+
+
Shares

काठमाडौं महानगरले सञ्चालनमा ल्यायो खाद्य प्रयोगशाला

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते २०:०६

२४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउन माइक्रोबायोलोजी प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ ।

काठमाडौं प्लाजामा स्थापना गरेको ल्याबको बुधबारबाट सञ्चालनमा ल्याइएको हो ।

काठमाडौं महानगरपालिकी कार्यवाहक प्रमुख सुनिता ढंगालले एक कार्यक्रमका बीच ल्याव सञ्चालनको शुभारम्भ गरेकी थिइन् ।

महानगरले आफ्नै प्रयोगशाला स्थापना गरेसँगै खाद्य नमुनाको परीक्षण छिटो हुने र बजार अनुगमनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने कार्यवाहक प्रमुख  ढंगोलले बताइन् । ल्याब नहुँदा बजार अनुगमनका क्रममा खाद्य वस्तुहरूको प्रयोगशाला परीक्षणमा समस्या भोग्नुपरेपछि आफैले ल्याव सञ्चालनमा ल्याएको जानकारी दिइन् ।

‘काठमाडौं महानगरपालिकाले धेरै पहिलेदेखि नै माईक्रो वायोलजी ल्याव स्थापना गर्ने प्रयास गरेका थियौं, यो आज स्थापना गरेका छौं । हामीले बजार अनुगमनलाई निरन्तरता दिएका छौँ, अनुगमनको क्रममा धेरै समस्याहरु देखिने गरेका छन् । अनुगमनको क्रममा कतिपय वस्तुहरुको ल्याब टेस्टमा पठाउनुपर्ने हुन्छ, कतिपयमा दण्ड जरिवाना पनि गर्नुपर्ने हुन्छ,’ उनले भनिन् ।

यसअघि आफ्नै ल्याव नहुँदा परीक्षण प्रतिवेदन आउन ढिलाइ हुँदा अनुुगमन प्रभावकारी हुन नसकेको उनको भनाइ छ । आफ्नै प्रयोगशालाबाट प्रारम्भिक परीक्षण गर्न सकिने भएकाले अनुगमनलाई तिब्र र प्रभावकारी बनाउन सहज हुने उनले बताइन् ।

‘हामी बजार अनुगमनमा जाँदा नमुना परिक्षणको लागी आफ्नै ल्याब हुँदा धेरै सहज हुनेछ, यसले अनुगमनलाई तिव्रता दिन सहज बनाउने र अनुगमन प्रभावकारी पनि बनाउने छ । महानगरपालिकाले दण्ड जरिवाना मात्रै गर्दैन, हामीले व्यवासायीहरुलाई खाद्य सुरक्षाको बारेमा पनि जानकारी दिनेछौं,’ उनले भनिन्, ‘हामीले फुड सेफ्टी बुट क्याम्प पनि गर्ने गरेका छौं, हालसम्म ३ हजार भन्दा बढी व्यवसायीहरुलाई फुड सेफ्टी बुट क्याम्पमा राखेर खाद्य सुरक्षाको बारेमा जानकारी गराएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?