+
+
Shares

रास्वपा सांसद् भन्छन् : दैनिक १८ जनाले आत्महत्या गर्छन्, यतातर्फ चिन्ता गरौं

गणेश नेपालीको निधनलाई लिएर संसद्मा विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । तर, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने यो विषयलाई धेरै उचाल्न खोजिएको भनेर प्रतिकार गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १५:२५

२६ असार, काठमाडौं । गणेश नेपालीको निधनलाई लिएर संसद्मा विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । तर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने यो विषयलाई धेरै उचाल्न खोजिएको भनेर प्रतिकार गरेका छन् ।

बरु उनीहरूले नेपालमा दैनिक १८ जनाले आत्महत्या गरिरहेको तथ्यांक प्रस्तुत गरिरहेका छन् । यस्तो तर्क रास्वपाका सांसद गणेश कार्की, जगदिश खरेल (ललितपुर) लगायतले गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले सुरुमा गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

नेपालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्ने विषयलाई संसद्मा औपचारिकताको रुपमा धेरै लिएको दाबी गरे ।

‘यो एउटा औपचारिकता जस्तै लाग्छ सबैले त्यही गर्दै हुनुहुन्छ । औपचारिकता किन पनि छ भने कति सदस्यहरूलाई त नामसम्म पनि थाहा छैन झुक्कीइ राख्नुभएको छ’ उनले भने ।

यहाँनेर उनले थपे, ‘अब मैले यो भन्दै गर्दा कसैलाई लाग्ला म सत्ता पक्षलाई बचाउन यहाँ उभिएको छु । तर मान्छेको जीवनभन्दा भारी तर्क अर्को कुनै पनि हुँदैन कुनै पनि तर्कले मान्छे गुमेको मान्छेको त्यो जीवन अन्त्य सही छ भनेर कसैले पनि दावी गर्न सक्दैन । त्यो औकात मसँग पनि छैन र यो संसदसँग पनि छैन यो राज्यसँग पनि छैन ।’

बरु यो सम्पूर्ण रुपमा राज्यको विषय भएको र राज्य अगाडिदेखि थियो भन्ने ख्याल गर्नुपर्ने बताए ।

साथै, १० हजार ट्राफिक फाइन भनेर भ्रम फैलिरहेको बताए । ‘त्यो फाइन १० हजार हो कि होइन पनि कसैलाई चासो छैन, यहाँ त्यसलाई अझै बढी दुखान्त अझै बढी भावनात्मक कसरी बनाउने भन्ने कुरा मात्रै भइरहेको छ’ उनले भने, ‘त्यसले गणेश नेपालीले र अर्को हुनेवाला गणेश नेपाली जस्तो मान्छेले न्याय पाउँदैन त्यो बाटो बन्द हुँदैन ।’

यसपछि उनले दैनिक १८ जनाले आत्महत्या गरिरहेको तथ्यांक प्रस्तुत गरेका हुन् ।

‘सभामुख महोदय यो देशमा दिनमा १८ जना मान्छेले आत्महत्या गर्छन् त्यो २० प्रतिशत २५ प्रतिशत हो भन्छन् । मृत्यु हुनेहरु त्यो हेर्ने हो भने झन्डै ८० जना मान्छेले दैनिक आत्महत्याको प्रयास गर्छन् । त्यो कानुनको आधारमा हुन्छ अथवा समाजको आधारमा हुन्छ, राज्यको आधारमा हुन्छ ?’ कार्की भन्छन्, ‘कहिले सामाजिक कुरा होला, कहिले मनोसामाजिक कुरा होला, मानसिक स्वास्थ्यको कुरा होला ।’

कानुनमा आधारित राज्यको कारण हो भने त्यो कानुन बनाउने कसले हो भनेर पनि उनले प्रतिप्रश्न गरे ।

‘यही संसदले होइन त्यो कानुन बनाउने ? यो बारेमा छलफल खोइ त खोइ ?’ उनले भने, ‘ खोइ अर्को गणेश नेपाली बन्नबाट रोक्नका लागि गर्ने छलफल ?’

मानसिक स्वास्थ्यमा ख्याल गर्ने जगदीशको प्रस्ताव

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (ललितपुर)ले मानसिक स्वास्थ्यमा ख्याल गर्ने प्रस्ताव गरेका छन् ।

गणेश नेपालीको निधनले असाध्यै धेरै पीडा भएको भावविह्वल बनाएको उल्लेख गर्दै उनले भने, ‘गणेश नेपालीको मृत्यु । जुन आत्मदाहपछि उनको मृत्यु भयो यसले हामी सबैलाई स्तब्ध बनाएको छ म उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र परिवारमा समवेदना अर्पण गर्न चाहन्छु ।’

तर यो घटना कसरी र किन भयो भनेर ख्याल गरेर राज्य अगाडि बढ्नुपर्ने उनको आग्रह छ ।

उनले भने, ‘यो घटना जे जसरी भयो मलाई विश्वास छ, मलाई आशा छ सरकारले यसलाई गम्भीर रुपमा लिन्छ । छानबिन राम्रोसँग छानबिन गर्छ र यसको गहिराई सम्म पुगेर सत्य तथ्य पत्ता लाएर उनीमाथि अन्याय हुन दिँदैन परिवारमाथि अन्याय हुन दिँदैन भन्ने मैले विश्वास लिएको छु ।’

यसपछि उनले पनि दैनिक १८ जनाले आत्महत्या गरिरहेको तथ्यांक स्मरण गराए ।

‘अघि नै हाम्रो एकजना मान्नीयले भनि सक्नु भएको छ, दिनमा अठार जना मान्छे कुनै न कुनै हिसाबले मरिरहेका छन्, आत्महत्या गरिरहेका छन् । कुनै झुण्डिएर मरिरहेका छन् कुनैले विष खाइरहेका छन्, कसैले आत्मदाह गरिरहेका छन्, कसैले हाम फालेर मरिरहेका छन्’ सांसद खरेलले भने, ‘हरेक मृत्यु हाम्रा लागि पीडादायी छ र वर्षमा सात हजार मान्छेले आत्महत्या गरिरहेको तथ्यांक हामीसँग छ ।’

यसपछि उनले मानसिक स्वास्थ्य समस्या देखाए ।

‘हाम्रो जीवनकालमा अहिले तीन करोड जनसंख्या भनेर हामी भन्छौं । हाम्रो जीवनकालमा झण्डै झण्डै सत्तरी लाख नेपाली जनताले कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या बेहोरिरहेको अवस्था छ’ उनले भने, ‘ पच्चिस प्रतिशत जनता आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्याबाट ग्रसित भइरहेको हुन्छ भने अब हामीले होस पुर्याउनु पर्ने बेला भएको छ ।’

यसका लागि नीति बनाउनुपर्ने उनको प्रस्ताव छ ।

‘हाम्रा नीतिमा, हाम्रा कानुनहरुमा, हाम्रा संरचनाहरुमा, हाम्रा सेवा सुविधाहरुमा मानसिक स्वास्थ्यको बहस अब जोडतोडले उठाउनु पर्ने अवस्था आएको छ । यसको लागि सरकार र सम्बन्धित निकाय सबै गम्भीर बन्न जरुरी छ, हामी गम्भीर बन्न जरुरी छ’ उनले भने, ‘एउटा प्रश्न सोध्न चाहन्छु तपाईं हामीलाई तनाव भयो, स्ट्रेस भयो केही भयो भने हामी कहिले मानसिक अस्पताल जान्छौं ? काउन्सिलिङमा जान्छौं ? यो प्रश्न यथावत राख्दै बिदा हुन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?