२२ असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी एवं संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी ट्रेड युनियन तथा संगठनहरूलाई सरकारी जग्गामा निर्माण गरिएका भवन तथा अन्य संरचना तीन दिनभित्र पूर्ण रूपमा खाली गरी तालाचाबी मन्त्रालयलाई बुझाउन निर्देशन दिएको छ।
मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै नेपाल सरकारद्वारा जारी अध्यादेशमार्फत निजामती कर्मचारीहरूको ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज भएपछि ती संगठनहरूको कानुनी अस्तित्व समाप्त भएको जनाएको छ । ट्रेड युनियनहरूको दर्ता पनि खारेज भइसकेको उल्लेख गरिएको छ।
सूचनाअनुसार, मन्त्रिपरिषद्को पूर्वनिर्णयबमोजिम सरकारी जग्गाको भोगाधिकार प्राप्त गरी भवन तथा अन्य संरचना निर्माण गरेर प्रयोग गर्दै आएका साविकका युनियन तथा संगठनहरूको भोगाधिकार पनि समाप्त भएको छ।
मन्त्रालयले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र भवन तथा अन्य संरचना पूर्ण रूपमा खाली गरी, आवश्यक कागजात, सम्पत्तिको जिम्मेवारी तथा भवनको तालाचाबी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउन निर्देशन दिएको हो । यदि उक्त अवधिभित्र भवन खाली नगरिए वा तालाचाबी नबुझाइए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ।
यो निर्देशन स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ तथा मधेशी स्वास्थ्यकर्मी फोरम नेपाललगायत आठ वटा साविकका संगठनका हकमा लागू हुने मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया 4