News Summary
Generated by OK AI. Editorially reviewed.- टेलिभिजन कृषि रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार’ को पहिलो सिजन सम्पन्न भएको छ जसमा लक्ष्मण केसी र समृद्ध भन्तना विजेता घोषित भएका छन् ।
- कृषि, उद्यमशीलता तथा जलवायु परिवर्तनलाई केन्द्रमा राखेर निर्माण गरिएको यस कार्यक्रमको महा-होस्टमा अभिनेता राजेश हमाल रहेका छन् ।
- वृक्षारोपणमा आधारित भोटिङ प्रणालीमार्फत दुई लाख ७० हजारभन्दा बढी बिरुवा रोप्दै शोले वातावरण संरक्षण र कृषि जागरणमा नयाँ अभ्यास सुरु गरेको छ ।
काठमाडौं । टेलिभिजनको कृषि गेम रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार’ (रअ) को पहिलो सिजन सम्पन्न भएको छ । धान दिवसको अवसरमा आयोजित फिनालेमार्फत किसानतर्फ लक्ष्मण केसी र कृषि प्राविधिकतर्फ समृद्ध भन्तना विजेता घोषित भए ।
वृक्षारोपणमा आधारित भोटिङ प्रणालीबाट प्राप्त अंकका आधारमा कृषि प्राविधिक सुमन बिमली ‘रअ क्लाइमेन्ट अवार्ड’ विधाका विजेता बने । शोको महा-होस्टमा अभिनेता राजेश हमाल छन् ।
कृषि, उद्यमशीलता तथा जलवायु परिवर्तनका चुनौतीलाई केन्द्रमा राखेर निर्माण गरिएको यस कार्यक्रमले कृषिलाई सम्मानित पेशा र किसानलाई समाजका अग्रणी व्यक्तित्वका रूपमा स्थापित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा देशका ७७ वटै जिल्लाबाट करिब १,६०० किसान तथा कृषि प्राविधिकको आवेदन परेको थियो । विभिन्न चरणका प्रतिस्पर्धापछि उत्कृष्ट प्रतिस्पर्धी ग्राण्ड फिनालेसम्म पुगेका थिए ।
शैलेश कँडेल क्षेत्रीको परिकल्पना तथा निर्देशनमा सञ्चालन भएको शोले प्रतियोगितासँगै सामाजिक रूपान्तरणका विभिन्न अभियानसमेत सञ्चालन गरेको जनाएको छ ।
जागरण अभियानमार्फत विद्यार्थीलाई कृषिको सम्भावना र अवसरबारे प्रेरित गरिएको, नेतृत्व अभियानमार्फत कृषि विषयलाई नीति निर्माण तहसम्म पुर्याउने प्रयास गरिएको तथा अन्तर्राष्ट्रिय मञ्चमा २७ भन्दा बढी देशका प्रतिनिधिसमक्ष नेपालको कृषि र किसानको आवाज प्रस्तुत गरिएको कार्यक्रमका क्रममा जानकारी दिइयो ।
प्रतिस्पर्धीमार्फत सामाजिक सञ्जालमा प्रत्यक्ष अन्तरक्रिया गर्दै कृषि सचेतना फैलाउने अभियान पनि सञ्चालन गरिएको थियो । रअले वृक्षारोपणमा आधारित भोटिङ प्रणाली लागू गर्दै मतदानलाई वातावरण संरक्षणसँग जोड्ने नयाँ अभ्यासको सुरुवात गरेको जनाएको छ । यस अभियानअन्तर्गत करिब २ लाख ७० हजारभन्दा बढी बिरुवा रोपिएको आयोजकको दाबी छ ।
आयोजकका अनुसार पहिलो सिजनमै रअले कृषि क्षेत्रलाई नयाँ ढंगले प्रस्तुत गर्दै सम्भावित विश्व कीर्तिमानी उपलब्धि हासिल गरेको छ । कार्यक्रमले प्रतिस्पर्धीलाई केवल विजेताका रूपमा नभई कृषि परिवर्तनका अभियन्ताका रूपमा स्थापित गर्ने उद्देश्यलाई प्राथमिकतामा राखेको जनाएको छ ।
विजेता किसान तथा कृषि प्राविधिक दुवैले १३ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् । साथै, किसानतर्फका विजेता लक्ष्मण केसी मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका ब्रान्ड एम्बेसडर समेत बन्ने भएका छन् ।
प्रतिक्रिया 4