२५ असार, सिरहा । मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले पानी जीवनको आधार भएको बताउँदै प्रत्येक विद्यार्थीले शुद्ध पिउने पानी पाउनुपर्ने बताएका छन् ।
सिरहाको गोलबजार नगरपालिका–११ मा रहेको जनता माध्यमिक विद्यालय, बलकावामा जडान गरिएको पिउने पानी उपचार प्लान्टको उद्घाटन गर्दै मन्त्रत्री सिंहले शुद्ध पानी पाउनु सबै विद्यार्थीको मौलिक अधिकार भएको बताएका हुन् ।
सबै विद्यालयमा उचित पिउने पानीको व्यवस्था नहुँदा विद्यार्थीमा विभिन्न रोग लाग्ने जोखिम रहने पनि उनले बताए । मधेशका सबै विद्यालयमा सुरक्षित पानीको व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ छ ।
यो विद्यालयमा हेल्पिक हार्टले पानी उपचार प्लान्ट तथा धारा जडान गरेपछि बिहीबार उद्घाटन गरिएको हो । यसका लागि सात लाख रुपैयाँ लगानी भएको संस्थाले जनाएको छ ।
गोलबहादुर-११ का वडाअध्यक्ष मोहम्मद सोहेव अनवरले यहाँको पानीमा अत्यधिक मात्रामा आइरन रहेको बताउँदै विद्यार्थीहरू लामो समयदेखि त्यही पानी पिउन बाध्य भएको बताए । अहिले विद्यालयमा उपचार प्लान्ट तथा धारा जडान भएपछि विद्यार्थी पनि खुसी देखिएको उनले बताए ।
प्रतिक्रिया 4