+

प्रशिक्षक पाइबस भन्छन् : अफगानिस्तानका लागि नाबीको योगदान अझ बाँकी छ

२०८३ असोज  २२ गते १३:२४ २०८३ असोज २२ गते १३:२४

२२ असोज, काठमाडौं । अफगानिस्तानका मुख्य प्रशिक्षक रिचर्ड पाइबसले अनुभवी अलराउन्डर मोहम्मद नाबीले छोटो फर्म्याटको क्रिकेटमा अझै देशका लागि योगदान गर्न सक्ने बताएका छन् ।

जिम्बाबेविरुद्धको आगामी टी–२०आई शृंखलाका लागि ४१ वर्षीय नाबी टोलीमा नपरेपछि उनको अन्तर्राष्ट्रिय करियर सकिन लागेको चर्चा भइरहेका बेला पाइबसले भने नाबीका लागि अझै अवसर रहेको बताएका हुन् ।

‘मलाई लाग्छ, नाबीले आफू उपलब्ध हुने फर्म्याटमा अझै योगदान गर्न सक्छन्’ पाइबसले बुधबार क्रिकबजसँग भने ।

नाबीलाई पाइबसले उत्कृष्ट क्रिकेटरका रूपमा वर्णन गर्दै उनको फिटनेस र व्यावसायिकताका लागि प्रशंसा गरे। अफगानिस्तानका लागि उनको योगदान उल्लेखनीय रहेको र टोलीमा उनको ठूलो सम्मान रहेको पाइबसको भनाइ छ ।

‘उनी अविश्वसनीय क्रिकेटर हुन् र आफूलाई निकै राम्रो अवस्थामा राख्छन् । उनी अनुशासित छन् । अफगानिस्तानका लागि उनको कीर्तिमान आफैं बोल्छ। विगतमा उनले गरेको कामका लागि मात्र होइन, व्यावसायिक रूपमा आफूलाई प्रस्तुत गर्ने तरिकाका कारण पनि उनी निकै सम्मानित छन्’ पाइबसले भने ।

पाइबसले हालै टोलीको प्रशिक्षणका क्रममा गरिएको जीपीएस ट्र्याकिङमा पनि नाबीले आफूलाई राम्रो अवस्थामा राखेको देखिएको बताए। उमेर बढ्दै जाँदा खेलाडीका लागि भोक र खेलप्रतिको चाहना महत्वपूर्ण हुने उल्लेख गर्दै उनले नाबीले अझै धेरै योगदान गर्न सक्ने दोहोर्‍याए ।

‘उमेर बढ्दै जाँदा मुख्य कुरा भोक र चाहना हो । म उनको आगामी करियरलाई लिएर उत्साहित छु र उनीसँग काम गर्न पनि उत्साहित छु’ उनले भने ।

बंगलादेशविरुद्ध टेस्टमा आफूलाई जाँच्ने अवसर

पाइबसले अफगानिस्तानले बंगलादेशविरुद्ध खेल्न लागेको एक टेस्टले टोलीलाई लामो फर्म्याटमा आफू कहाँ छ भन्ने बुझ्ने अवसर दिने बताएका छन्।

अफगानिस्तानले अक्टोबर ९ देखि अबुधाबीमा बंगलादेशसँग एक टेस्ट खेल्दैछ । बंगलादेश अस्ट्रेलियाको भ्रमणबाट फर्किएपछि अफगानिस्तानसँग खेल्न लागेको हो ।

‘अस्ट्रेलियामा राम्रो प्रदर्शन गरेर आएको बंगलादेशविरुद्ध खेल्नु टेस्ट क्रिकेटमा हामी कहाँ छौँ भनेर जाँच्ने राम्रो अवसर हो’ पाइबसले भने।

अफगानिस्तानले टेस्ट क्रिकेटको तयारीमा आफ्नो खेलमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ। घरेलु प्रथम श्रेणीको लामो फर्म्याटको प्रतियोगिताबाट आएका खेलाडीले आवश्यक क्रिकेट फिटनेस र मैदानमा लामो समय बिताउने अनुभव हासिल गरेको उनले बताए ।

तीव्र गतिका बलर तथा स्विङ बलिङको सामना गर्दा टोलीले आफ्नै खेल विकास, क्रिकेटको बुझाइ र इनिङ्स निर्माणमा ध्यान दिनुपर्ने पाइबसको भनाइ छ।

‘टेस्ट क्रिकेट सरल र दबाबको खेल हो। अहिले हामीसँग छोटो अवधिमा तीन टेस्ट खेल्ने अवसर छ। जति धेरै टेस्ट खेल्छौँ, हाम्रो विकास पनि त्यति नै छिटो हुनेछ’ उनले भने ।

अफगानिस्तान क्रिकेट मोहम्मद नाबी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय