News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसकी सांसद गीता गुरूङले मुगुका गणेश नेपालीले गरेको आत्मदाहको घटनाका लागि प्रधानमन्त्री बालेन शाहलाई जिम्मेवार ठहराएकी छिन्।
- सांसद गुरूङले प्रेम आचार्यको आत्मदाह प्रकरणमा बालेन शाहले दिएको अभिव्यक्ति सापटी लिँदै राज्यको चरम असफलताले नै यस्तो घटना निम्त्याएको आरोप लगाइन्।
- सरकारसँग उनले सुकुमवासीहरूको गाँस र बासको संवैधानिक हक सुनिश्चित गर्दै स्थायी पुनर्स्थापनाका लागि तत्काल रकम उपलब्ध गराउन माग गरिन्।
२६ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरूङले राज्यका कारण मुगुका गणेश नेपालीले आत्मदाह गरेको बताएकी छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेनले लेखेका शब्द सापटी लिँदै प्रधानमन्त्रीका कारण गणेश नेपालीले आत्मदाह गरेको बताएकी हुन् ।
‘प्रधानमन्त्रीज्यू गणेश नेपालीको घटनामा तपाईंकै शब्द सापटी लिएर भन्छु, यो घटनाको मुख्य कारण राज्य हो,’ सांसद गुरूङले भनिन् ।
उनले तीन वर्ष अघि प्रेम आचार्यले सांसद् भवन अगाडि आत्मदाह गर्दा बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका विषय पनि संसद्लाई स्मरण गराइन् ।
‘यतिबेला म प्रधानमन्त्रीज्यूले प्रेम आचार्यले संसद भवन अगाडि आत्मदाह गर्दा लेखेको कुरा सम्झिन चाहान्छु,’ गुरूङले भनिन्, ‘उहाँ भन्नुभएको थियो– एकजना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान् । तर, सबै भन्दा ठूलो कारण राज्य हो । र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।’
कांग्रेस सांसद गुरूङले सुकुमवासीका लागि गाँस र बासको संवैधानिक हक ग्यारेन्टी गरेर सबै विस्थापित परिवारको खातामा तत्काल रकम जम्मा गर्न र उनीहरूको स्थायी पुनर्स्थापना नभएसम्म मानवीय संकट आउन नदिन पनि सरकारसँग माग गरिन् ।
प्रतिक्रिया 4