+
+
Shares

अल निनोका कारण बढ्यो समुद्रको सतह, सन् २०२६ मा फेरि बढ्यो चिन्ता  

सन् २०२६ मा शक्तिशाली अल निनोले समुद्री सतह थप बढ्ने आशंका गर्दै चिन्ता व्यक्त भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते ७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जर्नल अफ जियोफिजिकल रिसर्चमा प्रकाशित अध्ययनले सन् २०१४–१६ र २०२३–२४ का शक्तिशाली अल निनो घटनाका कारण समुद्री सतहमा भएको वृद्धिको तुलनात्मक विश्लेषण गरेको छ ।
  • सन् २०२३–२४ को अल निनो छोटो अवधिमा विकसित भए तापनि यसले समुद्री सतहको वृद्धिलाई तीव्र पारेको र तटीय क्षेत्रमा ठूलो वातावरणीय दबाब सिर्जना गरेको छ ।
  • वैज्ञानिकहरूका अनुसार सन् २०२६ मा शताब्दीकै शक्तिशाली अल निनो आउन सक्ने पूर्वानुमान गरिएको छ, जसले विश्वव्यापी तापक्रम र समुद्री सतहमा थप गम्भीर प्रभाव पार्न सक्छ ।

३१ साउन, काठमाडौं । अल निनो र ला निनो विश्वको मौसम तथा जलवायुलाई प्रभावित गर्ने प्रमुख प्राकृतिक घटनाहरू हुन् । अल निनोका क्रममा प्रशान्त महासागरको भूमध्यरेखीय क्षेत्रमा रहेको पानी सामान्यभन्दा बढी तातो हुन्छ । यसको ठीक विपरीत ला निनोका क्रममा त्यहाँको पानी सामान्यभन्दा बढी चिसो हुन्छ । यी घटनाको प्रभाव समुद्रको तापक्रममा मात्र सीमित हुँदैन, विश्वव्यापी तापक्रम, वर्षा र समुद्री सतहमा हुने वृद्धिमा समेत पर्छ ।

जर्नल अफ जियोफिजिकल रिसर्च : ओशन्समा प्रकाशित नयाँ अध्ययनले सन् २०१४–१६ र २०२३–२४ मा भएका दुई शक्तिशाली अल निनो घटनाको तुलना गरेको छ। शोधकर्ताहरूले दुवै घटनाका क्रममा विश्वको औसत समुद्री सतह बढेको पाएका छन्। यद्यपि, दुवै पटक समुद्री सतह बढ्नुका कारण र त्यसमा विभिन्न क्षेत्रको योगदान भने निकै फरक थियो।

२०२३–२४ मा समुद्री सतह तीव्र गतिमा बढ्यो

अध्ययनअनुसार सन् २०१४–१६ को अल निनो विकसित हुँदै गर्दा विश्वको औसत समुद्री सतह करिब ९.१६ मिलिमिटर बढेको थियो। त्यसैगरी, सन् २०२३–२४ को अल निनोका क्रममा समुद्री सतह करिब ७.७० मिलिमिटर बढेको थियो ।

पहिलो नजरमा ९.१६ मिलिमिटरको वृद्धि बढी देखिन्छ ।

तर सन् २०२३–२४ को अल निनो तुलनात्मक रूपमा छोटो अवधिमा विकसित भएकाले त्यस समयमा समुद्री सतह बढ्ने गति निकै तीव्र थियो । वैज्ञानिकहरूका लागि समुद्री सतह तीव्र गतिमा बढ्दा तटीय क्षेत्रमा दबाब पनि छिटो बढ्न सक्छ ।

समुद्री सतह बढ्नुका दुई प्रमुख कारण

वैज्ञानिकहरुका अनुसार समुद्री सतह बढ्नुका दुई प्रमुख कारण हुन्छन् । पहिलो, समुद्रको पानी तातेर फैलिनु हो । यसलाई ‘स्टेरिक समुद्री सतह वृद्धि’ भनिन्छ ।

दोस्रो, जमिनमा सञ्चित पानी समुद्रमा पुग्नु हो । यसमा नदीको पानी, जमिनमुनि सञ्चित पानी तथा बरफ पग्लिएर निस्कने पानीसमेत पर्छ । यसलाई ‘ब्यारोस्टाटिक समुद्री सतह वृद्धि’ भनिन्छ ।

अध्ययनले दुवै अल निनो घटनाका क्रममा समुद्री सतह बढाउन जमिनबाट समुद्रमा पुगेको पानीको भूमिका सबैभन्दा ठूलो रहेको देखाएको छ ।

सन् २०१४–१६ मा समुद्री सतहमा भएको कुल वृद्धिमध्ये करिब ६.२० मिलिमिटर अर्थात् लगभग ६८ प्रतिशत वृद्धि ब्यारोस्टाटिक कारणले भएको थियो ।

त्यस्तै, सन् २०२३–२४ मा करिब ६.२६ मिलिमिटर अर्थात् लगभग ८१ प्रतिशत वृद्धि यही कारणले भएको थियो ।

हिन्द महासागरको पनि ठूलो प्रभाव

सन् २०२३–२४ को अल निनोमा हिन्द महासागरको भूमिका विशेष रूपमा महत्वपूर्ण देखिएको थियो । समुद्रको पानी तात्दा यस क्षेत्रमा स्टेरिक समुद्री सतह पनि बढेको थियो । वैज्ञानिकहरूका अनुसार त्यही समयमा ‘इन्डियन ओसन डाइपोल (आईओडी)’ पनि सकारात्मक अवस्थामा थियो ।

आईओडी हिन्द महासागरका विभिन्न भागमा समुद्री सतहको तापक्रममा हुने परिवर्तनसँग सम्बन्धित प्राकृतिक जलवायु घटना हो ।

सकारात्मक आईओडीका क्रममा पश्चिमी हिन्द महासागर तुलनात्मक रूपमा तातो हुन सक्छ । यसले नेपाल, भारतलगायत विभिन्न देशको मनसुन र वर्षामा प्रभाव पार्न सक्छ ।

शोधकर्ताहरूका अनुसार अल निनो र सकारात्मक आईओडी एकै समयमा हुनु पनि सन् २०२३–२४ को जलवायु परिस्थितिलाई थप प्रभावशाली बनाउने कारणमध्ये एक थियो ।

वर्षाले बदल्यो तस्वीर

दुवै अल निनो घटनाका बीच अफ्रिका र उत्तर अमेरिकामा पनि ठूलो भिन्नता देखिएको थियो । सन् २०१४–१६ मा अफ्रिकाबाट जमिनमा सञ्चित पानीको ठूलो मात्रा घटेको थियो । तर सन् २०२३–२४ मा यस्तो प्रभाव त्यति ठूलो थिएन ।

उत्तर अमेरिकाको अवस्था पनि फरक थियो । सन् २०१४–१६ मा यस क्षेत्रले समुद्री सतह बढाउन केही योगदान गरेको थियो भने सन् २०२३–२४ मा यसको योगदान उल्टो देखिएको थियो ।

दक्षिण अमेरिकामा वर्षाको कमी सन् २०२३–२४ का क्रममा विशेष रूपमा महत्वपूर्ण रह्यो । कम वर्षाका कारण जमिनमा सञ्चित पानीको मात्रा घट्यो र पानीको ठूलो हिस्सा छिटो समुद्रसम्म पुग्यो । यसले समुद्री सतह बढ्नमा योगदान पुर्‍यायो ।

सन् २०२६ को अल निनो किन महत्त्वपूर्ण छ ?

अध्ययन तयार पार्ने क्रममा उपलब्ध पूर्वानुमानअनुसार सन् २०२६ मा शक्तिशाली अल निनोको सम्भावना औँल्याइएको छ । अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले यस वर्षको अल निनो शताब्दीकै शक्तिशाली बन्नसक्ने पूर्वानुमान गरेको छ ।

यदि अल निनो निकै शक्तिशाली भयो भने विश्वको औसत तापक्रम र वर्षाको ढाँचामा ठूलो प्रभाव पर्न सक्छ । यसअघि नै उच्च रहेको विश्वव्यापी तापक्रमलाई अल निनोले थप बढाउन सक्छ ।

यसका कारण समुद्री सतह पनि तीव्र गतिमा बढ्ने सम्भावना रहन सक्छ । यद्यपि अल निनोको वास्तविक प्रभाव वर्षा, समुद्री तापक्रम र विभिन्न क्षेत्रका स्थानीय परिस्थितिमा निर्भर हुनेछ ।

वैज्ञानिकहरूका लागि यो अध्ययन महत्वपूर्ण हुनुको कारण एउटै हो– समान रूपमा शक्तिशाली अल निनो घटनाले पनि समुद्री सतहमा सधैँ समान प्रभाव पार्दैन । वर्षा, जमिनमा सञ्चित पानीको मात्रा, समुद्री तापक्रम र हिन्द महासागरसँग सम्बन्धित क्षेत्रीय जलवायु घटनाहरूले संयुक्त रूपमा विश्वका समुद्रमा हुने परिवर्तनको स्वरूप निर्धारण गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?