२१ असार, काठमाडौं । कृषि विभागले किसानलाई गुणस्तरीय बिउमा सहज पहुँच पुर्याउने उद्देश्यले विभिन्न १८ जिल्लाका ५८ वटा स्थानीय तहमा ‘स्रोत बिउ उत्पादन कार्यक्रम’ सुरु गरेको छ ।
संघीय सरकारको सशर्त वित्तीय हस्तान्तरण कार्यक्रममार्फत उन्नत बिउ उत्पादन गर्न विभागले यो कदम चालेको हो । विभागले यस कार्यक्रमअन्तर्गत ‘हर्दिनाथ–१’ र ‘हर्दिनाथ–३’ वर्णशंकर (हाइब्रिड) जातका धानलाई प्रवर्द्धन गर्ने जनाएको छ ।
साथै, २१ वटा जोन र ५ वटा सुपरजोनमार्फत वर्षे तथा चैते धान खेतीमा यान्त्रिकीकरण र मूल्य शृंखला विकास गरिनेछ । चैते धान खेतीलाई प्रवर्द्धन गर्न किसानलाई विशेष अनुदानसमेत उपलब्ध गराइने विभागको भनाइ छ ।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जलवायु परिवर्तनको असर कम गर्न धानका नयाँ र उत्थानशील जात विकास गर्न लागिएको बताए ।
‘जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन हामीले धान बालीमा उत्थानशील जात विकास गर्दैछौँ,’ महानिर्देशक सञ्जेलले भने, ‘यसका साथै धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी संकलन गर्ने जस्ता प्रविधिको विस्तारमा पनि हाम्रो जोड छ ।’
यसैगरी विभागले यसै वर्षदेखि थप ४ वटा जिल्लामा धानमा आधारित नयाँ परियोजना अघि बढाएको छ । महोत्तरी, सर्लाही, नुवाकोट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का ८ वटा स्थानीय तहमा यो परियोजना सुरु गरिएको विभागले जनाएको छ ।
प्रतिक्रिया 4