२३ असार, काठमाडौं । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले सार्वजनिक लेखा समिति आर्थिक अनुशासन कायम गर्ने र अनियमितता नियन्त्रण गर्ने महत्त्वपूर्ण समिति भएपनि यसको गतिविधि सुस्त रहेको टिप्पणी गरेका छन् ।
मंगलबार समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
साथै, उनले समितिलाई थप सक्रिय बनाउँदै नियमित बैठक, बेरुजु फर्स्यौट, प्राप्त उजुरीमाथि छानबिन तथा राष्ट्रिय महत्वका विषयमा अनुगमनलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।
‘खार्वजानिक लेखा समिति आर्थिक अनुशासन कायम गर्न र अनियमितता नियन्त्रण गर्ने महत्त्वपूर्ण समिति हो । तर यसको गतिविधि अलि सुस्त भएको छ । यो धेरै सक्रिय हुनुपर्ने समिति हो । सुस्त रहेको यो समितिको गतिविधिलाई हामीले सक्रिय रुपमा अगाडी बढाउनुपर्छ,’ सांसद ठगुन्नाले भने ।
आवश्यकताअनुसार उपसमिति गठन गरेर समितिको कार्यक्षेत्रभित्र पर्ने महत्वपूर्ण विषयमा छानबिन तथा कारबाही सिफारिसका कामलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाई छ ।
‘समितिमा प्राप्त उजुरी र समितिको कार्यक्षेत्र भित्र पर्ने महत्त्वपूर्ण विषयहरू छन्, यसमाथी पनि हामीले छलफल गर्ने, अनुगमन गर्ने लगायतका काममा उपसमिति गठन गरेर तीव्रता दिनुपर्छ,’ उनले भने, ‘नियमित बैठक बसेर बेरुजुमा पनि घनिभुत रुपमा काम गर्नुपर्छ, प्राप्त उजुरी र अरु राष्ट्रियस्तरमा उठेका महत्त्वपूर्ण विषयमा पनि समितिले छानबिन र कारबाही सिफारिसका कामहरू गर्नुपर्छ ।’
प्रतिक्रिया 4