+
+
Shares

बर्दियाका बाघको दुर्लभ व्यवहार विश्वमाझ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको दुर्लभ व्यवहार कैद गरिएको बीबीसी वृत्तचित्र ‘टाइगर आइल्यान्ड’ले नेपालको बाघ संरक्षणको सफलतालाई अन्तर्राष्ट्रिय चर्चामा ल्याएको छ ।
  • वृत्तचित्रले पोथी बाघले बच्चाको हेरचाह गर्ने र भाले बाघले पनि संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने जस्ता नयाँ तथ्यहरू सार्वजनिक गरेको छ ।
  • सन् २०१० मा १२१ रहेको बाघको संख्या अहिले ४०० नाघेको छ, तर बढ्दो संख्यासँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन अहिलेको मुख्य चुनौती बनेको छ ।

२० साउन, काठमाडौं । जंगलमा बाघले देखाउने दुर्लभ तथा यसअघि अभिलेख नभएका व्यवहार क्यामेरामा कैद भएपछि नेपालको बाघ संरक्षणको सफलताले फेरि अन्तर्राष्ट्रिय ध्यान तानेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा छायाङ्कन गरिएको बीबीसी वृत्तचित्र ‘टाइगर आइल्यान्डः अ हिडन वल्र्ड रिभेल्ड’ले बाघको असाधारण व्यवहारसँगै समुदायमा आधारित संरक्षणको नेपाली अभ्यासलाई विश्व दर्शकमाझ पुर्‍याएको छ । वृत्तचित्रको विशेष प्रदर्शन टुरिजम इन्फो नेपालले बुधबार काठमाडौंको ठमेलस्थित एलफ्ट होटलमा आयोजना गरेको हो ।

प्रदर्शनमा पर्यटन, संरक्षण तथा सरकारी क्षेत्रका १०० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । बीबीसी र पीबीएसको सहकार्यमा निर्माण भएको वृत्तचित्र बर्दिया राष्ट्रिय निकुञ्जको सीमावर्ती दुर्गम नदी टापु तथा सामुदायिक वन क्षेत्रमा छायांकन गरिएको हो ।

वृत्तचित्रमा गोमा, माला र जुगिनी नामका पोथी बाघको गतिविधिलाई पछ्याउँदै बाघको व्यवहारसम्बन्धी केही असाधारण दृश्य प्रस्तुत गरिएको छ । विशेषगरी पोथी बाघहरूले मिलेर बच्चाको हेरचाह गर्ने तथा भाले बाघले समेत बच्चाको संरक्षण र हेरचाहमा सक्रिय भूमिका निर्वाह गर्ने गरेको दृष्यले बाघको व्यवहारसम्बन्धी स्थापित बुझाइलाई चुनौती दिएको निर्माण टोलीको दाबी छ ।

सन् २०२२ को अन्त्यतिर यो डकुमेन्ट्री सुरु भएको थियो । बीबीसीको टोलीले बर्दियामा पोथी बाघको गतिविधि पछ्याउँदै लामो समयसम्म अध्ययन तथा छायांकन गरेपछि वृत्तचित्रले नयाँ तथ्य र दृष्यहरू समेट्न सफल भएको हो ।

ड्रोन, थर्मल क्यामेरा, नाइट–भिजन प्रविधि तथा विस्तृत फिल्ड ट्रयाकिङको प्रयोगबाट बाघका गतिविधि अभिलेख गरिएको थियो । वृत्तचित्रको दोस्रो भागमा बर्दिया राष्ट्रिय निकुञ्जभित्र रातको समयमा बाघले सिकार गरेको दुर्लभ दृष्यसमेत समेटिएको छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशीले नेपालको बाघ संरक्षणको उपलब्धिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याउन वृत्तचित्रले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले वन्यजन्तु संरक्षणलाई प्रकृतिमा आधारित तथा दिगो पर्यटनसँग जोडेर नेपाललाई अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्न सकिने धारणा राखे ।

वृत्तचित्र प्रदर्शनपछि सजल प्रधानको सहजीकरणमा प्यानल छलफल गरिएको थियो । छलफलमा बर्दियाका प्रकृति गाइड सुशीला महतरा र मञ्जु महतराले वृत्तचित्र निर्माणका क्रममा बाघको खोज, अनुगमन तथा ट्रयाकिङमा आफूहरूले गरेको काम र अनुभव साझा गरे ।

छलफलमा नेपालको बाघ संरक्षण यात्राले हासिल गरेको उल्लेखनीय प्रगतिबारे पनि चर्चा भयो । सन् २०१० मा १२१ रहेको नेपालको बाघ संख्या अहिले ४०० भन्दा माथि पुगेको तथ्य प्रस्तुत गर्दै सहभागीहरूले नेपाललाई विश्वमै बाघ संरक्षणको उल्लेखनीय सफलताको उदाहरणका रूपमा स्थापित गर्न सकिएको बताए ।

तर बाघको संख्या बढेसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन नयाँ चुनौतीका रूपमा देखिएको सहभागीहरूको भनाइ थियो । संरक्षणका उपलब्धिलाई दीगो बनाउन संरक्षित क्षेत्र वरपर बसोबास गर्ने समुदायको हित, सुरक्षा र सहभागितालाई समान प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?