+
+
Shares

नेपाली रूट्स समिट : डायस्पोराको ज्ञान र लगानी नेपालसँग जोड्न बहस

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते ७:०१

२३ असार, बार्सिलोना । जर्मनी तथा युरोपमा रहेका नेपाली उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी र विभिन्न पेशामा आबद्ध नेपालीबीच सञ्जाल विस्तार गर्दै उनीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको विकाससँग जोड्ने उद्देश्यले आयोजित दोस्रो ‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न भएको छ ।

नेपाली रूट्स इभी को आयोजनामा सम्पन्न समिटमा जर्मनीका विभिन्न सहरबाट ९६ जना नेपाली सहभागी भएका थिए। कार्यक्रममा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, एआई तथा डायस्पोरा नेतृत्वलगायत समसामयिक विषयमा छलफल गरिएको थियो।समिटको अध्यक्षता संस्थाका अध्यक्ष डा. कृतन गौतम ले गरेका थिए।

जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत सागरप्रसाद फुयाँल ले नेपाली डायस्पोराको ज्ञान, सीप र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्नुपर्ने आवश्यकता औंल्याए। उनले सरकारले परम्परागत कूटनीतिसँगै आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्दै पर्यटन, व्यापार, उद्योग, ऊर्जा, सूचना प्रविधि, वाणिज्य र नवप्रवर्तनका क्षेत्रमा डायस्पोराको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने बताए।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीका अध्यक्ष लोकमणि ढकाल ले नेपाली रूट्स र एनआरएनएबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नयाँ पुस्ताको सोच र आवश्यकताबाट सिक्दै अघि बढ्नुपर्ने धारणा राखे।

संस्थाका सचिव जितेन्द्र कसौधन ले सहभागीलाई स्वागत गर्दै ‘नेपाली रूट्स जर्नल’ सार्वजनिक गरेका थिए। उनले विश्वभर फैलिएको नेपाली डायस्पोराले विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनीहरूबीच व्यावसायिक सहकार्य, ज्ञान आदानप्रदान तथा नेपालसँग दीर्घकालीन सम्बन्ध विस्तार गर्न यस्तो मञ्च उपयोगी हुने विश्वास व्यक्त गरे।

समिटका विभिन्न सत्रमा सहभागी विज्ञहरूले व्यक्तिगत उपलब्धिलाई सामूहिक प्रभावमा रूपान्तरण गर्न बलियो व्यावसायिक सञ्जाल, मेन्टरशिप र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। उनीहरूले नेपाली डायस्पोराको भूमिका केवल रेमिट्यान्समा सीमित नरही ज्ञान, अनुसन्धान, प्रविधि, नवप्रवर्तन, उद्यमशीलता र विश्वव्यापी सञ्जालमार्फत नेपालको विकासमा महत्वपूर्ण योगदान दिन सक्ने धारणा राखे।

छलफलका क्रममा नेपाल सरकारबाट रिमोट भोटिङ, प्रवासी नेपाली नागरिकता तथा डायस्पोरा फन्डको प्रभावकारी परिचालनजस्ता नीतिगत पहल आवश्यक रहेको विषय पनि उठाइएको थियो। साथै, नेपालमा उद्यमशीलताको ठूलो सम्भावना रहेको उल्लेख गर्दै त्यसको विकासका लागि सरकार र डायस्पोराबीच सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

आयोजक संस्थाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै विश्वभर रहेका नेपालीलाई एउटै व्यावसायिक र बौद्धिक सञ्जालमा आबद्ध गराउने तथा नेपालसँग अर्थपूर्ण सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?