+
+
Shares

किन आए एडीबी अध्यक्ष कान्दा नेपाल ?

बंगलादेश र नेपाल दुवैमा युवा आन्दोलनले सत्तापलट गरेपछि निर्वाचन भएर नयाँ सरकार गठन भएको छ । त्यस हिसाबले जनताको नयाँ आकांक्षालाई सम्बोधन गर्न एडीबीले सहयोग गर्छ भन्ने सन्देश दिनु उनको उद्देश्य हुन सक्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते २२:००

२२ असार, काठमाडौं । दुई महिनाअघि उज्बेकिस्तानको समरकन्दमा भएको एसियाली विकास बैंकको ५९ औं वार्षिक वार्षिक सम्मेलनका क्रममा अध्यक्ष मासातो कान्दाले भनेका थिए, ‘नेपालको नयाँ सरकारलाई सहयोग गर्ने विषयमा हामी उत्साहित छौं, नेपालको भविष्य राम्रो बनाउन कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल सुरु गरिसकेका छौं ।’

नेपालमा नयाँ राजनीतिक परिदृश्य निर्माण भएको सन्दर्भमा एडीबीको रणनीति कस्तो हुन्छ भनने अनलाइनखबरको प्रश्नमा उनले यस्तो बताएका थिए । सम्मेलनकै क्रममा एडीबीका केही अधिकारीहरुले अध्यक्ष कान्दाको नेपाल भ्रमणको तयारी भइरहेको जानकारी दिएका थिए । त्यसबेलासम्म सम्भवतः प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटघाटका लागि समय नमिलिसकेका कारण भ्रमणको मिति भने तय भएको थिए ।

एडीबीको वार्षिक सम्मेलन सकिए लगत्तै अध्यक्ष कान्दाले छिमेकी राष्ट्र बंगलादेशको भ्रमण गरे । सो भ्रमणलाई बंगलादेशले निकै महत्त्व दियो । बंगलादेशका अर्थमन्त्री अमिर खोस्रु महमुद चौधरीले उनलाई विमानस्थलमै पुगेर स्वागत गरेका थिए । उनको बंगलादेश भ्रमणका क्रममा १ अर्ब ४० करोड अमेरिकी डलरको सहयोगमा हस्ताक्षर नै भयो भने कुल ५ अर्ब डलरको सहयोगको घोषणा भयो । वास्तवमा यो सहयोग एडीबीले कुनै पनि देशको सहयोगमा सबैभन्दा ठूलोमध्येको थियो ।

बंगलादेशपछि उनले औपचारिक भ्रमण गरेको दोस्रो मुलुक नेपाल हो । यी दुई देशको भ्रमणको एउटा समान विशेषता पनि छ । बंगलादेश र नेपाल दुवैमा युवा आन्दोलनले सत्तापलट गरेपछि निर्वाचन भएर नयाँ सरकार गठन भएको छ । त्यस हिसाबले जनताको नयाँ आकांक्षालाई सम्बोधन गर्न एडीबीले सहयोग गर्छ भन्ने सन्देश दिनु उनको उद्देश्य हुन सक्छ ।

बालेन्द्र शाह नयाँ प्रधानमन्त्री भएलगत्तै एक्समा बधाई सन्देश दिँदै उनले नेपालको विकासका प्राथमिकताहरूमा एडीबीले निरन्तर सहयोग गर्ने बताएका थिए ।

सोही क्रममा कान्डा दुई दिने भ्रमणका लागि नेपाल आई पुगेका हुन् । आइतबार राती १० बजे काठमाडौं आइपुगेका अध्यक्ष कान्डालाई अर्थसचिव घनश्याम उपाध्यायले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

सोमबार र मंगलवार नेपालमा रहने अध्यक्ष कान्डाले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलवार बिहान भेट गर्नेछन् । बंगलादेशका प्रधानमन्त्री तारिक अहमदसँगको भेटमा अध्यक्ष कान्दाले ५ अर्ब डलरको प्याकेज घोषणा गरेका थिए । नेपालका प्रधानमन्त्री शाहसँगको भेटमा त्यस्तो कुनै प्याकेज घोषणा हुने नहुने बारे केही खुलेको छैन । शाह प्रधानमन्त्री भएपछि पहिलोपटक विदेशी पाहुनासँग भेटघाट गर्न लागेका हुन् । संसारकै ठूलो बहुपक्षीय बैंक एसियाली विकास बैंकका अध्यक्षलाई सरकार प्रमुख सरहको मर्यादा दिने गरिएको छ ।

त्यसअघि उनले सोमबार नै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटघाट गरेका छन् । त्यसक्रममा करिब २५ अर्ब रुपैयाँ बराबरको दुई नयाँ सहयोग परियोजनामा एडीबीका नेपाल निर्देशक आर्नो कोस्वाँ र अर्थसचिव उपाध्यायबीच हस्ताक्षर भएको छ ।

त्यसमध्ये पहिलो परियोजना भन्सार प्रशासनलाई आधुनिकीकरण, व्यापार प्रवर्द्धन र रोजगारी सिर्जनाको लक्ष्यसहित ५ करोड अमेरिकी डलरको रहेको छ । दोस्रो चाहिँ खानेपानी तथा ढल व्यवस्थापनसँग सम्बन्धित आयोजना परियोजनाका लागि ११ करोड ५० लाख डलरको छ ।

त्यसबाहेक पनि एडीबी अध्यक्ष कान्दाको सोमबारको तालिका निकै व्यस्त रहेको थियो । उनले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसँग संयुक्त रूपमा २ वटा विद्युतीय सब स्टेसनको उद्घाटन गरे । उनीहरूले भर्चुअल रूपमा मार्कीचोक र मुलपानी सब स्टेसनको उद्घाटन गरेका हुन् । दुई सब स्टेसन सञ्चालनमा आएपछि काठमाडौं उपत्यकासहित उच्च विद्युत् माग भएका प्रमुख क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय बन्ने विश्वास व्यक्त गरिएको छ ।

वितरण प्रणालीको क्षमता वृद्धि, विद्युत् आपूर्तिको स्थायित्व तथा प्रणालीको विश्वसनीयता अभिवृद्धिमा पनि यसले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास अध्यक्ष कान्दाले गरेका छन् । साथै, अध्यक्ष कान्दाले नेपाल विद्युत् प्राधिकरणको वितरण कमान्ड तथा कन्ट्रोल सेन्टर तथा एडीबीको वित्तीय सहयोगमा निर्माण गरिएको डाटा सेन्टरको अवलोकन समेत गरेका थिए ।

त्यस्तै, उनले सोमबार दिउँसो काठमाडौंको विश्व निकेतन माध्यमिक विद्यालयको अवलोकन गरेका थिए । शिक्षामन्त्री सस्मित पोखरेलसँगै विद्यालय पुगेका उनले एआई साक्षरता तथा शिक्षकहरूको डिजिटल सीप बढाउने कार्यक्रम पनि उद्घाटन गरेका थिए ।

नेपाल एउटा निर्णायक घडीमा रहेको बखत खाफू काठमाडौं आई पुगेको अध्यक्ष कान्दाले बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नेपालले पटक पटक दोहोरिइरहेका धक्काहरू र ठूलो परिवर्तनका बेलामा असाधारण उत्थानशीलता देखाएको छ । ३ अर्ब ९० करोड सक्रिय लगानी रहेको नेपालकै सबैभन्दा ठूलो विकास साझेदारको रूपमा  हामीले यो उत्थानशीलतालाई दीर्घकालीन प्रगतिको रूपमा परिणत गर्न, थप अवसरहरू सृजना गर्न तथा दीर्घकालीन आर्थिक वृद्धिका आधार तयार गर्न नेपाललाई सहयोग गर्नेछौं ।’

नेपालले नयाँ अध्याय सुरु गर्दै गरेको अवस्थामा त्यसमा नेपालाई कसरी सहयोग गर्न सकिन्छ भनेर आफूले छलफल गर्ने पनि उनले बताए ।

‘नेपालको नयाँ सरकारले आफ्ना प्राथमिकताहरू तय गर्दै छ, यो भ्रमणलाई मैले विगत ६ दशकभन्दा लामो साझेदारीका अनुभवका आधारमा देशको अर्को अध्यायलाई एडीबीले कसरी सक्छ भन्ने विषयमा सुन्ने, सिक्ने र छलफल गर्ने अवसरका रूपमा लिएको छु ।’

१० वर्षअघि सन् २०२६ मा एडीबीका तत्कालीन अध्यक्ष ताकेहितो नाकाओले नेपालको भ्रमण गरेका थिए । त्यसपछि नेपालको भ्रमण गर्ने कान्डा पहिलो एडीबी अध्यक्ष हुन् । सन् १९६६ मा स्थापना भएको एडीबीको नेपाल संस्थापक सदस्य हो । नेपालले बैंक स्थापना भएको दुई वर्षपछि सन् १९६८ बाट सहयोग लिन थालेको हो । सन् १९६८ मा नेपालले पहिलोपटक प्राविधिक सहायता लिएको थियो भने सन् १९६९ मा ६० लाख डलरको सहुलियतपूर्ण ऋण लिएको थियो । त्यसपछि नेपालले निरन्तर रूपमा एडीबीको सहयोग लिइरहेको छ । एडीबी नेपालको सबैभन्दा ठूलो विकास साझेदार हो । अहिले एडिबी सहयोगका करिब ४ अर्ब डलर (करिब ६ खर्ब रुपैयाँ बराबर)का परियोजनाहरू सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?