+
+
Shares

उद्घाटन नहुँदै चर्किए बटेश्वरका दुई विद्यालय भवन

दुवै भवनको भुइँतला र माथिल्लो तल्लाका भित्ता ठाउँठाउँमा चिरा परेका छन् । कक्षा कोठाको ढोका छेउका भित्ताहरू विभिन्न स्थानमा फुटेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाको बटेश्वर गाउँपालिका–२ स्थित श्री जनप्रिय माध्यमिक विद्यालयका नवनिर्मित दुई वटा भवन उद्घाटन नहुँदै चर्किन थालेका छन् ।
  • करिब दुई करोड नौ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएका दुवै भवनका भित्ता र ढोकाहरू गुणस्तरहीन कामले गर्दा छोटो समयमै जीर्ण बनेका छन् ।
  • स्थानीयवासीले निर्माणमा व्यापक आर्थिक हिनामिना र कमसल सामग्री प्रयोग भएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।

२० साउन, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–२, भूचक्रपुरस्थित श्री जनप्रिय माध्यमिक विद्यालयका दुई वटा नवनिर्मित भवन उद्घाटन नहुँदै चर्किन थालेका छन् ।

गाउँपालिकाले निर्माण गरेका दुवै भवनको भुइँतला र माथिल्लो तल्लाका भित्ता ठाउँठाउँमा चिरा परेका छन् । कक्षा कोठाको ढोका छेउका भित्ताहरू विभिन्न स्थानमा फुटेका छन् ।

त्यति मात्र होइन, जडान गरिएका झ्याल–ढोकामध्ये कतिपय बन्द हुन छाडेका छन् भने केही झ्याल बाङ्गिएर प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन् ।

विद्यालयका प्रधानाध्यापक राजकुमार राउतले नवनिर्मित भवन अहिलेसम्म उद्घाटन नभएको बताउँदै भवन निर्माणमा विद्यालयको खासै भूमिका नरहेको बताए ।

‘गत वर्ष जस्ताको छाना भएका कक्षा कोठामा अत्यधिक गर्मी भएपछि नयाँ भवनमै विद्यार्थीलाई पढाउन थालेका हौं,’ उनले भने ।

भवनका धेरै स्थानमा चिरा परेको भए पनि यसको वास्तविक कारण प्राविधिकले मात्रै भन्न सक्ने उनको भनाइ छ ।

गाउँपालिका कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा तत्कालीन गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको कार्यकालमा संघीय सरकारको सशर्त अनुदानबाट ८ कोठे पक्की भवनको भुइँतला निर्माण गरिएको थियो । छतसम्म इँटा लगाएर प्लास्टर नगरी छाडिएको उक्त भवनका लागि गाउँपालिकाले ३६ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।

गाउँपालिका अध्यक्षमा रामआशिष महतो निर्वाचित भएपछि २०७९ सालमा उपभोक्ता समितिमार्फत ३३ लाख ४७ हजार ६५९ रुपैयाँ र २०८० मा २३ लाख ४२ हजार ६९० रुपैयाँ भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ । तीन चरणमा निर्माण सम्पन्न भएको यो भवनमा ९२ लाख ८९ हजार रुपैयाँ खर्च भएको देखिन्छ ।

आर्थिक वर्ष २०७८/०७९ मा विद्यालयको दक्षिणतर्फ अर्को ८ कोठे भवन निर्माण सुरु गरिएको थियो । संघीय सरकारको सशर्त अनुदानअन्तर्गत ८३ लाख रुपैयाँ बजेट रहेको उक्त भवनको भुइँतला निर्माणका लागि आर्यन कन्स्ट्रक्सन, राजपुर (रौतहट)ले ६३ लाख रुपैयाँमा काम सम्पन्न गर्नुपर्ने सम्झौता गरेको थियो ।

कम्पनीले जग, पिलर र छत ढलानसम्मको काम गरेपछि गाउँपालिकाले ५४ लाख ९ हजार ३४७ रुपैयाँ भुक्तानी गरेको थियो । त्यसपछि २०७९ मा ऋषिका कन्स्ट्रक्सनलाई ३० लाख ४७ हजार ५१ रुपैयाँ र २०८० मा उपभोक्ता समितिमार्फत ३२ लाख ५० हजार ८१९ रुपैयाँ खर्च गरी भवन निर्माण सम्पन्न गरिएको थियो ।

दुवै भवन एकै पटक निर्माण सम्पन्न भएका थिए । यो भवनमा तीन चरणमा एक करोड १७ लाख ७ हजार २१७ रुपैयाँ खर्च भएको थियो । रकम हिनामिना गरी गुणस्तरहीन काम गरेका कारण भवन प्रयोगमा आएको केही समयमै चर्किन र फुट्न थालेको आरोप स्थानीयवासीले लगाएका छन् । यसको छानबिन हुनुपर्ने उनीहरूको माग छ ।

यता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पौडेलले आफू आउनुअघि नै दुवै भवन निर्माण भइसकेको बताउँदै हतारमा काम गरिएकाले यस्तो समस्या आएको हुन सक्ने बताए ।

‘आर्थिक वर्षको अन्त्यतिर हतारहतार काम गर्दा यस्तो भएको हुन सक्छ । सुक्न नपाउँदै प्लास्टर गर्ने, पेन्ट लगाइदिने जस्ता कारणले सामान्य प्राविधिक त्रुटि भएको हुन सक्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?