News Summary
Generated by OK AI. Editorially reviewed.- इन्जिनियरिङकी विद्यार्थी विधि क्षेत्रीले एर्लिङ हालान्डको चर्चामा रहेको गीत बाँसुरीमा कभर गरेपछि विश्व चर्चित फुटबलर हालान्डले त्यसको प्रशंसा गरेका छन्।
२१ वर्षीया विधि क्षेत्रीलाई हातमा बाँसुरी भए धेरै थोक नभए पनि हुन्छ ।
एक त बाँसुरी कृष्णको बाजा, अर्को विधि आफैं कृष्णभक्त । विधिलाई उसै पुग्ने भइहाल्यो । यस सँगै बाँसुरी बजाउँदा उनलाई मनैदेखि शान्त महसुस हुन्छ । जुन अनुभव उनले अरू थोकमा विरलै पाउँछिन् । पढाइको विषय इन्जिनियरिङ भए पनि सामाजिक सञ्जालमा आफूलाई उनले बाँसुरीवादकको रूपमा चिनाइरहेकी छिन् ।
ठीक यो समयमा त, उनी बाँसुरीकै कारण एकाएक चर्चामा आएकी छिन् । किनकि उनले बाँसुरी बजाएरै विश्व फुटबलको पोस्टर ब्वाई अर्लिङ हालान्डको मन जितेकी छिन् । भर्खरै मात्र सकिएको फिफा विश्वकपमा हालान्ड चर्चाको शिखरमा थिए ।
नर्वे र म्यानचेस्टर सिटीका स्टार हालान्ड फुटबल फ्यानका लागि परिचित स्टार हुन् । तर, यस विश्वकपबाट उनी आम व्यक्तिमाझ पनि छाए । विश्वकपमा ७ गोल गरेका उनको टोली अन्तिम ८ बाट बाहिरियो ।
यही माहोलमा विधिले हालान्डलाई समर्पित गर्दै बाँसुरी कभर गरेको रिल्स इन्स्टाग्राम राखिन् । यसमा हालान्डले नाइस भनेर कमेन्ट गरेका छन् ।
स्कुलको कक्षादेखि इन्जिनियरिङसम्म
विधि काठमाडौंमै जुन्मे, हुर्केकी हुन् । विद्यालय तहको पढाइ ग्यालेक्सी पब्लिक स्कुलबाट भएको थियो । स्कुलमा पढ्दै गर्दा वैकल्पिक कक्षाका रूपमा उनले प्रेम वाइबा नामका गुरुबाट बाँसुरी समात्न र फुक्न सिकेकी थिइन् । त्यहाँ उनले ६ देखि १० कक्षासम्मै बाँसुरी सिकिन् । २०२० मा एसईई सक्काइन् ।
स्कुलपछि बाँसुरी कक्षा छुटे पनि विधिमा बाँसुरीप्रतिको झुकाव बढ्दै गयो । त्यसपछि आफैंले अभ्यास गर्न थालिन् । स्वअध्ययन गर्न सिकिन् ।

१२ कक्षा सकिएपछि उनी पढाइको सिलसिलामा भारत गइन् । अहिले पनि उनी देहरादुनस्थित डीआईटी युनिभर्सिटीमा बिटेक इन कम्युटर इन्जिनियरिङ गर्दै छिन् । नेपालमा हालै उनी सेमेस्टरको छुट्टीमा आएकी हुन् ।
ठीक यही बेला विश्वकप पनि चलिरहेको थियो ।
उनले विश्वकपका खेलहरू हेरिरहेकी थिइन् । उनी फुटबल फ्यान पनि हुन् । हालान्डलाई उनले पहिलेदेखि नै फलो गरेकी थिइन् । हालान्ड उनको मन पर्ने खेलाडी पनि हुन् । यो विश्वकपमा तिनै हालान्ड सामाजिक सञ्जालमा ‘बज’ नै भए । मिमदेखि लिएर रिल्सहरूमा अन्य खेलाडीहरूको तुलनामा हालान्ड हाबी भए ।
त्यसमाथि प्रशंसकहरूले हालान्डमाथि केही गीतहरू समेत बनाए ।
ती सबैमध्ये हालान्ड च्यान्ट भाइरल भइदियो । हा हा हा हालान्ड… गर्दै सुरु हुने यो गीतलाई हालान्ड एन्थम भनियो । तर, हालान्ड स्वयंले यो गीत निकालेका होइनन् । जर्मन पप ब्यान्ड जिङ्गिस खानले सन् १९७९ मा निकालेको डिस्को गीत मोस्काउको यो क्लोन भर्सन हो ।
त्यसमाथि यो च्यान्ट अहिलेको विश्वकपभन्दा धेरै अघिदेखि नै सुरु भइसकेको थियो । सन् २०२२ मा हालान्ड म्यानचेस्टर सिटीमा आबद्ध भएर लगालग गोल गर्न थालेपछि सिटीका फ्यानहरूले त्यतिबैलै यो च्यान्ट बनाएका थिए।
अत्याधिक चर्चामा आएको भने यो विश्वकपमा हो ।
हालान्डको त्यो कमेन्ट
यसपटक विधिले हालान्डको त्यो माहोललाई समात्ने कोसिस गरिन्, बाँसुरी बजाएर । गत ३ साउनमा हा हा हा हालान्ड लाई उनले नर्वेको जर्सी लगाएर कभर गरिन् । र, रिल्स इन्स्टाग्राममा पोस्ट गरिन् ।
रिल्समा उनले टेक्स्ट पनि सँगै लेखिन् – इन्स्टाग्राम इज कुल विकाउज आई क्यान कभर दी हालान्ड एन्थम एन्ड सम गाइ नेम्ड अर्लिङ विल कमेन्ट नाइस
त्यसपछिको छोटो समयमा नै विधिको त्यो रिल्स भाइरल बन्न गयो ।
विधिका प्रशंसकहरूले लगातार हालान्डलाई कमेन्टमा मेन्सन गर्न थाले । यसअघि उनका केही भिडियोहरू भाइरल त भएको थियो । तर, हालान्डलाई समर्पित गर्दै बनाएको त्यो रिल्सले ती सबैलाई उछिन्यो ।
त्यस बीचमा उनको त्यो रिल्समा बोस्निया (@bosnia) बाट पनि कमेन्ट आयो । फ्यानहरूले हालान्डसँगै यो पेजलाई पनि मेन्सन गरिरहेका थिए । बोस्निया मिम पेज हो । यो पेजका पोस्टहरूमा हालान्डले धेरै पटक कमेन्ट र प्रतिक्रिया दिएका छन् । पेजले पनि हालान्डमाथि थुप्रै कन्टेन्ट बनाएका छन् ।
अब सोही पेजबाट कमेन्ट आएपछि विधिलाई कताकता हालान्डको पनि कमेन्ट आउँछ कि भन्ने आशा पलायो । त्यसपछि उनले क्षणक्षणमा नोटिफिकेसन हेरिरहिन् ।
नभन्दै ४ साउनमा हि कमेन्टेड भन्ने नोटिफिकेसनको ओइरो लाग्यो । विधिको खुसीको सीमा रहेन । किनकि हालान्डले नाइस लेख्दै विधिको उक्त रिल्समा कमेन्ट गरेका थिए ।
View this post on Instagram
त्यसपछि त विधिको यो सफलता केही बेरमै नेपाली सोसल मिडिया स्पेयरमा पनि भाइरल भयो ।
‘सुरुमा त अपेक्षा नै गरेको थिइनँ उहाँले कमेन्ट गर्नुहोला भनेर,’ हालान्डको प्रतिक्रिया देख्दाको क्षण उनी सुनाउँछिन् । अहिले उनको उक्त रिल्समा नर्वे एफएसहित अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले समेत प्रतिक्रिया दिइरहेका छन् । साथै यस सामग्री तयार पार्दासम्म विधिको भिडियोमा १ करोड ३० लाख बढी भ्युज प्राप्त भइसकेको छ ।
अपार्ट फर्म भाइरल रिल्स
विधिले बाँसुरीको कभर गर्न थालेको केही वर्ष भइसकेको छ । सुरु सुरुमा बाँसुरीमा कुनै गीतको कभर गर्न खोज्दा उनलाई नोटेसन भेट्टाउन गाह्रो हुन्थ्यो । कुनै भेटिन्थ्यो कुनैको भेटिन्थ्यो । तर, उनले कुनै धुन सुनेरै त्यसको नोटेसन थाहा पाउने सिकिन् ।
आजकल अरूले पनि सिक्न सकुन् भनेर आफूले कभर गर्ने गीतको बाँसुरीका लागि उनी नोटेसनहरू तयार पार्छिन् । र, तिनलाई भिडियोमा समेत राख्छिन् ।
‘धेरैजसो गीतको नोटेसन अनलाइनमा भेटिँदैन, त्यसैले म आफैँ नोटहरू निकालेर हाल्दिन्छु ताकि अरूलाई सजिलो होस्’ उनी सुनाउँछिन् ।
अब उनी केही दिनमै पढाइका लागि भारत फर्किँदै छिन् । यो अनुभव आजीवनका लागि बनाएकोमा उनी आफूले आफूलाई गर्व पनि गर्छिन् । तर, पढाइ र संगीत फरकफरक भएकाले आगामी दिनमा यी दुवैलाई सँगै अगाडि बढाउने उनको योजना छ । सके शास्त्रीय संगीत सिक्ने रहर छ ।

प्रतिक्रिया 4