+
+
Shares

सांसदहरूले कोट, इस्टकोट वा सांस्कृतिक पोशाक लगाउनुपर्ने

संसद् जाँदा सांसदहरूले कोट, इस्टकोट वा सांस्कृतिक पोशाक लगाउनुपर्ने गरी प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिमा छलफल भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १९:३७

२३ असार, काठमाडौँ । संसद् जाँदा सांसदहरूले कोट, इस्टकोट वा सांस्कृतिक पोशाक लगाउनुपर्ने गरी प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिमा छलफल भएको छ ।

कार्य व्यवस्था परामर्श समितिको बैठक मंगलबार सिंहदरबारमा बसेको थियो । कार्यव्यवस्था परामर्श समितिका सदस्यहरूका अनुसार उक्त बैठकमा चार विषयमा छलफल भएको थियो ।

पहिलो : संसद्को निरन्तर अवरोध,

दोस्रो : संसद्‌मा उठेका प्रश्नको जवाफ,

तेस्रो : सांसद्को ड्रेस कोड,

चौथो : संसदीय क्यालेन्डर ।

१७ जेठका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए ।

त्यसक्रममा उनले सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएको भनेर विपक्षी दलहरूले जवाफ माग गर्दै आएका छन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा विपक्षी दलहरूले यो विषय कहिलेसम्म लम्बिने हो ? भनेर प्रश्न गरे । सरकारले जवाफ दिएर निकास दिनुपर्ने आग्रह गरे ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले यो विषयमा निकास निकाल्ने गरी भूमिका खेल्न सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई भनेका छन् ।

साथै कार्यव्यवस्था परामर्श समितिको बैठकमा शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्ने प्रावधान कार्यान्वयनको विषय उठ्यो । प्रतिनिधिसभा नियमावली अनुसार संसद्मा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले सात दिन भित्र दिनुपर्ने हुन्छ ।

यो विषयमा पनि सरकार गम्भीर नभएको भनेर प्रश्न उठ्दै आएको छ ।

साथै, कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसदहरूको ड्रेस कोडको विषयमा समेत छलफल भएको नेताहरूले बताएका छन् ।

‘संसद् बैठकमा जाँदा कम्तीमा कोट, स्टकोट वा सांस्कृति पोशाक लगाउनुपर्ने र लोगो अनिवार्य गर्नुपर्ने विषय उठेको हो’ एक सांसदले भने, ‘ड्रेस कोडको विषय न्यूनतम विषय हो । यसबारे पार्टीहरूले पनि ख्याल गर्नुपर्ने भन्ने भएको छ ।’

साथै, संसद्को क्यालेन्डर समयमै ल्याउनुपर्ने विषय पनि उठेको छ । संसदीय क्यालेन्डरको अभ्यास हुँदै आएको छ । ढिलो गरी क्यालेन्डर आउँदा सांसदहरूलाई समय व्यवस्थापनमा कठिनाइ हुने भनेर यसबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?