News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका भूमिका गिरी र ऋषि खड्काको स्वर रहेको गीत \'दिम कि नदिम\'ले छोटो समयमै युट्युबमा ६ लाख ४६ हजारभन्दा बढी भ्युज बटुलेको छ।
- यो गीतमा हालसम्म टिकटकमा २ लाख ६८ हजारभन्दा बढी भिडियो निर्माण भइसकेका छन् भने सामाजिक सञ्जालका अन्य प्लेटफर्ममा पनि उत्तिकै चर्चा छ।
- ऋषि खड्काको शब्द तथा संगीत रहेको उक्त डान्सिङ बिटको गीतमा जुना विश्वकर्मा र डोना थापा मगरले अभिनय गरेका छन् ।
काठमाडौं । एकपछि अर्को तीज गीत सार्वजनिक भइरहेका बेला गायिका भुमिका गिरीको ‘दिम कि नदिम’ बोलको गीतले पनि छोटो समयमै राम्रो चर्चा बटुलिरहेको छ ।
१० दिनअघि मात्र भुमिकाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले आज बिहानसम्म युट्युबमा ६ लाख ४६ हजारभन्दा बढी भ्युज बटुलिसकेको छ ।
सामाजिक सञ्जालमा पनि गीतको क्रेज उस्तै छ । विशेषगरी टिकटकमा यो गीतमा २ लाख ६८ हजारभन्दा बढी भिडियो बनिसकेका छन् । फेसबुक रिल्स, इन्स्टाग्राम र युट्युब सर्ट्समा समेत गीतका क्लिपहरू व्यापक रूपमा प्रयोग भइरहेका छन् ।
डान्सिङ बिटको गीतमा भुमिका गिरीसँगै ऋषि खड्काको स्वर छ । शब्द र संगीत पनि ऋषिकै हुन् । तीजका रमाइला संवाद, हाँसो–ठट्टा र मौलिकपनलाई आधुनिक संगीत संयोजनसँग प्रस्तुत गरिएकाले गीतले श्रोतालाई सहजै आकर्षित गरेको अनुमान गर्न सकिन्छ ।
गीतको भिडियोमा जुना विश्वकर्मा र डोना थापा मगरको अभिनय छ । प्रशान्त मगरको कोरियोग्राफी र विनोद भण्डारीको निर्देशन रहेको छ । नेपाली मौलिक पहिरन, तीजको वातावरण र आकर्षक छायांकनले भिडियोलाई अझ जीवन्त बनाएको छ ।
एक दशकभन्दा लामो समयदेखि नेपाली लोक सांगीतिक क्षेत्रमा सक्रिय भूमिकाका ‘उजेली जुनेली’, ‘देउरालीमा’, ‘चोली मैलै भो’, ‘तिउन मिठो बनायो चुकैले’, ‘गोरखपुरको सलाई’, ‘सरर आउ माया’, ‘तारासँगै जून’ लगायतका गीत पनि चर्चित छन् ।
प्रतिक्रिया 4