News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरका करिम अन्सारीले विगत पाँच वर्षदेखि विराटनगर र बुढीगंगामा विपन्न परिवारका लागि नि:शुल्क मलामी बस सेवा सञ्चालन गर्दै आएका छन् ।
- अत्यन्तै गरिबी र संघर्षपूर्ण बाल्यकाल बिताएका अन्सारीले हालसम्म १ हजार १२ वटा शवलाई घाटसम्म पुर्याएर मानवीय संवेदनाको उदाहरणीय काम गरेका छन् ।
- मासिक करिब एक लाख रुपैयाँ स्व-खर्चमा सञ्चालित यो सेवाका अतिरिक्त उनले मदरसाका विद्यार्थीलाई निःशुल्क यातायात र शैक्षिक सहयोग समेत उपलब्ध गराउँदै आएका छन् ।
१४ असार, विराटनगर । विराटनगरका सडकमा दिनहुँ हजारौं सवारी साधन गुड्छन् । तीमध्ये एउटा बस भने अरूभन्दा फरक छ ।
नम्बर हो, को१ख ५३१४ । यो बसले यात्रु बोक्दैन, टिकट काट्दैन, नाफा–नोक्सानको हिसाब राख्दैन । केवल मृतकका आफन्तका आँखा रसाएका आँसु, मलामीको भिड र शोकले भरिएका परिवारका पीडा बोकेर घाटसम्म पुर्याउँछ ।
यो बसको स्टेयरिङमा छन्, विराटनगर–३ का ३७ वर्षीय करिम अन्सारी । विगत पाँच वर्षदेखि उनले विराटनगर महानगर र छिमेकी पालिका बुढीगंगामा नि:शुल्क मलामी बस सेवा सञ्चालन गर्दै आएका छन् । उनले पाँच वर्ष यता १ हजार १२ शव घाटमा पुर्याएका छन् ।
समाजमा मानवीय संवेदनाको दुर्लभ उदाहरण बनेका करिमको जीवनकथा भने आफैंमा संघर्ष, अभाव र पीडाले भरिएको छ ।
पेटभरि खान नपाएको बाल्यकाल
करिमको बाल्यकाल चरम गरिबीमा बित्यो । उनी सम्झन्छन्, ‘बाल्यकालमा कहिल्यै दुई छाक पेटभरि खान पाएको याद छैन । नयाँ लुगा लगाउने रहर सपना जस्तै थियो । अरूले लगाएर फालेका कपडा सिलाएर लगाउनुपर्ने बाध्यता थियो । आर्थिक अभावका कारण मैले विद्यालयको ढोका पनि धेरै समयसम्म टेक्न पाइनँ । दोस्रो कक्षापछि पढाइ नै छुट्यो ।’
जीवनमा दु:खको अर्को ठूलो बज्रपात त्यतिबेला भयो, जब उनी केवल सात वर्षका थिए । उनकी आमा मुन्नी अन्सारीको आर्थिक अभावका कारण समयमा उपचार हुन सकेन र कोशी अस्पतालमा निधन भयो ।
मजदुरी गरेर परिवार चलाउने बाबु नसिम अन्सारीको कमाइले सात जनाको परिवार धान्न मुस्किल थियो । करिम, उनका दुई भाइ र दुई बहिनीले अरूले दिएको खानाले भोक मेटाउनुपर्थ्यो ।

बाबुको पिटाइपछि घर छाडेका बालक
२०५५ सालमा बाबुको पिटाइ सहन नसकेर १० वर्षको उमेरमै करिम घर छाडेर इटहरी पुगे । तर त्यहाँ न काम थियो, न बस्ने ठाउँ । डेढ महिनासम्म सडक र पाटीपौवामा रात बिताए उनले । यात्रुहरूले दिएको पाँच–दस रुपैयाँले पेट भर्थे । पछि इटहरी–झुम्का चल्ने टेम्पोमा सहचालकको काम पाए । दैनिक ३५ रुपैयाँ ज्याला पाउँथे । त्यसपछि माइक्रोबसमा सहचालक बनेर धरान, धनकुटा र हिलेसम्म पुगे । आम्दानी बढ्दै गयो तर संघर्ष सकिएन ।
केही समयपछि करिम विराटनगर फर्किएर रिक्सा चलाए । त्यसपछि विराटनगर–धरान चल्ने बसमा ७ वर्ष सहचालक भएर काम गरे । यही अवधिमा उनले गाडीको प्राविधिक पक्ष राम्ररी बुझे र केही रकम पनि बचत गर्न सफल भए ।
ऋण गरेर बस किने, सफल व्यवसायी बने
आफ्नै गाडी चलाउने सपना बोकेका करिमले ऋण र बचत जोडेर २०६६ सालमा पहिलो बस किने । बिचौलियाको फन्दामा परेर ३० लाख पर्ने बस ३४ लाखमा किन्नुपरे पनि उनले हिम्मत हारेनन् ।
को१ख ५८५९ नम्बरको बस आफैं चलाउन थाले । मिहिनेतले एक वर्षमै अर्को गाडी थपियो । आज करिमसँग चार वटा बस छन् ।
एउटा घटनाले बदलिदियो जीवनको बाटो
२०७८ साल पुस महिनाको एक चिसो दिन । विराटनगर–१२ का बाबुराम कट्टेलले छिमेकीको मृत्यु भएपछि मलामी लैजान बसको व्यवस्था मिलाइदिन करिमलाई अनुरोध गरे ।
करिम बस लिएर विराटनगरको सिंघिया खोलाको हाटखोला घाट पुगे । अन्त्येष्टि सकिएपछि उनले ७ हजार रुपैयाँ भाडा मागे । तर मृतकको परिवार विपन्न भएकाले बाबुरामले पाँच हजारमै मिलाइदिन आग्रह गरे । त्यो पाँच हजार रुपैयाँ पनि मलामीहरूले चन्दा उठाएर संकलन गरेका थिए ।
उक्त दृश्यले करिमलाई आफ्नो विगतमा फर्कायो । आमाको मृत्यु हुँदा भोगेको पीडा, अभाव र असहायपनको याद आयो । ‘त्यो दिन मैले आफैंलाई सोधेँ– म पनि हिजो यस्तै गरिब थिएँ, आज अल्लाहले केही दिएको छ भने अरूलाई सहयोग किन नगर्ने ?,’ उनी भन्छन् ।
त्यही दिन उनले एउटा अठोट गरे– अबदेखि विराटनगर र बुढीगंगाका विपन्न परिवारलाई अन्तिम संस्कारका लागि नि:शुल्क बस सेवा दिन्छु ।
दिनमा चार पटकसम्म घाट पुग्छ बस
२०७९ साल यता को१ख ५३१४ नम्बरको बस विराटनगरमा नि:शुल्क मलामी सेवा दिइरहेको छ ।
सिंघिया र केसलिया घाटसम्म दैनिक तीन–चार पटकसम्म बस पुग्छ । मृतकका आफन्तलाई घाट पुर्याउने मात्र होइन, अन्त्येष्टि सकिएपछि घरसम्म फर्काउने जिम्मेवारी पनि करिमकै हुन्छ ।
विराटनगर बाहिर चतरा वा इटहरीसम्म जानु परेमा भने इन्धन र खर्च व्यवस्थापनका लागि केही शुल्क लिने गरेका छन् ।

महिनाको एक लाख खर्च, तर सेवा जारी
यो अभियान चलाउन करिमलाई मासिक करिब एक लाख रुपैयाँ खर्च हुन्छ । इन्धन, चालक र कर्मचारीको तलब सबै उनले आफ्नै कमाइबाट व्यवस्थापन गर्छन् ।
केही वर्ष विराटनगर महानगरपालिकाले ३०० लिटर डिजेल सहयोग गरे पनि पछिल्लो ८ महिनादेखि त्यो सुविधा बन्द भएको उनी बताउँछन् । तर सहयोग रोकिए पनि सेवा रोकिएको छैन ।
‘मानिसको दु:खमा साथ दिनु नै सबैभन्दा ठूलो धर्म हो,’ करिम भन्छन् ।

घाटभन्दा बाहिर पनि फैलिएको मानवता
करिमको सेवा मलामी बसमा मात्र सीमित छैन । उनी मुस्लिम समुदायका बालबालिकालाई आफ्नै बसमा राखेर सरौचियाको मदरसासम्म पुर्याउँछन् । आर्थिक अभावका कारण पढाइ छोड्ने अवस्थामा पुगेका एक छात्र र एक छात्रालाई कक्षा १२ सम्म अध्ययनको व्यवस्था मिलाइदिएका छन् ।
सडकमा भोकै भेटिएका मानिसलाई खाना खुवाउने र आवश्यक परे कपडा वितरण गर्ने काम पनि नियमित गर्छन् करिम ।
प्रतिक्रिया 4