+
+
Shares

जेलबाट फरार कैदी चोरीको गाडीसहित पक्राउ

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्ती निवासी २४ वर्षीय विक्रम भनिने चन्द्रबहादुर पाख्रिन रहेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १३:०६
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झुम्का कारागारबाट फरार भएका मकवानपुरका २४ वर्षीय चन्द्रबहादुर पाख्रिनलाई सप्तरी प्रहरीले चोरीको कारसहित पक्राउ गरेको छ।
  • प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिकामा शंकास्पद अवस्थामा फेला परेको सवारी साधनसहित उनलाई नियन्त्रणमा लिएको हो।
  • लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका पाख्रिनको १७ महिना कैद सजाय बाँकी रहेको प्रहरीले जनाएको छ।

१७ असार, सप्तरी । झुम्का कारागारबाट फरार रहेका एक कैदीबन्दी चोरीको कारसहित सप्तरीबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्ती निवासी २४ वर्षीय विक्रम भनिने चन्द्रबहादुर पाख्रिन रहेका छन्।

सप्तरी प्रहरीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित एक होटल अगाडि बा.८च ९४३० नम्बरको कार रोकी राखेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले शंका लागेपछि गाडीको कागजात तथा चालक अनुमतिपत्र माग्दा उनले कुनै पनि कागजात पेस गर्न सकेनन्। त्यसपछि यातायात कार्यालयबाट गाडीको विवरण रुजु गर्दा नम्बर प्लेटसँग इन्जिन र चेसिस नम्बर नमिलेको भेटिएकाले उक्त सवारी चोरीको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पाख्रिनविरुद्ध चोरी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। अनुसन्धान पूरा भएपछि उनलाई बाँकी कैद सजाय भुक्तानका लागि झुम्का कारागार पठाइने तयारी गरिएको छ।

पाख्रिन लागूऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बेला गत २४ भदौमा झुम्का कारागारबाट फरार भएका थिए।

सप्तरीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार पक्राउ परेका पाख्रिनको अझै १७ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?