१८ असार, काठमाडौं । पर्साको जिल्ला सदरमुकाम वीरगञ्ज शहरको मुख्य सडक विस्तार अन्योलता बारेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग छलफल भएको छ ।
बिहीबार दिउँसो पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तसहित वीरगञ्ज उद्योग वाणिज्य संघको टोलीले लामिछानेसँग यस विषयमा छलफल गरेको हो ।
सभापति लामिछाने निवासमा भएको छलफलमा वीरगञ्जको मेन रोड विस्तार लगायत उद्योगी व्यवसायीहरूको समस्यबारे छलफल भएको सांसद पन्तले जानकारी दिए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष माधव राजपालले वीरगञ्जको मेनरोड विस्तार समस्या, उद्योगी व्यवसायीहरूको अन्य समस्या लगायतबारे विषयगत रूपमा सभापति लामिछाने समक्ष प्रस्तुत गरेका थिए ।
वीरगञ्ज बजार र हेटौंडा बजार त्रिभुवन राजपथ अन्तर्गत नै पर्ने भए पनि सडक विस्तारमा सडक विभागले विभेदको नीति लिएको उनीहरूले बताएका थिए । हेटौंडा बजार क्षेत्रमा २५/२५ गज र वीरगञ्ज क्षेत्रमा २५/२५ मिटर सडक विस्तार गर्ने फैसला अदालतले सुनाएको थियो ।
यसअघि नै मन्त्रिपरिषद् निर्णयले त्रिभुवन राजपथको अलाइमेन्ट नै परिवर्तन गरी परवानीपुर ड्राइपोर्ट कायम गरेको र वीरगञ्ज महानगरपालिकाको नगरपरिषद्ले सडकको दुवै तिर १५/१५ मिटर मात्र भत्काउन सिफारिस गर्ने निर्णयले थप अन्योलता बढाएको बारे सांसद पन्तले सभापति लामिछाने समक्ष राखेका थिए ।
उद्योगी व्यवसायीहरूबाट वीरगञ्जको समस्याबारे जानकारी पाएपछि सभापति लामिछानेले उक्त विषयमा सम्बन्धित मन्त्रीलाई बोलाएर समस्या समाधानको विषयमा कुरा गर्ने बताएको सांसद पन्तले बताए ।
वीरगञ्जको मुख्य बजार सडक विभागले करिब अढाइ महिना अघि डोजर लगाएर भत्काइए पछि त्यहाँ अन्योलता छाएको छ ।
बजारको मुख्य सडकको दुवै तिर निर्माण समग्री र भत्किएका संरचना यत्रतत्र छरिएका कारण वीरगञ्ज बजार अहिले अस्तव्यस्त अवस्थामा छ । भत्किएका घरहरूमै जोखिम मोलेरै व्यवसायीहरूले पसलहरू सञ्चालन गरिरहेका कारण जोखिम बढेर गएको छ ।
१५ दिनअघि मात्रै सडक विभागले भत्काउन बाँकी रहेका सडकका दुवैतर्फका भौतिक संरचना हटाउन सात दिने सूचना जारी गरेको थियो ।
सभापति लामिछानेसँगको भेटमा सांसद पन्तसहित वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष, पूर्वअध्यक्षहरू, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव लगायतका पदाधिकारी सहभागी थिए ।
प्रतिक्रिया 4