नेपालमा नवप्रवर्तन (इनोभेसन) केन्द्रहरूको विकास, जैविक प्रविधि (बायोटेक्नोलोजी) को क्षेत्रमा अनुसन्धान, र उच्च हिमाली क्षेत्र तथा हिमाली जडीबुटीहरूको वैज्ञानिक अध्ययन गर्ने विषयमा छलफल भएको छ ।
त्यस्तै, पारिस्थितिकीय प्रणाली (इकोलोजिकल) अनुगमनका लागि उपग्रह (स्याटेलाइट) तथ्याङ्क साझेदारी गर्ने र जलवायु परिवर्तन तथा वातावरणीय अनुसन्धानमा सहकार्य गर्ने विषयमा छलफल भएकाे थियाे ।
एआई र डिजिटल रूपान्तरणमा सँगै काम गर्ने तथा दुवै देशका अनुसन्धानकर्ता एवं वैज्ञानिकहरूको आदानप्रदान र तालिम सञ्चालन गर्ने विषयमा पनि छलफल केन्द्रित भएकाे मन्त्री पुनले बताएका छन् ।
भेटघाटमा चिनियाँ राजदूत माओमिङले चीन सरकारले आफ्नो १५औँ पञ्चवर्षीय योजनामा विज्ञान, प्रविधि र नवप्रवर्तनको विकासका लागि तय गरेका रणनीति र कार्ययोजनाबारे जानकारी गराएका थिए ।
सो योजनाको विस्तृत दस्तावेजको प्रतिलिपि समेत मन्त्रीसमक्ष हस्तान्तरण गरेकाे पुनले बताएका छन् । ‘हामीले सो दस्तावेज बाट पनि केहि कुरा सिक्नेछौं,’ पुनले सामाजिक संजालमा लेखेका छन् ।
प्रतिक्रिया 4