
नेपाल बार एसोसिएसनले मंगलबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेरर जबराविरुद्ध धर्ना कार्यक्रम गरेपछि आफ्नै प्राङ्गणमा विरोधसभा गर्यो । सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरा ‘बिचौलियाको नाइके’ भएको आरोप लगाए । यसैवारेमा बार अध्यक्ष श्रेष्ठसँग गरिएको कुराकानी :
तपाईँले प्रधानन्यायाधीशलाई विचौलियाको नेतृत्वकर्ता भनेर आरोप लगाउनुभयो । के आधारमा यसो भन्नुभएको हो ?
बजारमा केही बिचौलियाका नाम आएका थिए र उहाँसँग उनीहरुको साँठगाँठ छ भन्ने चर्चा चलेको थियो । २०७६ साल फागुनमै मैले उहाँलाई भेटेर यस किसिमको गतिविधि रोक्न आग्रह गरेको थिएँ । तपाईँले विचौलियालाई रोक्नुस्, न्यायाधीश नियुक्तिमा गडबड नगर्नुस् भनेकेा थिएँ । जति नै आग्रह गरेपनि उहाँले बिचौलियासँगको सम्बन्ध र उठबस छोड्नुभएको देखिएन ।
न्यायपालिकाको विसंगति रोक्न प्रतिवेदन पेश भयो । प्रतिवेदनले विभिन्न समस्या औंल्याउँदै नेतृत्वले नै सुधार गर्नुपर्ने सुझाव दियो । अनि साउन १४ गते प्रतिवेदन पेश गरेपछि उच्च अदालतमा गोलाप्रथा लागू गर्न निर्देशन दिनुभयो । सर्वोच्च अदालतमा नै भदौ १६ गतेदेखि गोलाप्रथा लागू गर्ने भन्नुभयो । तर त्यो लागू गर्नु भएन ।
गोलाप्रथा लागू नगरेका आधारमा मात्रै बिचौलियाको नेतृत्वकर्ता भन्न मिल्छ र ?
बेञ्च-बार समन्वय समितिमा असोज मसान्तदेखि लागू गर्छु भने पनि कार्यान्वयन हुन सकेन । तर एकाएक राष्ट्रिय न्यायिक प्रतिष्ठानमा आयोजित कार्यक्रममा देशभरका उच्च अदालतका मुख्य न्यायाधीशहरुलाई यो प्रतिवेदन कुनै पनि हालतमा लागू गर्न सकिँदैन । प्रतिवेदन तयार गर्दा मसँग परामर्श गरेका थिएनन्, म लागू गर्न सक्दिनँ । तिमीहरु आफ्नो हिसावले काम गर, परेको म छु भन्नुभएछ ।
यसरी दोहोरो कुरा गर्नु भनेको बिचौलियाको प्रभावमा पर्नु हो । एकातिर हामीले विसंगति देखाउने, अर्कोतिर गोलाप्रथामा गए त विचौलियाहरुको प्रभाव हट्छ भन्ने भयले उहाँले जे बोल्नुभयो, त्यसको तात्पर्य नै उहाँ विचौलियाको प्रभावबाट मुक्त हुन सक्नुभएन भन्ने हो ।
यो त अनुमान मात्रै भएन र ?
२०७६ सालमै मैले उहाँलाई तपाईँमाथि विचौलियासँग उठबस गरेको आरोप छ, अब सुधि्रनुहोस् है भनेको थिएँ । जवाफमा उहाँले जुन नाम आयो, उसँगको सम्बन्ध अहिलेको होइन, धेरै पुरानो हो । अहिले त अंशबण्डा भइसक्यो भनेर हास्नुभयो । मैले फेरि पनि विचार गर्नु है, भोलि तपाईलाई समस्या आउँछ भनिदिएको थिएँ ।
अंशबण्डा भनेपछि त उहाँकै भाइको नाम आउँछ होइन र ? किनकी अरुसँग त अंशवण्डा हुँदैन
त्यही नै हो ।
स्पष्ट रुपमा नाम किन नभनेको त ?
धेरैतिर आइरहेको छ । हिजो दिएको प्रतिवेदन अनुसार संयन्त्र गठन भए त नाम आइहाल्छ नि । संयन्त्रले काम गर्नासाथ त बिचौलियाको नामहरु सार्वजनिक पनि हुन थाल्छन ।
यसबारेमा त बारले आफैं पनि अध्ययन गरे हुन्छ नि, होइन र ?
न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदनमा संयन्त्र गठनको काम न्यायपालिकाभित्र पर्छ भनेर लेखिएको छ । उहाँहरुबाट भएन भने भोलिका दिनमा बारले पनि केही गृहकार्य गर्नसक्छ ।
यस्तो संगिन आरोप लगाएपछि भोलि उहाँले तोक्ने र उहाँ आफैं बस्नेे इजलासमा कसरी बहस गर्न जानुहुन्छ ?
हामीले स्पष्ट रुपमा नै उहाँलाई इजलासमा नबस्न चेतावनी दिइसकेका छौं । किनभने, उहाँ विवादित व्यक्ति भएकाले उहाँले तोकेको इजलासमा जाँदा पनि विचौलियाको प्रश्न र शंका कायम रहने भयो । हामीले कानूनी प्रतिरक्षा गर्ने सेवाग्राहीलाई पनि उहाँले तोकेको इजलासबाट न्याय पाइँदैन कि भन्ने शंका हुने भयो । त्यसैले उहाँलाई इजलासमा बस्न नदिन र उहाँको इजलासमा नजान हामीले कानून व्यवसायीहरुलाई आग्रह गरेका हौं ।
तपाईँहरुले यति भनिसकेपछि अरु न्यायाधीशहरुलाई पनि त उहाँले तोकेको इजलासमा बस्न कठिन हुने होला नि ?
त्यही भएर त उहाँले इजलास तोक्नु हुन्छ भने अरु न्यायाधीशहरु उहाँ सम्मिलित इजलासमा नबस्नुहोस् भनेर आग्रह गरेका हौं ।
उसो भए प्रधानन्यायाधीश बिचौलियाको प्रभावमा हुनुहुन्छ भन्ने बारको निष्कर्ष हो ?
यो हामीले पटकपटक छलफल गरेको विषय हो । हाम्रो छलफलले यही निष्कर्ष निकालेको हो । तर एजेण्डा नै बनाएर योयो विचौलिया हो भन्ने ढंगको छलफल र निष्कर्ष निकालिएको छैन । बिचौलियाको प्रभाव न्यायिक नेतृत्वमा परेको छ भन्ने त निष्कर्ष नै हो ।
प्रतिक्रिया 4