१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीका लागि मतदान सुरु भएको छ ।
पदाधिकारीमा ५ पदका लागि मतदान हुन लागेको हो । सभापति र उपसभापति निर्विरोध निर्वाचित भइसकेको छ ।
उपसभापति, महामन्त्री, सहमहामन्त्री गरेर ५ पदका लागि मतदान हुन लागेको हो । यसैबीच उम्मेदवारी घोषणा गरेका नेताहरूले धमाधम फिर्ता पनि लिइरहेका छन् ।
उपसभापतिमा सोबिता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम सूची अनुसार, महामन्त्रीमा ५ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।
मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिन कुमार आचार्यको नाम अन्तिम सूचीमा छ । यद्यपि रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी गराइसकेकी छिन् ।
निर्वाचन आयोग स्रोतका अनुसार, उनले उम्मेदवारी फिर्ताको घोषणा अन्तिम नामावली घोषणापछि गरेकी हुन् । त्यसकारण उनको उम्मेदवारी भने सूचीमा कायमै रहेको र मत हाल्नका लागि तयार पारिएको विद्युतीय मेसिनमा पनि उनको नाम समावेश भएको छ ।
‘उहाँले अन्तिम सूची सार्वजनिक भइसकेपछिमात्रै फिर्ता लिएको जानकारी गराउनुभयो, त्यही भएर उहाँको नाम महामन्त्रीकै उम्मेदवारको सूचीमा छ,’ निर्वाचन आयोग स्रोतले भन्यो ।
सहमहामन्त्री खुलातर्फ ११ जनाबीच प्रतिस्पर्धा हुँदैछ । सहमहामन्त्री महिलातर्फ भने ५ जनाको प्रतिस्पर्धा छ ।
प्रतिक्रिया 4