+
+
Shares

म्युजिक खबर ‘म्युजिक अवार्ड’मा सम्मानित हुँदैछन् शम्भुजित बास्कोटादेखि उन्नती बोहरासम्म

संगीतकार शम्भुजित बास्कोटालाई ‘म्युजिक खबर दीर्घ साधना सम्मान–२०८२’ प्रदान गरिने कार्यक्रमकी संयोजक सविता पोखरेलले जानकारी दिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते १३:२०

११ असार, काठमाडौं । म्युजिक खबर म्युजिक अवार्डको १३औँ संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । राजधानीको बालुवाटारस्थित आम्रपाली बैंक्वट एण्ड इभेन्टमा, असार १४ गते हुने अवार्ड समारोहमा प्रतिष्ठित संगीतकार शम्भुजित बास्कोटालाई ‘म्युजिक खबर दीर्घ साधना सम्मान–२०८२’ अर्पण गरिने कार्यक्रमकी संयोजक सविता पोखरेलले जानकारी दिइन् ।

पोखरेलका अनुसार संगीत रत्न शम्भुजित बास्कोटासँगै गीतकार उन्नती बोहरा ‘शीला’, गीतकार विजय शिवाकोटी, गायक शिव परियार, गायिका कालिका रोका, गीतकार पुरुषोत्तम सानु र सुशीला पौडेल, सञ्चारकर्मी कुवेर गिरी र गोपीकृष्ण चापागाई लगायतलाई सम्मान गरिने भएको छ ।

नेपाली गीत–संगीतको उत्थानमा पाँच दशकभन्दा लामो समय अनवरत र अविस्मरणीय साधनाको उच्च कदर गर्दै बहुआयामिक संगीतकर्मी बास्काेटालाई नगद राशि रु ५१ हजार, सम्मानपत्र र दोसल्लासहित ‘म्युजिक खबर दीर्घ साधना सम्मान’ अर्पण गरिने उनले बताइन् ।

त्यस्तै समारोहमा लागि गीति लेखनमा सांगीतिक इतिहास बोकेकी गीतकार उन्नती बोहरा ‘शीला’लाई ‘म्युजिक खबर शब्द शीला विशिष्ट सम्मान अर्पण गरिने उनको भनाइ छ ।

यसैगरी समारोहमा साढे तीन दशकभन्दा बढी समय नेपाली गीत संगीतमा खर्चिएका वरिष्ठ गीतकार विजय शिवाकोटीलाई ‘म्युजिक खबर रजत संगीत सम्मान –२०८२’ सम्मान अर्पण गरिने संयोजक पोखरेलले जानकारी दिइन् ।

त्यस्तै गायक शिव परियार र गायिका कालिका रोकालाई यस वर्षको ‘म्युजिक खबर दशकको संगीत सम्मान’ अर्पण गरिने संयोजक पोखरेलको भनाइ छ । सोही समारोहमा स्रष्टाद्वय सुशीला पौडेल र पुरुषोत्तम सानुलाई ‘म्युजिक खबर दशकको संगीत सम्मान’ अर्पण गरिने पोखरेलले बताइन् ।

त्यसैगरी पत्रकारद्वय कुवेर गिरी र गोपिकृष्ण चापागाईंलाई ‘म्युजिक खबर संगीत पत्रकारिता सम्मान’ अर्पण गरिने उनको भनाई छ । त्यसैगरी गीतकार पुष्पा खनाललाई ‘१३औं म्युजिक खबर म्युजिक अवार्ड २०८२’को अवसर पारेर ‘म्युजिक खबर डायस्पोरा संगीत सम्मान २०८२’ गरिने संयोजक पोखरेलले बताइन् ।

उनका अनुसार अवार्ड समारोहमा बालकलाकार १० वर्षीय युनिश घिमिरेलाई यस वर्षको ‘म्युजिक खबर बालप्रतिभा सम्मान–२०८२’ अर्पण गरिने भएको छ । यस्तै गायक, संगीतकार एवं गीतकार डा. रणजित झालाई समारोहको मञ्चमा ‘म्युजिक खबर संगीतकर्मी सम्मान–२०८२’द्वारा सम्मानित गरिने भएको छ ।

त्यस्तै नेपाली सञ्चार तथा सिर्जनात्मक क्षेत्रको विकास र प्रवद्र्धनमा निरन्तर सक्रिय उदयराज शर्मालाई ‘म्युजिक खबर सञ्चारकर्मी सम्मान–२०८२’ प्रदान गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?