
१३ मंसिर, काठमाडौं । कमल परियारले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि गण्डकी प्रदेशले वाईवाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा गण्डकीले प्रदेश-२ लाई ५५ रनले पराजित गरेको हो ।
गण्डकीले दिएको १५७ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले २२.५ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र जोड्न सक्यो ।
प्रदेश २ का लागि तृत राज दासले सर्वाधिक ३१ रन रोहन विकले २३ रन बनाए ।
प्रदेश २ लाई अलआउट गर्न गण्डकीका कमल परियारले ५.५ ओभरमा २० रन खर्चेर सर्वाधिक ५ विकेट हात पारे । यस्तै सुवास भण्डारीले ३ तथा किरन पौडेलले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४३.४ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाएको थियो । गण्डकीका लागि ओपनर अर्जून कुमालले सर्वाधिक ४७ रन बनाए भने सन्देश सुनारले २६ रन जोडे ।
प्रदेश २ का विवेक यादवले ९ ओभरमा २ मेडन राख्दै २० रन मात्र खर्चेर सर्वाधिक ५ विकेट हात पारे । गुल्सन झाले ३ विकेट तथा अजय यादव र प्रदिप पासवानले १-१ विकेट लिए ।
प्रतिक्रिया 4