+
+
Shares

कार्यकालको अवधि नतोकी सरकारले रेडक्रसको तदर्थ समितिलाई दियो कार्यादेश

नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको समयावधि नतोकी सरकारले कार्यादेश दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १३:४९

१८ असार, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको समयावधि नतोकी सरकारले कार्यादेश दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले विशालकुमार भण्डारीको नेतृत्वमा रहेको नवगठित तदर्थ समितिलाई कार्यकालको अवधि निश्चित नगरी कार्यादेश दिएको छ । सरकारले नयाँ तदर्थ समितिलाई छ वटा कार्यादेश दिएको छ । डिजिटल सदस्यता प्रणाली विकास गरी सो प्रणालीमा सबै सदस्यको अनिवार्य रुपमा सदस्यता दर्ता, नविकरण, अद्यावधिक गराउने व्यवस्था गर्नका लागि कार्यादेश दिइएको छ ।

सदस्यता विस्तारका लागि सामाजिक सञ्जाल समेतका माध्यमबाट राष्ट्रिय सदस्यता अभियान सञ्चालन गर्न भनिएको छ । डिजिटल सदस्यता प्रणालीबाट सदस्यता दर्ता, नविकरण, अद्यावधिक गर्दा मोबाइल नम्बरमा ओटीपी मार्फत प्रमाणीकरण गनुपर्ने कार्यादेशमा उल्लेख छ ।

युवा सहभागिता र प्रतिनिधित्वलाई सुनिश्चित गर्न एकपटक सदस्यता शुल्क छुट दिने व्यवस्था गर्न भनिएको छ । हालको साङ्गठनिक संरचनालाई नेपालको संविधानको सङ्घीय शासकीय व्यवस्था बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहमा पुनःसंरचना गर्नुपर्ने कार्यादेशमा उल्लेख छ ।

प्रचलित कानून बमोजिम नेपाल रेडक्रस सोसाइटीको नयाँ कार्य समिति गठन गर्दा अद्यावधिक सदस्यले उमेदवार हुन र मतदानमा सहभागी हुने गरी देहाय बमोजिम निर्वाचन गर्न÷ गराउन भनिएको छ ।

जेठ २९ गतेको मन्त्रिपरिषद बैठकले भण्डारीको अध्यक्षतामा नेरेसोमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । तदर्थ समितिको महामन्त्रीमा ऋषिरमण खनाल, कोषाध्यक्षमा प्रेमसागर कर्माचार्य नियुक्त भएका छन् । थप सदस्यहरुमा बसन्तकुमार श्रेष्ठ, अविस्मी न्यौपाने, पुष्पा दास, प्रेम लामा, मोहम्मद आयतुल्ला रहमान र मञ्जु साउद (बोहरा) छन् ।

२०७७ सालदेखि नेरेसो तदर्थ समितिमा सञ्चालित छ । यसअघिका सरकारले तदर्थ समिति गठन गर्दा कार्यादेशमा कार्यकालको समयावधि तोक्ने गरेका थिए । संस्थाको अधिवेशन गरेर निर्वाचित समिति ल्याउन यसअघि पटक पटक तदर्थ समिति गठन गरिएपनि अधिवेशन हुन भने सकेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?