+
+
Shares

पार्टी महाधिवेशनमा ‘नो भोटको धज्जी’ : रास्वपा सांसद खत्री

रास्वपा सांसद खत्रीले फेसबुकमा लेखेका छन्, ‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । NO VOTE को धज्जी ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते ११:४७

११ असार, काठमाडौं । रास्वपाका प्रतिनिधि सभा सदस्य राजीव खत्रीले पार्टी महाधिवेशनमा ‘नो भोटको धज्जी’ उडाइएको टिप्पणी गरेका छन् ।

आफ्नै प्रतिद्वन्द्वीलाई पनि अनिवार्य भोट हाल्नुपर्ने स्थिति रहेको भन्दै उनले मतदान व्यवस्थापनको आलोचना गरेका हुन् ।

२१ फागुनको निर्वाचनमा भक्तपुर २ बाट प्रतिनिधि सभा सांसद चुनिएका खत्रीले फेसबुकमा लेखेका छन्, ‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । NO VOTE को धज्जी ।’

चितवनमा जारी पहिलो महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदान व्यवस्थापनप्रति असन्तुष्टि जनाउने सांसद खत्री एक्ला भने होइनन् ।

केन्द्रीय सदस्यका उम्मेदवार यदु कुमार गिरीले पनि असन्तुष्टि जनाउँदै फेसबुकमा लेखेका छन्, ‘हामी नयाँहरूले आफ्नै प्रतिद्वन्द्वीलाई भोट हालेर चुनाउ लडियो ।’

अर्का एक प्रतिनिधिले ‘नो भोट’ अभियान चलाउने रास्वपाले महाधिवेशनमा मन नलागेका उम्मेदवारलाई भोट नहाल्ने व्यवस्था नगरेको भन्दै असन्तुष्टि जनाए ।

‘राइट टु रिकल भन्ने र नो भोट अभियान चलाउने रास्वपाले महाधिवेशनमा मन नलागेका प्रतिनिधिलाई भोट हाल्न नपाउने व्यवस्था नै गरेन,’ उनले भने, ‘हामीले सोचेका थियौं हामीलाई हाम्रो पार्टी हाँक्न सक्ने उम्मेदवारलाई मतदान गरेर निस्किन्थ्यौँ, खुल्ला तर्फ त झन् ६४ सिटको क्लस्टर नछुटयाउँदा कुन क्लस्टरबाट कति प्रतिनिधिले जित्ने नै अन्यौल भो ।’

पार्टीको बेइज्जत : सांसद रेग्मी

रास्वपाका अर्का सांसद धनञ्जय रेग्मीले पनि महाधिवेशनमा देखिएको लथालिङ्गप्रति इङ्गित गर्दै पदाधिकारीले अन्तर्राष्ट्रिय जगतमा पार्टीको बेइज्जत गरेको टिप्पणी गरेका छन् । ‘जुन हिसाबले मैले गर्वका साथ हाम्रो पार्टी भनिरहेको थिएँ, जुन पदाधिकारी छन्,’ स्याङ्जा १ बाट निर्वाचित सांसद रेग्मीले भने, ‘त्यसले (तिनले) अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय स्वतन्त्र पार्टीको बेइज्जत गरेका छन् ।’

नेतृत्वको विरूद्धमा बोल्न नहुने विषय बोलिरहेको भन्दै रेग्मीले अब आफू निर्वाचनमा पराजित हुने पनि आशंका व्यक्त गरे । ‘यत्ति भनेपछि मलाई थाहा छ, धेरैले मत दिन्नन् । म हारी नै हाल्छु,’ उनले भने, ‘यति बोल्नै नहुने थियो तर, बोली हालियो ।’

सांसद रेग्मीले भरतपुरमा बेथिति देखिएको भन्दै यसरी देश चलाउन नसकिने पनि नेतृत्वलाई स्मरण गराए । ‘यति बेथिति गरेर हामीले देश चलाउन सक्दैनौं है साथीहरू,’ उनले भने, ‘मैले आजै भन्दिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?