१७ असार, गुल्मी । गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयमा स्थानीयस्तरमै उपलब्ध पौष्टिक खाद्यवस्तुको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष ‘पोषिलो चटपटे’ दिवा खाजामा खुवाइएको छ ।
रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कक्षा ५ सम्म अध्ययनरत करिब ६ सय विद्यार्थीलाई पोषिलो चटपटे खुवाइएको हो ।
बालबालिकामा स्वस्थ खानपानको बानी विकास गर्ने, जंक फुडप्रतिको बढ्दो आकर्षण कम गर्ने तथा स्थानीय उत्पादनको उपयोग बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
कार्यक्रममा चना, कमै, केराउ, मासु, आलु, गाजर, काक्रो, सिमी लगायतका पौष्टिक तत्वले भरिपूर्ण खाद्य सामग्री प्रयोग गरी चटपटे तयार गरिएको थियो ।
स्वादसँगै पोषण पनि सुनिश्चित हुने भएकाले विद्यार्थीहरूले चासोका साथ दिवा खाजा ग्रहण गरेका थिए । रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्तीले स्थानीय स्तरमा सहज रूपमा पाइने खाद्यवस्तुबाट पनि पोषणयुक्त परिकार बनाउन सकिने सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताइन् ।
उनले विद्यालय तहदेखि नै सन्तुलित आहारको महत्वबारे जानकारी गराउँदै बालबालिकालाई पोषणयुक्त खानेकुरा खाने बानी बसाल्न आवश्यक रहेको उल्लेख गरिन । यस्ता कार्यक्रमले विद्यार्थी, अभिभावक तथा समुदायमा पनि सकारात्मक सन्देश पुग्ने विश्वास उनको भनाइ छ ।
विद्यालयका शिक्षक यमलाल पाण्डेले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि पोषणयुक्त आहार अत्यन्त आवश्यक रहेको बताए ।

विद्यालयमा सञ्चालन गरिएको यस्तो कार्यक्रमले विद्यार्थीलाई स्वस्थ खानपानप्रति आकर्षित गर्नुका साथै स्थानीय उत्पादनको महत्व बुझाउन सहयोग पुगेको उनको भनाइ छ ।
आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता उनले औंल्याए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि पोषिलो चटपटेको स्वाद मन पराएको प्रतिक्रिया दिएका थिए ।
दैनिक जीवनमा पनि स्थानीय स्तरमै पाइने पौष्टिक खाद्य सामग्रीको प्रयोग बढाउनुपर्ने सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको नगरपालिकाले जनाएको छ ।
रेसुङ्गा नगरपालिकाले पछिल्ला वर्षहरूमा विद्यालयस्तरमा पोषण, स्वास्थ्य तथा सरसफाइसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
यसपटकको ‘पोषिलो चटपटे’ दिवा खाजा कार्यक्रमले बालबालिकामा स्वस्थ खानपानको संस्कृति विकास गर्न, स्थानीय कृषि उत्पादनको प्रयोग बढाउन तथा पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको स्वास्थ्य शाखा प्रमुख घर्तिले बताइन् ।
प्रतिक्रिया 4