+
+
Shares

घरदेखि विद्यालयसम्म गुणस्तरीय शिक्षा सुधारको अभियान

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ असार १६ गते ८:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुमको छथर गाउँपालिकामा बालबालिकाको सिकाइमा अभिभावकको भूमिका र सहभागिता बढाउन विशेष अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ।
  • छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले भने, 'अभिभावकहरुले दैनिक रुपमा गर्दै आएको मेहनत र सिकाई केन्द्रले गरेको कार्यक्रमले थप अभीभावकहरु जिम्मेवार बनेका छन्।'
  • शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ओमप्रकाश राईले बालबालिकाको सिकाइमा अभिभावकको सहभागिता बिना गुणस्तरीय शिक्षाको लक्ष्य हासिल गर्न कठिन हुने बताउनुभयो।

१६असार, तेह्रथुम । बिहान विद्यालय जाने तयारी गर्दै गरेका छोराछोरीलाई हतारमा खाना खुवाएर विद्यालय पठाउनु अधिकांश अभिभावकको दैनिक जिम्मेवारी हो । तर, विद्यालय पुगेपछि उनीहरूले के सिके, गृहकार्य गरे कि गरेनन, पढाइमा कस्तो प्रगति भइरहेको छ भन्ने विषयमा चासो राख्ने अभिभावकको संख्या ग्रामीण क्षेत्रमा अझै सीमित छ ।

धेरै अभिभावकले बालबालिकालाई विद्यालयमा भर्ना गरिदिएपछि शिक्षाको सम्पूर्ण जिम्मेवारी विद्यालय र शिक्षकको मात्र हो भन्ने सोच राख्दै आएका छन्

यही सोचका कारण कतिपय विद्यार्थी नियमित विद्यालय नआउने, गृहकार्य नगर्ने तथा सिकाइ उपलब्धि कमजोर हुने समस्या देखिंदै आएको छ ।

शिक्षाको गुणस्तर सुधारका लागि विद्यालयले मात्र प्रयास गरेर नपुग्ने निष्कर्षसहित छथर गाउँपालिका ४ मा रहेको तमोर सामुदायिक सिकाई केन्द्रले गतबर्षदेखी अभिभावकलाई पनि शिक्षाको प्रक्रियामा प्रत्यक्ष सहभागी गराउने अभियान सञ्चालन गर्दै आएको छ ।

यसै अभियान अन्तर्गत छथर गाउँपालिका वडा नं.३ र ४ मा रहेका माध्यमिक विद्यालयमा ‘सिकाइमा सहभागिता र गुणस्तरका लागि अभिभावकको भूमिका’ विषयक अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

छथर गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको सहयोग तथा तमोर सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा व्यवस्थापनमा सञ्चालन गरिएको कार्यक्रमले अभिभावकलाई शिक्षाको सक्रिय साझेदार बनाउने प्रयास गरेको छ ।

गाउँपालिकाले शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन सरकारी कर्मचारी र जनप्रतिनिधीहरुको बालबालिका अनिवार्य सामुदायिक बिद्यालय पढाउनु पर्ने निती लागु गर्दै आएको छ । अभीभावकहरुले दैनिक रुपमा गर्दै आएको मेहनत र सिकाई केन्द्रले गरेको कार्यक्रमले थप अभीभावकहरु जिम्मेवार बनेको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए ।

केही वर्षअघिसम्म विद्यालय र अभिभावकबीचको सम्बन्ध औपचारिकतामा सीमित थियो । अभिभावकहरू विद्यालयमा भर्ना, परीक्षा नतिजा वा विशेष कार्यक्रममा मात्र सहभागी हुने गर्थे ।

बालबालिकाको दैनिक सिकाइ प्रक्रिया, विद्यालय उपस्थिति र व्यवहारगत विकासप्रति उनीहरूको सक्रिय चासो कम देखिन्थ्यो । छथर गाउँपालिका–४ का वडाध्यक्ष पुष्पबहादुर कार्कीका अनुसार यस्ता कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउन थालेको छ ।

उनी भन्छन् , ‘पहिले धेरै अभिभावकले बालबालिकालाई विद्यालय पठाएपछि आफ्नो जिम्मेवारी पूरा भयो भन्ने सोच राख्नुहुन्थ्यो । तर अहिले विस्तारै त्यो सोच बदलिँदै गएको छ । अभिभावकहरू आफ्ना छोराछोरीको पढाइ, विद्यालय उपस्थिती र व्यवहारप्रति चासो दिन थालेका छन् ।’ बालबालिकाले दिनको सीमित समय मात्र विद्यालयमा बिताउँछन् । उनीहरूको अधिकांश समय परिवार र समुदायमै बित्ने भएकाले सिकाइमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।

यही विषयलाई केन्द्रमा राखेर अनुशिक्षण कार्यक्रममा अभिभावकको जिम्मेवारी, घरमा सिकाइको वातावरण निर्माण, बालबालिकाको मनोविज्ञान, सकारात्मक अनुशासन, विद्यालय र अभिभावकबीचको सहकार्य तथा गुणस्तरीय शिक्षामा परिवारको भूमिकाबारे छलफल गरिएको थियो ।

छथर गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ओमप्रकाश राईका अनुसार गुणस्तरीय शिक्षाको आधार शिक्षक, विद्यालय र अभिभावकबीचको साझेदारी हो । ‘बालबालिकाको सिकाइमा अभिभावकको सहभागिता बिना गुणस्तरीय शिक्षाको लक्ष्य हासिल गर्न कठिन हुन्छ । त्यसैले कार्यक्रममार्फत अभिभावकको भूमिका, जिम्मेवारी र कर्तव्यबारे जानकारी गराइएको हो’, उनी बताउँछन्  ।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष विद्यालयमा भर्ना भए पनि नियमित उपस्थित नहुने विद्यार्थीका अभिभावकलाई विशेष रूपमा सहभागी गराउनु थियो । तमोर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष टामकान्त लुइँटेलका अनुसार धेरै अभिभावक विद्यालयका गतिविधिबारे अनभिज्ञ रहने, बालबालिकाको अध्ययनको नियमित निगरानी नगर्ने तथा विद्यालयसँग आवश्यक समन्वय नगर्ने समस्या देखिएको थियो ।

‘हामीले विशेष गरी विद्यालयमा नियमित नआउने विद्यार्थीका अभिभावकलाई कार्यक्रममा सहभागी गरायौं । उनीहरूलाई आफ्ना बालबालिकाको भविष्य निर्माणमा अभिभावकको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने विषयमा सचेत गराउने प्रयास गरेका छौं’, उनले बताए ।

कार्यक्रममा सहभागी अभिभावक जयराम लिम्बुका अनुसार अनुशिक्षणले शिक्षालाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याएको छ । ‘घरमा अभिभावकले दिने शिक्षा र विद्यालयमा हुने शिक्षाबीच सम्बन्ध हुन्छ भन्ने कुरा हामीले बुझेका छौं । बालबालिकाको नियमित हेरचाह, पढाइप्रति चासो र विद्यालयसँगको सम्पर्कले उनीहरूको सिकाइमा सुधार ल्याउन सकिन्छ भन्ने महसुस भएको छ’, उनले भने ।

उनका अनुसार अहिले धेरै अभिभावक आफ्ना बालबालिकाको गृहकार्य हेर्ने, विद्यालय उपस्थितीबारे जानकारी लिने तथा शिक्षकसँग नियमित सम्पर्कमा रहने प्रयास गर्न थालेका छन् ।

शिक्षा केवल विद्यालयको जिम्मेवारी होइन, परिवार र समुदायको पनि साझा दायित्व हो भन्ने सन्देश यस कार्यक्रमले प्रवाह गरेको छ । अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारबीचको सहकार्य बलियो भए मात्र गुणस्तरीय शिक्षा सम्भव हुने सरोकारवालाहरूको भनाइ छ ।

छथर गाउँपालिकामा सञ्चालन गरिएको यो अभियानले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै लगेको छ । अभिभावकहरू आफ्ना बालबालिकाको नियमित अध्ययन, विद्यालय उपस्थिती र शैक्षिक प्रगतिप्रति थप जिम्मेवार बन्न प्रेरित भएका छन् ।

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?