केही वर्षअघि एक बिरामीको पिसाबमा संक्रमण देखिएपछि गरिएको परीक्षणमा इकोलाई जीवाणु फेला परेको थियो । उक्त जीवाणुको कल्चर तथा औषधि (एन्टिबायोटिक) संवेदनशीलता परीक्षणको नतिजा हेर्दा आश्चर्य लागेको थियो ।
परीक्षणको नतिजाले बजारमा प्रचलित तथा उपलब्ध अधिकांश एन्टिबायोटिक उक्त जीवाणुविरुद्ध प्रभावहीन अर्थात् प्रतिरोधी रहेको देखाएको थियो । तर, यो मेरो मात्र अवलोकन थिएन । नेपालमा गरिएका र प्रकाशित भएका धेरै अनुसन्धानका नतिजाले पनि यस्तै अवस्थाको संकेत गरेका छन् ।
नेपालमा ब्याक्टेरिया मात्र होइन, फङ्गस (ढुसी), भाइरस तथा परजीवीविरुद्ध प्रयोग भइरहेका कतिपय औषधिहरू पनि बिस्तारै प्रभावहीन हुँदै गएको देखाउने अनुसन्धान तथा प्रतिवेदनहरू सार्वजनिक भइरहेका छन् । नेपालमा प्रतिजैविक प्रतिरोधको समस्या गम्भीर देखिए पनि यसको मुख्य कारणप्रति हामी कति गम्भीर र जिम्मेवार छौँ भन्ने विषय महत्त्वपूर्ण छ ।
नोभेम्बर १९ देखि २४ सम्म सप्ताहव्यापी रूपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी ‘विश्व प्रतिजैविक प्रतिरोध सप्ताह’ अर्थात् ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) सप्ताह’ मनाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२१ मा ब्याक्टेरियाजन्य एएमआरका कारण अनुमानित ४७ लाख मानिसले ज्यान गुमाएका थिए ।
त्यस्तै, सोही वर्ष नेपालमा एएमआरकै प्रत्यक्ष कारणले अनुमानित ४ हजार ७०० जनाको मृत्यु भएको थियो भने १९ हजार ५ सयभन्दा बढीको मृत्यु एएमआरसँग सम्बन्धित रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसका प्रमुख कारणमध्ये एन्टिबायोटिकको अनावश्यक तथा अत्यधिक प्रयोगलाई मानिएको छ।
यसको एउटा कारण बिरामीले आफैँ औषधि किनेर खानु हो भने अर्को कारण औषधि विक्रेताले चिकित्सकको परामर्शबिना नै सम्भावित रोगको अनुमानका आधारमा बिरामीलाई एन्टिबायोटिक दिनु हो ।
उदाहरणका लागि, जाडो महिना सुरु भएसँगै रुघाखोकीका बिरामी समुदायस्तरमा व्यापक रूपमा देखिन थालेका छन् । यस्तो अवस्थामा औषधि पसलमा पुग्नेबित्तिकै कतिपयले आफैँ वा औषधि विक्रेताको सल्लाहमा एजिथ्रोमाइसिन नामक एन्टिबायोटिक सेवन गर्ने गरेको पाइन्छ ।
जबकि, हाल देखिने रुघाखोकीको मुख्य कारण मौसमी फ्लु, कोभिड वा कमन कोल्डजस्ता भाइरसजन्य संक्रमण हुन् । एन्टिबायोटिकले भाइरसविरुद्ध काम गर्दैन । यसबाट एन्टिबायोटिकको दुरुपयोग वा जथाभावी प्रयोग भइरहेको सहजै बुझ्न सकिन्छ ।
ब्याक्टेरिया, फङ्गस, भाइरस तथा परजीवीविरुद्ध प्रयोग भइरहेका औषधिहरूले प्रभावकारी रूपमा काम गर्न छाडेको अवस्थालाई सामान्यतया प्रतिजैविक प्रतिरोध (एएमआर) भनिन्छ । यस्ता प्रतिरोधी जीवाणुलाई कतिपय अवस्थामा ‘सुपरबग’ पनि भनिन्छ ।
सन् २०१० मा भारतबाट ‘सुपरबग’ बेलायत पुगेको समाचारले विश्वलाई तरंगित बनाएको थियो । विशेषगरी अमेरिका तथा युरोपका देशबाट भारतमा उपचारका लागि आउने बिरामीमार्फत ‘सुपरबग’ संक्रमण ती देशहरूमा पनि फैलिएको हुन सक्ने आशंका गरिएको थियो । ल्यान्सेट इन्फेक्सियस डिजिजेज जर्नलमा प्रकाशित अनुसन्धानले पनि भारतमा ‘सुपरबग’को समस्या रहेको देखाएको थियो ।
भारतबाट ‘सुपरबग’को संक्रमण युरोप तथा अमेरिकासम्म पुगेको समाचार र अनुसन्धान सार्वजनिक भइरहँदा छिमेकी देश भारतसँग खुला सिमाना रहेको नेपाल यसबाट अछुतो रहने सम्भावना अत्यन्त न्यून देखिन्छ । यद्यपि, नेपालमा यसको वास्तविक अवस्था कस्तो छ भन्नेबारे यकिन तथा आधिकारिक तथ्याङ्क भने खासै उपलब्ध देखिँदैन ।
एएमआरसम्बन्धी सचेतनामूलक कार्यक्रमहरूमा एन्टिबायोटिक आफैँखुसी तथा जथाभावी प्रयोग नगरौँ भन्ने सन्देश दिइँदै आएको छ । तर, यससँगै जोडिएको अर्को महत्त्वपूर्ण विषयप्रति भने खासै ध्यान गएको देखिँदैन । त्यो हो– संक्रमण पहिचानका लागि प्रयोगशाला परीक्षणको दायरा विस्तार गर्नु ।
टेकु अस्पतालमा विशेषगरी ज्वरोका बिरामीहरू आउने गर्छन् । अस्पतालमा आएका बिरामीको प्रयोगशाला परीक्षणमार्फत संक्रमण गराउने जीवाणु पत्ता लगाउने प्रयास गरिन्छ । तर, दुर्भाग्यवश औँलामा गन्न सकिने सीमित प्रकारका जीवाणुको मात्र नियमित परीक्षण हुने गरेको छ । यसका कारण अधिकांश बिरामीमा संक्रमण गराउने सूक्ष्मजीवको पहिचान हुन सकिरहेको छैन । कतिपय वर्षमा ज्वरो आए पनि रोगको निदान हुन नसकेका बिरामीको संख्या सबैभन्दा उच्च हुने गरेको तथ्यांक देखिन्छ ।
यसले गर्दा बिरामीको उपचार लक्षण र चिकित्सकीय अनुभवका आधारमा मात्र अघि बढ्ने गरेको छ । तर, संक्रामक रोगहरूको सुरुवाती लक्षण धेरै हदसम्म एकअर्कासँग मिल्दोजुल्दो हुन्छन् । त्यसैले उपचार सुरु भएदेखि बिरामी निको नहुँदासम्म विभिन्न प्रकारका एन्टिबायोटिक प्रयोग गर्नुपर्ने बाध्यता रहन्छ ।
बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज त होला, तर प्रयोगशाला परीक्षणको दायरा सीमित हुँदा संक्रमणको सही पहिचान हुन नसक्ने अवस्था निरन्तर रहिरहेको देखिन्छ । अर्को शब्दमा भन्नुपर्दा, एकभन्दा बढी प्रकारका एन्टिबायोटिक प्रयोग गर्नुपर्ने बाध्यता अहिले पनि विद्यमान छ । यसको एउटा प्रमुख कारण संक्रमण पहिचान गर्ने प्रयोगशाला परीक्षणको दायरा विस्तार गर्न नसक्नु वा यस विषयलाई पर्याप्त प्राथमिकता नदिनु हो भन्ने मेरो बुझाइ छ ।
त्यसैले एएमआरको समस्या सर्वसाधारण वा औषधि विक्रेताले जथाभावी एन्टिबायोटिक प्रयोग गर्नुमा मात्र सीमित छैन । स्वयं स्वास्थ्यकर्मीहरूले पनि संक्रमणको निश्चित पहिचान गर्न नसक्दा सीमित प्रयोगशाला परीक्षणको बाध्यताका कारण एकभन्दा बढी एन्टिबायोटिक प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । यस्तो बाध्यता कम गर्न संक्रमण पहिचानका लागि प्रयोगशाला परीक्षणको दायरा विस्तार गर्नु अत्यन्त आवश्यक देखिन्छ ।
प्रतिजैविक प्रतिरोधको समस्या नेपाल वा भारतको मात्र होइन, विश्वव्यापी समस्याका रूपमा तीव्र गतिमा फैलिरहेको छ । यही अवस्था निरन्तर रहने र यसविरुद्ध प्रतिकार्य गर्न अझै ढिलाइ गर्ने हो भने भविष्यमा सामान्य घाउ वा चोटबाट हुने संक्रमणकै कारण पनि मानिसले ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी वैज्ञानिकहरूले दिइरहेका छन् । किनभने संक्रमणविरुद्ध प्रभावकारी नयाँ पुस्ताका एन्टिबायोटिक विकास गर्न ठूलो लगानी र वर्षौँको समय लाग्ने गर्छ ।
संक्रमणको सही पहिचान गरी उपचार गर्न सकेमा अनावश्यक औषधिको प्रयोग स्वतः कम हुनेछ । यसले एएमआरको समस्या न्यूनीकरण गर्न ठूलो मद्दत पुर्याउनेछ।
यसर्थ, एन्टिबायोटिकको जथाभावी प्रयोग नगर्न सचेत गराउने अभियानमा मात्र सीमित नहोऔँ । संक्रमण पहिचानका लागि प्रयोगशाला परीक्षणको दायरा विस्तार गर्नुपर्ने आवश्यकताप्रति पनि ध्यान दिऔँ ।
यस विषयमा सम्बन्धित निकाय तथा सरोकारवालाहरूले गम्भीरतापूर्वक ध्यान दिने कि ?
प्रतिक्रिया 4