+
+
Shares

गोरखाको ज्येष्ठ नागरिक आश्रम सञ्चालन जिम्मा मानव सेवा आश्रमलाई

निर्माण सम्पन्न भएको दुई वर्षपछि गोरखा नगरपालिका–१० छेपेटारस्थित ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा आउने भएको छ ।

विकास मरहट्टा विकास मरहट्टा
२०८३ साउन २२ गते १२:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखा नगरपालिका–१० छेपेटारमा निर्माण सम्पन्न भएको ज्येष्ठ नागरिक आश्रम पाँच वर्षका लागि मानव सेवा आश्रमलाई सञ्चालन गर्न दिने सम्झौता भएको छ ।
  • आश्रम सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले यस वर्ष ३० लाख रूपैयाँ विनियोजन गरेको छ भने अबको एक महिनाभित्र सेवा सुरु गरिनेछ ।
  • सहाराविहीन ज्येष्ठ नागरिकलाई लक्षित गरी निर्माण गरिएको उक्त भवनमा २४ वटा कोठा, सभा हल र कर्मचारी व्यवस्थापनसहितका पूर्वाधार उपलब्ध छन् ।

२२ साउन, गोरखा । निर्माण सम्पन्न भएको दुई वर्षपछि गोरखा नगरपालिका–१० छेपेटारस्थित ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा आउने भएको छ ।

गण्डकी प्रदेश सरकारले आश्रम सञ्चालनको जिम्मा मानव सेवा आश्रमलाई दिएको छ । गण्डकी प्रदेश सरकार मातहतको एकीकृत सेवा कार्यालय गोरखा र मानव सेवा आश्रम हेटौंडाबीच सम्झौता समेत भइसकेको छ ।

‘भवनको प्रभावकारी रूपमा उपयोग गर्ने गरी पाँच वर्षका लागि उहाँहरूसँग सम्झौता भएको छ,’ कार्यालय प्रमुख दशरथ शर्माले भने, ‘६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई त्यहाँ राखिन्छ ।’

जीवनयापन गर्ने कुनै आधार आयस्रोत नभएका, पालनपोषण र हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका, परिवारका सदस्य भएर पनि पालनपोषण नगरी अपहेलित वा उपेक्षित जीवन विताउन बाध्य भएकालाई उक्त आश्रममा राखिने उनले जानकारी दिए ।

आश्रमले उद्धार, संरक्षण, सुरक्षित आवास, स्वास्थ्य उपचार, पारिवारिक पुनर्मिलन जस्ता कार्यहरू गर्नुपर्ने उनको भनाइ छ ।

आश्रम सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले यो वर्ष ३० लाख रकम विनियोजन गरेको छ ।

‘त्यो रकम हामीले मानव सेवा आश्रमलाई दिन्छौं, उहाँहरूले मापदण्ड अनुसार खर्च गर्नुहुन्छ,’ शर्माले भने ।

कर्मचारी, खाद्यान्न लगायतका शीर्षकमा हुने खर्चको प्रस्ताव समेत माग गरिएको उनले बताए ।

भवनको केही संरचना मर्मतसँगै डाइनिङ, बेड बिस्तार र किचन व्यवस्थापन गर्नुपर्ने छ ।

उक्त काम मानव सेवा आश्रमले गर्ने भएको छ । केही दिनमै मर्मतको काम सुरु गरिने मानव सेवा आश्रमकी केन्द्रीय सदस्य निता केसीले बताइन् ।

‘एक दुई दिनमै त्यहाँको मर्मत र सरसफाईमा जुट्छौ,’ उनले भनिन्, ‘एक महिनाभित्र काम सकेर आश्रम सञ्चालनमा ल्याउँछौ ।’

विशेष गरी गण्डकी प्रदेशभित्रका ज्येष्ठ नागरिकलाई समेट्ने बताउँदै उनले आवश्यकता अनुसार अन्य ठाउँबाट पनि उद्धार गरेर राख्न सकिने जानकारी दिइन् ।

आश्रममा पाँच जना कर्मचारी खटिने छन् । उक्त कर्मचारी संस्था स्वयमले व्यवस्था गर्ने छ । वृद्धाश्रमको रूपमा प्रयोग गर्ने उद्देश्यसहित गण्डकी प्रदेश सरकारले करिब साढे चार करोड खर्चेर उक्त भवन बनाएको हो ।

२०७६ सालबाट भदौ १ गते आसिस ईको जेभीसँग ठेक्का सम्झौता भएर भवन निर्माणको काम अघि बढेको थियो ।

पहिले शहरी विकास तथा भवन कार्यालयसँग सम्झौता भएर काम अघि बढेपनि पछि उक्त योजना पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण भएको थियो ।

दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि २०८१ असोज महिनामा मात्र सम्पन्न भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ठेकेदारको ढिलासुस्तीका कारण समयमै काम सम्पन्न नभएपछि विभिन्न चरण गरी तीन पटक म्याद थप भएको थियो ।

कुल तीन रोपनी सरकारी जग्गामा निर्माण भएको उक्त भवनमा तीन वटा संरचना छन् । कार्यालय प्रयोजनका लागि छुट्टै भवन छ । वृद्धवृद्धा राख्नका लागि बनाइएको भवनमा एउटा सभा हल सहित २४ कोठा छन् ।

सुरक्षा गार्डका लागि एक कोठे छुट्टै भवन बनाइएको छ । भवनमा रंगरोगनसँगै बिजुली जडान भइसकेको छ ।

केही कोठाहरूमा एयर कन्डिसन (एसी) समेत जडान भएका छन् । भवनसम्म पुग्ने सडक कालोपत्र समेत भइसकेको छ ।

प्रत्येक प्रदेशमा एउटा वृद्धाश्रम बनाउने सरकारको योजना अनुरूप गण्डकी प्रदेशको गोरखामा बनाइएको बताइएको छ ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?