+
+
Shares

श्रमिकका उजुरी १ घण्टाभित्रै सम्बोधन गर्न श्रम विभागको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्न मातहतका निकायलाई कडा निर्देशन जारी गरेको छ ।
  • मन्त्री रामजी यादवसमक्ष उजुरी सम्बोधनमा ढिलाइ र कर्मचारीको व्यवहारबारे गुनासो पुगेपछि विभागले सेवा प्रवाह सुधार गर्न परिपत्र मार्फत यस्तो निर्देशन दिएको हो ।
  • विभागले उजुरीमाथि वार्ता गराउने, आदेश कार्यान्वयन गर्ने तथा क्षेत्राधिकारभित्र नपर्ने विषयमा सेवाग्राहीलाई तत्काल जानकारी गराउनुपर्ने लगायतका स्पष्ट प्रक्रिया अवलम्बन गर्न भनेको छ ।

६ साउन, काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितहरूले दिएका उजुरी वा निवेदन १ घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ ।

विभागले आफ्ना मातहतका निकायलाई परिपत्र गर्दै पीडितले दिएको उजुरी कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने निर्देशन जारी गरेको हो ।

श्रम तथा रोजगार कार्यालयहरू र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै यस्तो निर्देशन दिइएको हो । विगतमा विभिन्न माध्यम (हेल्लो सरकार, मन्त्रालय वा विभाग) बाट आएका वा सिधै कार्यालयमा दिइएका उजुरीहरू समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको भन्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसमक्ष समेत गुनासो पुगेपछि विभागले यस्तो निर्देशन जारी गरेको हो ।

श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गरी सोको जानकारी सम्बन्धित व्यक्तिलाई दिनुपर्ने छ । त्यस्तै सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी र आचरण पालना गर्नुपर्ने, यदि कुनै विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भएमा सोको जानकारी तत्काल सेवाग्राहीलाई गराई सम्बन्धित निकायमा समेत पठाउनुपर्नेछ।

श्रमिकका उजुरीमाथि प्रतिष्ठानबाट समयमै प्रतिक्रिया लिने, श्रम कानुन अनुसार वार्ता गराउने र वार्ताबाट समाधान नभएमा कार्यालयले यथाशीघ्र निर्णय गर्नुपर्ने, श्रम अदालत र कार्यालयबाट भएका आदेश वा निर्णयहरू समयमै कार्यान्वयन गर्नुपर्ने लगायतका विषयहरू समेटेर निर्देशन दिइएको छ ।

हेल्लो सरकारबाट प्राप्त गुनासोहरू सम्बोधन भएपछि सोको जानकारी यथाशीघ्र गराउन समेत विभागले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?