+
+
Shares

चिनियाँ तटरक्षकको गतिविधिप्रति पश्चिमा राष्ट्रहरूद्वारा चिन्ता व्यक्त, ताइवानद्वारा धन्यवाद ज्ञापन

ताइवान सरकारले सामुद्रिक मार्गमा निर्वाध आवतजावत वैश्विक व्यापारका लागि अपरिहार्य रहेको कुरामा जोड दिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते १४:०८

११ असार, काठमाडौं । ताइवानको पूर्वी तटमा चिनियाँ कोस्ट गार्ड र अन्य सैन्य गतिविधि बढेको भन्दै अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले गम्भीर चिन्ता व्यक्त गरेपछि ताइवानले ती राष्ट्रहरूलाई धन्यवाद दिएको छ। ताइवान सरकारले सामुद्रिक मार्गमा निर्वाध आवतजावत (फ्रीडम अफ नेभिगेसन) वैश्विक व्यापारका लागि अपरिहार्य रहेको कुरामा जोड दिएको छ।

ताइवानलाई चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको छ। गत जुन महिनाको सुरुमा चीनले ताइवानको पूर्वी तट नजिकैका जलक्षेत्रमा ‘विशेष सामुद्रिक ट्राफिक कानुन–कार्यान्वयन अपरेसन’ सञ्चालन गर्न आफ्ना तटरक्षक जहाजहरू पठाएको थियो । जसप्रति ताइपेईले कडा आपत्ति जनाएको थियो।

जापान र फिलिपिन्सले आफ्नो सामुद्रिक सिमानाबारे औपचारिक वार्ता सुरु गर्ने घोषणा गरेपछि चीनले त्यसको प्रतिक्रियास्वरूप यो कदम चालेको दाबी गरेको छ। बेइजिङले उक्त वार्तामा समेटिने क्षेत्र ताइवान नजिकैको चिनियाँ जलक्षेत्र भएको तर्क गरेको छ। यसका साथै चीनले सोही क्षेत्रमा सामुद्रिक सर्वेक्षण जहाजहरू समेत परिचालन गरिरहेको छ।

ताइवानको राष्ट्रिय सुरक्षा परिषद्का महासचिव जोसेफ वुले सामाजिक सञ्जाल एक्समार्फत चार पश्चिमा देशहरूका वक्तव्यप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। उनले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था, वर्तमान स्थिति (स्टाटस को) एवं क्षेत्रीय शान्ति र स्थिरता सबैको साझा चासोको विषय भएको उल्लेख गर्दै चीनले आफ्नो सामुद्रिक विस्तारवाद रोक्नुपर्ने बताएका छन्।

यस विषयमा चिनियाँ विदेश मन्त्रालयले हालसम्म कुनै टिप्पणी गरेको छैन। चीनले ताइवानको सार्वभौमसत्ताको दाबीलाई अस्वीकार गर्दै टापु र त्यसको वरपरको जलक्षेत्र आफ्नै भूभाग भएको जिकिर गर्दै आएको छ।

यसैबीच, ताइवानको तटरक्षक बल हेर्ने ओसन अफेयर काउन्पसिलले ताइवान जलमार्ग र यस वरपरको क्षेत्रमा सामुद्रिक सुरक्षा विश्वव्यापी व्यापारका लागि महत्त्वपूर्ण रहेको जनाएको छ। परिषद्का अनुसार ताइवानमाथि चीनको सामुद्रिक उत्पीडन र राजनीतिक दबाबले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन मात्र नगरी अन्तर्राष्ट्रिय समुदायको साझा हितमा समेत बाधा पुर्‍याएको छ।

परिषद्की प्रमुख एवं मन्त्री कुआन बि–लिङले आफ्नो फेसबुक पेजमा चीन क्षेत्रीय स्थिरता भङ्ग गर्ने तत्वको रूपमा प्रमाणित भएको लेखेकी छन्। उनले चीनले ताइवानलाई जति बढी उत्पीडन गर्छ, अन्तर्राष्ट्रिय समुदायबाट ताइवानले त्यति नै बढी समर्थन पाउने दाबी गरेकी छन्।

केही समयअघि मन्त्री कुआनले ताइवानको बन्दरगाहमा राखिएको ‘युनलिन कोस्ट गार्ड’ जहाजमा बेलायतकी कार्यवाहक राजदूत रुथ ब्राडली–जोन्सलाई स्वागत गर्दै आपसी सहकार्य र सामुद्रिक सुरक्षाका विषयमा छलफल समेत गरेकी थिइन्। ताइवानले आफ्नो जलक्षेत्र र सार्वभौमसत्तामाथि चीनको कुनै पनि कानुनी अधिकार नभएको स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?