+
+
Shares

इन्टर्न चिकित्सकको निर्वाह भत्ता कार्यान्वयन गर्न सांसद कार्कीको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको सुधार तथा चिकित्सकहरूको वृत्तिविकासका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिएकी छिन् ।
  • उनले आवासीय चिकित्सकहरूको श्रम शोषण र न्यून सेवा–सुविधाप्रति आपत्ति जनाउँदै सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न ढिलाइ भएको उल्लेख गरिन् ।
  • ‘भोक र निद्रा नभनी सेवामा खटिनुपर्दा उनीहरूको सिकाइ र कार्यक्षमतामा समेत गम्भीर असर परिरहेको छ,’ भन्दै उनले स्वास्थ्य क्षेत्रका संवेदनशील समस्या समाधानको माग गरिन् ।

२१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको समस्या समाधान र उनीहरूको वृत्तिविकासका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

बिहीवार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद कार्कीले विशेषगरी आवासीय (इन्टर्न) चिकित्सकहरूको श्रम शोषण र न्युन सेवा–सुविधाको विषयमा सरकारको आलोचना गरिन् ।

बैठकमा बोल्दै डा. कार्कीले वर्षौंदेखि जनशक्ति अभावको रटान लगाइए पनि ग्रामीण क्षेत्रमा चिकित्सक पुर्‍याउने ठोस रणनीतिमा सरकार चुकिरहेको बताइन् ।

संघीय सरकारले मात्र चाहेर स्वास्थ्य क्षेत्रको सुधार सम्भव नभएको उल्लेख गर्दै उनले तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिएकी छिन् ।

विशेषगरी प्रदेश मातहतका जिल्ला अस्पताल र आधारभूत अस्पतालहरूको अवस्था अत्यन्तै नाजुक रहेको बताउँदै उनले एकातर्फ सरकारले स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने दाबी गर्ने तर अर्कोतर्फ चिकित्सकहरू आमरण अनसन बस्नुपर्ने परिस्थिति सिर्जना हुनु स्वास्थ्य क्षेत्रकै लागि विडम्बनापूर्ण रहेको बताइन् ।

सांसद कार्कीले शिक्षा मन्त्रालयद्वारा गठित कार्यदलले ८० दिनअघि नै प्रतिवेदन बुझाइसकेको भएपनि त्यसको कार्यान्वयन नभएकोमा आपत्ति पनि जनाएकी थिइन् ।

‘आफ्नो करियरको शुरुवाती चरणमा रहेका चिकित्सकहरू पर्याप्त निर्वाह भत्ता, तोकिएको ड्युटी आवर र न्युनतम आधारभुत आवश्यकताबाट समेत वञ्चित हुनुपर्ने अवस्थाले समग्र स्वास्थ्य क्षेत्रलाई नै गिज्याइरहेको छ । भोक र निद्रा नभनी सेवामा खटिनुपर्दा उनीहरूको सिकाइ र कार्यक्षमतामा समेत गम्भीर असर परिरहेको छ,’ उनले भनिन् ।

सरकारले कार्यदल गठन गर्ने तर त्यसको सुझावलाई कार्यान्वयनमा नलैजाँदा स्वास्थ्यकर्मीहरू मर्कामा परेको भन्दै उनले यस्ता संवेदनशील विषयमा गम्भीर बन्न मन्त्रालय र सरोकारवाला निकायलाई आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?