+
+
Shares

गणेश नेपालीको मृत्युको निष्पक्ष छानबिन गर्न र गरिबमाथिको दमन रोक्न एमालेको माग

राज्यले गरिब तथा निमुखा नागरिकको संरक्षण गर्नुको सट्टा उनीहरूको गाँस, बास र जीविकामाथि प्रहार गरिरहेको एमालेको दाबी छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १५:०४

२६ असार, काठमाडौं । नेकपा एमालेले राइडर गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

पार्टीका महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमा पारदर्शिता, सुशासन र युवा रोजगारीको नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार आफ्ना शृङ्खलाबद्ध जनविरोधी गतिविधिका कारण जनतासामु असफल बन्दै गएको आरोप लगाइएको छ ।

राज्यले गरिब तथा निमुखा नागरिकको संरक्षण गर्नुको सट्टा उनीहरूको गाँस, बास र जीविकामाथि प्रहार गरिरहेको एमालेको दाबी छ।

वक्तव्यमा कर्णालीको मुगुबाट काठमाडौं आएर राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीले राज्य संयन्त्रबाट सिर्जित निराशा, मानसिक दबाब र प्रताडनाका कारण आत्मदाहजस्तो कदम चाल्न बाध्य भएको उल्लेख गरिएको छ।

एमालेले सरकारको सुकुम्बासी बस्ती हटाउने अभियानको पनि आलोचना गर्दै मध्य वर्षाको समयमा हजारौँ गरिब नागरिकलाई घरबारविहीन बनाइएको जनाएको छ ।

यसका कारण नागरिकले आवासको अधिकार गुमाएको, सयौँ बालबालिका शिक्षाबाट वञ्चित भएको तथा मानसिक तनाव बढेको दाबी वक्तव्यमा गरिएको छ।

सरकार गठन भएको प्रारम्भिक १०० दिनभित्र व्यवस्थापनको अभाव, विस्थापनको त्रास र मानसिक तनावका कारण भेषराज दर्जी, कर्णबहादुर थापा, रिन तामाङ, इन्द्रबहादुर राई र उज्ज्वल तामाङलगायतले ज्यान गुमाएको उल्लेख गर्दै एमालेले ती घटनाप्रति पनि दुःख व्यक्त गरेको छ।

राज्यले सञ्चालन गरेका अस्थायी होल्डिङ सेन्टरबाट समेत नागरिकलाई हट्न अल्टिमेटम दिने र धम्कीपूर्ण व्यवहार गरेको आरोप लगाउँदै एमालेले यस्तो कार्य लोकतान्त्रिक शासन प्रणाली र संविधानको मर्मविपरीत भएको जनाएको छ।

एमालेले संविधानले प्रत्याभूत गरेको बाँच्न पाउने अधिकार र सुरक्षित आवासको अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गर्दै गरिब तथा निमुखा नागरिकमाथिको दमन तत्काल रोक्न, उनीहरूको उचित पुनर्स्थापना र सुरक्षित व्यवस्थापन सुनिश्चित गर्न माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?