+
+
Shares

संखुवासभामा अभिलेख जलेका ८६२ जग्गाधनीलाई २४ वर्षपछि लालपुर्जा वितरण

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते १७:००

२४ असार, संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१० खराङमा द्वन्द्वकालमा अभिलेख जलेका ८ सय ६२ जना जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ ।

१४ वैशाख २०५९ सालमा तत्कालीन माओवादी द्वन्द्वका क्रममा चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा आगजनी हुँदा जिल्लाका चार स्थानीय तहका दर्ता स्रेस्ता (मोठ) तथा अन्य महत्त्वपूर्ण अभिलेख जलेर नष्ट भएका थिए ।

चैनपुरमा रहेको नापी तथा मालपोत कार्यालय आगजनीबाट अभिलेख नष्ट भएका ८ सय ६२ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो ।

द्वन्द्वकालमा अभिलेख जलेर नष्ट भएका चैनपुर नगरपालिका–१० का उनीहरूलाई जग्गाधनीका लागि आवश्यक नापनक्सा तथा कानुनी प्रक्रिया पूरा भएपछि लालपुर्जा वितरण गरिएको विशेष नापी कार्यालय चैनपुरका प्रमुख हरिशरण नेपालले बताए ।

द्वन्द्वकालमा आगजनीबाट नष्ट भएका लालपुर्जा करिब २४ वर्षपछि स्थानीयले पाएका छन् ।

आगजनी गर्दा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता स्रेस्ता लगायतका महत्त्वपूर्ण कागज पत्र नष्ट भएका थिए ।

चैनपुर–१० का लालपुर्जा एक हजार १ सय ५१ हेक्टर निजी र सरकारी कित्ताका ८ सय ४० हेक्टर जग्गाको नाजजाँच सकेर लालपुर्जा वितरण गरिएको विशेष नापी प्रमुख नेपालले बताइ ।

लालपुर्जा प्राप्त गरेपछि जग्गाको किनबेच, बैंकिङ कारोबार, घर निर्माण तथा अन्य प्रशासनिक काममा सहजता भएको छ ।

२०७६ माघ १३ को मन्त्रिपरिषद्को निर्णयले पुनः नापजाँच गरी सोको पुनःस्थापना गर्नका लागि विशेष नापी कार्यालय चैनपुर स्थापना गरिएको हो ।

हाल यस कार्यालयअन्तर्गत २ वटा नापी टोलीमार्फत चैनपुर नगरपालिका क्षेत्रमा नाप नक्सा तथा जग्गा दर्ताको कार्य भइरहेको छ ।

चैनपुर नगरको ३,५, ७, ८, ९, १० र ११ मा नापनक्सा सकिएको विशेष नापी कार्यालय चैनपुरले जनाएको छ । यस मध्ये ८,९ र १० वडाको लालपुर्जा समेत वितरण भइसकेको छ । नपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिका सहित चार स्थानीय तहको ६४ हजार हेक्टर क्षेत्रमा २ टोलीबाट नापी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?